तारागाउँको १५० रोपनी जग्गामा राज्य लुटिने अवस्था देखेः पर्यटनमन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेले तारागाउँ विकास समितिको जग्गामा राज्य लुटिने अवस्था सिर्जना भएको बताउँछन् । मन्त्री पाण्डेले बौद्ध टुसालस्थित तारागाउँ विकास समितिको १५० रोपनी जग्गा विवादमा राज्य ठगिन पुगेको तर्क राखेका हुन् ।
आइतबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै तारागाउँ जग्गामा सिर्जना भइरहेको विवादका कारण राज्य ठगिन पुगेको बताए । सो समितिको जग्गा विवादको विस्तृत अध्ययन गर्नुपर्ने मन्त्री पाण्डेको भनाइ रहेको छ । उनले भने, तारागाउँको जग्गामा देखिएको विवादले राज्य ठगिने अवस्था सिर्जना भएको छ । यसमो विस्तृत अध्ययन आवश्यक छ । जग्गा विवादमा निचोडमा पुग्नुपर्ने र गैरकानुनी ढंगले अरु कोही पोसिने र राज्य लुटिने अवस्थाबाट मुक्त गर्नुपर्ने मैले सरसर्ती हेर्दा त्यो अवस्था देख्छु ।’
तारागाउँको जग्गा विवादमो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेर केही निर्देशन आएको मन्त्री पाण्डेको तर्क थियो । ‘अख्तियारको निर्देशन र संसदीय समितिको निर्देशनसँग नमिल्दा समस्या भएको मैले सुनेको छु । जग्गा विवादमो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेर केही निर्देशन समेत आएको छ’ उनले भने ।
उनले आफ्नो मन्त्रालयलाई सो सम्बन्धी विवाद समाधान सहितको विकल्प खोज्न निर्देशन समेत दिए । उनले भने, तारागाउँ विकास समितिको के कति जग्गा कहाँ कहाँ छ ? के कति होटेल छन् ? जग्गाको प्रयोगको अवस्था के छ ? कति कर्मचारी छन् ? कति नाफामा छ ? समस्या के कस्ता रहेका छन् ? समाधानको लागि के कस्ता प्रयास गरिएका छन् भन्नेबारे विस्तृत अध्ययन गर्न र यस सम्बन्धमा स्पष्ट कार्ययोजना बनाएर समितिमा पेश गर्नु होला ।’