प्रचण्डकै ल्यापटपबाट बिआरआई सम्बन्धी सूचना चुहियो, अनि सत्ता ढल्यो…
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विदेशीको डिजाइनमा आफ्नो सरकार ढालिएको आरोप लगाएका छन् । आज बसेको पार्टीको बैठकमा पूर्व प्रधानमन्त्री प्रचण्डले बंगलादेशकी सेख हसिना र आफूलाई विदेशी शक्तिले सत्ताच्यूत गरेको आरोप लगाएका छन् ।
तर, बीमापोष्टलाई प्राप्त सूचनामा तत्कालिन प्रधानमन्त्री प्रचण्डले चीनसँग हुन लागेको बिआरआई सम्बन्धी सम्झौता बारेको सूचनाको सुरक्षा गर्न नसक्दा प्रचण्ड सत्ताच्यूत हुनु परेको हो ।
प्रधानमन्त्री प्रचण्ड आफैले आईटी सल्लाहकार भनेर नियुक्त गरिएका प्रकाश रायमाझी नाम गरेको व्यक्तिले प्रचण्डको ल्यापटपबाट सूचना विदेशीलाई चुहाएका थिए । बीमापोष्टलाई प्राप्त सूचनामा प्रकाश रायमाझीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको तत्कालिन प्रम प्रचण्को ल्यापटप प्रत्येक साता आईटी अपडेट गर्न भन्दै घर लैजाने गरेका थिए । हरेक शुक्रबार प्रचण्डको ल्यापटप प्रकाश रायमाझीले लैजाने गरेका थिए ।
रायमाझीले प्रचण्डको ल्यापटप लैजाने गरेको बिषयमा सचिवालयका कुनैपनि सदस्यलाई जानकारी थिएन । यतिसम्म पनि प्रमुख स्वकीय सचिव सन्तु दराईलाई समेत थिएन । प्रमुख स्वकीय सचिव सन्तुले उक्त सूचना प्रचण्ड र उनकी छोरी गंगा दाहाललाई दिए तर दुवै जनाले कुनै वास्ता गरेनन् । मन्त्रिपरिषदको कार्यालयमा कसैलाई पनि जानकारी नदिई ल्यापटप नियमित रुपमा चोरी गर्दै शुक्रबार लगेर आइतबार ल्याएर जस्ताको तस्तै राखिदिने कार्यमा रायमाझी संलग्न रहेको तथ्य प्रमाण पनि बीमापोष्टले प्राप्त गरेको छ । २०८१ बैशाख ३० गते आइतबार विहान मन्त्रिपरिषदको कार्यालयबाट ल्यापटप हराएको भन्दै व्यापक खोजी गरियो । सो क्रममा प्रम कार्यालयकै एक कर्मचारीले टेलिफोन गरेपछि रायमाझीले आफूले लगेको र केहीबेरमा ल्याईदिने बचन दिएपछि उक्त दिनको काण्ड टरेको थियो । प्रमकै ल्यापटप हराएपछि प्रम कार्यालयका कर्मचारीहरुले प्रहरीलाई खवर गर्ने तयारीका बीचमा रायमाझीले उक्त ल्यापटप आफूले गरेको भन्दै ल्याउने जानकारी दिएपछि सो घटना प्रहरीकोमा पुगेको थिएन ।
उनले त्यसपछि पनि ल्यापटप नियमित रुपमा लैजाने गरेका थिए । बीमापोष्टलाई प्राप्त सूचनामा एमालेसँगको गठबन्धन भएर सरकारको संरचना फेरिएपछि जेठेको दोस्रोे सातादेखि नेपाल र चीन बीचमा बिआरआई सम्झौता गर्ने छलफल तीव्र बनेको थियो । सो क्रममा १.५ प्रतिशत सफ्ट लोनमा नेपाललाई चीनले नेपालमा बिआरआई अन्तर्गतका परियोजनाहरु बनाउने सम्बन्धी सम्झौता पत्र तयार हुँदै थियो । स्रोतका अनुसार लगभग अन्तिम अवस्थामा पुगेको बिआरआई सम्बन्धी सम्झौता प्रक्रियाबारे विदेशी जासुसहरुले प्रम प्रचण्डको ल्यापटपबाट नियमित सूचना पाइरहेका थिए ।
जब अन्तिम सम्झौता तयारी हुँदै थियो । त्यही बीचमा शेर बहादुर देउवा पत्नी आरजु राणालाई पक्राउ गर्न लागेको भन्दै नेपाली कांग्रेसभित्र व्यापक हल्लाखल्ला मच्चियो । सोही हल्लालाई देखाएर देउवा पत्नी बालकोट पुगे र परिणाम नयाँ सरकार गठन भयो ।
आफ्नो ल्यापटपबाट सूचना चोरी भइरहेको जानकारी प्रचण्डकी छोरी गंगा दाहाललाई थियो । तर, उनले किन रोक्न सकिनन् वा अन्धविश्वासमा परिन् खुल्न बाँकी छ ।