बीमा कम्पनीहरुको लगानी साढे ७ खर्ब नजिक: मुद्वती निक्षेपमा केन्द्रित, घरजग्गामा लगानी शून्य (सूची सहित)

रिना खत्री
२७ श्रावण २०८१, आईतवार १९:०६

काठमाडौं । बीमा प्राधिकरणकोे जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कूल लगानी ७ खर्ब ४८ अर्ब ८० करोड रुपैयाँ रहेको छ। जीवन र निर्जीवन बीमा कम्पनीहरुले खडा गरेको जीवन बीमा कोष, बीमा कोष,साढे ७ अर्ब नजिक पुगेको हो ।

जगेडा कोष, महाविपत्ति कोष र पुँजि समेत गरी कूल लगानी यो रकम नेपालको कूल बजेटको करिब आधा हिस्सा हो । बीमा कम्पनीहरुको लगानीको मुख्य हिस्सा नेपालका बैंकहरुमा मुद्दति निक्षेपको रुपमा जम्मा हुने गरेको देखिएको छ । हालसम्म बैंककको मुद्धती निक्षेपमै बीमा कम्पनीहरुको साढे ५ खर्ब बढी रकम रहेको देखिएको छ ।

बीमा कम्पनीहरुले ७ खर्ब ४८ अर्ब ८० करोड रुपैयाँ कुल रकममध्ये ५ खर्ब ६४ अर्ब ८० करोड रुपैयाँ बैंक तथा वित्तिय संस्थामा जम्मा रहेको देखिएको छ। बीमा प्राधिकरणको तथ्यांक अनुसार जोखिम वहन गर्ने बीमा कम्पनीहरुले बैंकमा निक्षेपलाई नै मुख्य आधार बनाएको देखिन्छ । लामो समयदेखि बीमा कम्पनीहरुले उत्पादन मुलक क्षेत्र र दीर्घकालिन उत्पादनका क्षेत्रमा लगानी गर्नु भन्दा पनि बैंकमा मुद्दती निक्षेपमा राखेर ब्याज खाए भन्दै लगानीकर्ताहरुले आरोप लगाउदै आईरहेका छन् । बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकमा पनि सो बिषय सपष्टसँग झल्किएको छ ।

Source: Beema Pradikaran

प्राधिकरणले लगानी निर्देशिका जारी गरेको १० वर्ष भइसक्दा पनि बीमा कम्पनीहरुले लगानी निर्देशिका अनुसार आफ्नो लगानी योग्य रकमलाई विविधिकरण गर्न सकेका छैनन् । बीमा कम्पनीहरुले सुरक्षा र जोखिमलाई विश्लेषण गरेर अन्य क्षेत्रमा लगानी गर्दा जोखिम रहेकोले बैंकको मुद्दति निक्षेपमा धेरै रकम थन्किएको बीमा विज्ञहरुको बुझाई रहेको छ।

निर्देशका अनुसार बीमा कम्पनीहरूले नेपाल सरकारको बचतपत्र वा ऋणपत्र र बचतपत्रमा मा २० प्रतिशत, क वर्गको बैंक तथा नेपाल पूर्वाधार बैंक लिमिटेडको मुद्दती निक्षेपमा ३० प्रतिशत, ख’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १० प्रतिशत, ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा ५ प्रतिशत, घर जग्गा व्यवसायमा १० प्रतिशत, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा १० प्रतिशत, ‘क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्र र बचतपत्रमा २० प्रतिशत,सूचीकृत पब्लिक लिमिटेड कम्पनीको सुरक्षित डिबेन्चर र बचतपत्रमा २० प्रतिशत, कृषि, पर्यटन, जलस्रोत लगायतका पूर्वाधारमा १० प्रतिशत,म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ५ प्रतिशत, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा ५ प्रतिशत, अन्य संस्थापक शेयर, सूचीकृत नभएको पब्लिक कम्पनीको शेयर र अन्य लगानीमा पनि पाँच प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने प्रावधान रहेको छ।

निर्देशिकामा लगानीको लागि क्षेत्र तोकिएको भएपनि बीमा कम्पनीहरुले ठूलो रकम ‘क’ वर्गका वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेका छन् । वाणिज्य बैंकको मुद्दती निक्षेप बाहेक कुनै पनि क्षेत्रमा बीमा कम्पनीहरुले लगानी निर्देशिका अनुसार सीमा पुर्याएका छैनन् ।बीमा कम्पनीहरूले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा साढे ७ खर्बबढी लगानी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरूले आव २०८०र८१ को अन्त्यसम्ममा ७ अर्ब ४८ खर्ब रुपैयाँ लगानी गरेका छन् । प्राधिकरणका अनुसार आव २०७९/८० को तुलनामा २०८०/८१ बीमा कम्पनीहरुको लगानीको दायरा १६ दशमलव २६ प्रतिशतले बढेको छ । कम्पनीहरूले आव २०७८÷७९ मा ६ खर्ब २७ अर्ब रुपैयाँ लगानी गरेका थिए।

नेपाल बीमा प्राधिकरणका निर्देशक एवं प्रवक्ता सुशीलदेव सुवेदीले बीमा कम्पनीहरूले प्राधिकरणले जारी गरेको लगानी निर्देशिका अनुसार बिस्तारै काम गरिरहेको बताँउछन् ।

‘बीमा कम्पनीहरूले लगानी निर्देशिका बमोजिम मुद्वती निक्षेपबाट बाहिर ल्याएर लगानी गराउने हाम्रो उद्येश्य हो । तर, धेरैजसो कम्पनीहरूले मुद्दती निक्षेपमा नै लगानी गरिरहेको पाइन्छ,’ उनले भने, ‘कम्पनीहरूले भौतिक पूर्वाधार, विकास निर्माण, पर्यटन, कृषिलगायत क्षेत्रमा कम लगानी भएको देखिन्छ । त्यसतर्फ पनि आकर्षण गराउने तयारी प्राधिकरणको रहेको छ।

बीमा कम्पनीहरुले उक्त क्षेत्रमा पनि आफनो दायरा विस्तार गर्ने क्रमममा रहेको उनको भनाई छ । पछिल्लो समय बीमा कम्पनीहरूले एयरलाइन्स, कृषिलगायत क्षेत्रमा लगानी शुरू गरेका छन् । उचित प्रतिफल आउने कम्पनीहरुमा बिश्लेषण गरेर मात्रै लगानी गर्नु कम्पनीको लागि उचित रहेको सुवेदी बताँउछन् ।

जीवन बीमा कम्पनीहरूको लगानीको दायरा १७ प्रतिशते वृद्धि

जीवन बीमा कम्पनीहरूले आव २०७९/८० को अन्त्यसम्ममा विभिन्न क्षेत्रमा ५ खर्ब ६८ अर्ब रुपैयाँ लगानी गरेका थिए । ।प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरूले आव २०८०/८१ को अन्त्यसम्ममा ६ खर्ब ८२ अर्ब रुपैयाँ लगानी गरेका छन् । आव २०७९/८० को तुलनामा २०८०/८१ मा जीवन बीमा कम्पनीहरूको लगानी १७ प्रतिशतले बढेको हो ।

जीवन बीमा कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ७७ प्रतिशत लगानी गरेका छन् ।जीवन बीमा कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख, ग, र वर्गको बैंकहरुमा ५ खर्ब १२ अर्ब रुपैयाँ रकम बचत गरेका छन् ।

दोस्रोमा वाणिज्य बैंकहरुको अग्राधिकार शेयर र ऋणपत्र र बचतपत्रमा रहेको छ । जीवन बीमा कम्पनीहरुले यस क्षेत्रमा ५२ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेका छन् ।

अन्य क्षेत्रमा ४२ अर्ब रुपैयाँ, सूचीकत पब्लिक कम्पनी सुरक्षित डिबेन्चरमा १९ करोड रुपैयाँ, अन्य संस्थापक शेयरमा ११ अर्ब रुपैयाँ पूर्वधार बैंकमा ९ अर्ब २७ करोड रुपैयाँ लगानी गरेका छन् ।

Source: Beema Pradikaran

कृषि पर्यटन र जलस्रोत लगायत पूर्वधारमा ८ अर्ब ५८ करोड रुपैयाँ, नेपाल सरकारको बचतपत्रमा ३ अर्ब १० करोड रुपैयाँ, नागरिक लगानी कोषमा २ अर्ब ५० करोड रुपैयाँ, सूचीकृत नभएका कम्पनीमा १ अर्ब ८ करोड रुपैयाँ, इन्भेष्टमेन्टकम्पनीको शेयरमा ४६ करोड ४५ लाख रुपैयाँ लगानी रहेको छ। जीवन बीमा कम्पनीहरुको घरजग्गामा लगानी भने शून्य रहेको छ।

निर्जीवन बीमा कम्पनीको लगानी दायरा १३ प्रतिशतले वृद्धि

निर्जीवन बीमा कम्पनीहरूले आव २०७९/८० को अन्त्यसम्ममा विभिन्न क्षेत्रमा ५८ अर्ब ८५ करोड रुपैयाँ लगानी गरेका थियो। प्राधिकरणका निर्जीवन बीमा कम्पनीहरूले आव २०८०/८१ को असार अन्त्यसम्ममा विभिन्न क्षेत्रमा ६६ अर्ब ५२ करोड रुपैयाँ लगानी गरेका छन् ।गत आर्थिक बर्षको तुलनामा निर्जीवन बीमा कम्पनीको लगानी १३ प्रतिशतले बढेको हो।

निर्जीवन बीमा कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा कुल लगानीको ८० प्रतिशत लगानी गरेका छन्।

निर्जिवन बीमा कम्पनीहरुमध्ये क, ख र ग वर्गको बैंकको मुद्धती निक्षेपमा ५२ अर्ब ७१ करोड रुपैयाँ लगानी गरेका छन् ।

Source: Beema Pradikaran

दोस्रोमा निर्जिवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ३ अर्ब ८६ करोड रुपैयाँ, वाणिज्य बैंकहरुको अग्राधिकार शेयर र ऋणपत्रमा ३ अर्ब २४ करोड रुपैयाँ, अन्य लगानीमा २ अर्ब १८ करोड रुपैयाँ, अन्य संस्थापक शेयरमा १ अर्ब ४१ करोड रुपैयाँ, कृषि उत्पादन, शीत भण्डारण, शिक्षा, स्वास्थ्य क्षेत्रमा १ अर्ब रुपैयाँ, सूचीकृत कम्पनीको वण्ड र डिभेञ्चरमा ९९ करोड ५४ लाख रुपैयाँ लगानी गरेको पाइएको छ।

त्यस्तै, नागरिक लगानी कोषमा ७२ करोड रुपैयाँ, नेपाल सरकारको बचतपत्र र ऋणपत्रमा २१ करोड रुपैयाँ, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा १४ करोड रुपैयाँ, सूचीकृत नभएका पब्लिक कम्पनीको शेयरमा १ करोड रुपैयाँ लगानी गरेको प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ।
निर्जिवन बीमा कम्पनीहरुको पूर्वधार बैंक र घरजग्गामा लगानी शून्य नै रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*