नेपाल पुनर्बीमा कम्पनीको मुनाफा ५१ करोड, ईपीएस कति ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क, कुल आम्दानी लगायत बीमा दावी समेतलाई सन्तुलित तरिकाले व्यवस्थापन गरी व्यवसाय गरेको देखिएको छ ।
समीक्षा अवधिमा कम्पनीले ५१ करोड ५७ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा ५९ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको थियो ।
शेयर बजारमा समेत अब्बल रहेको सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीले आर्थिक मन्दीकाबीच पनि सन्तोषजनक व्यवसाय गरेको छ । यस अवधिमा कम्पनीको खुद आर्जित बीमा शुल्क ८ प्रतिशतले घट्न पुगेको छ । अघिल्लो आर्थिक वर्षको यस अवधिमा पाँच अर्ब ६३ करोड रुपैयाँ कमाएकोमा यस आवमा कम्पनीले पाँच अर्ब ५४ करोड रुपैयाँ कमाएको छ । यस अवधिमा कम्पनीको कुल आम्दानी ६ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।
कम्पनीले बीमा दावी भुक्तानीलाई विशेष प्राथमिकता दिदै आएको छ । कम्पनीको खुद दावी भुक्तानी तीन अर्ब ६३ करोड रुपैयाँ रहेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा तीन अर्ब ६७ करोड रुपैयाँको दावी गरेको विवरणले देखाएको छ ।
१२ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूजी रहेको नेपाल पुनर्बीमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ०३ पैसा रहेको छ । त्यस्तै, कम्पनीको पीई रेसिओ १९२ रुपैयाँ रहेको छ ।