कारोबारले बनायो एतिहासिक रेकर्डः नेप्से ९४ अकंले बढ्दा परिसूचक २८६० बिन्दुमा, नयाँ उचाईमा पुग्ला ?
काठमाडौँ । शेयर बजार निरन्तर बढ्दो क्रममा रहेको छ । बजारमा आइरहेको उचाईले शेयर लगानीकर्ताहरुमा उत्साहको माहोल सिर्जना भइरहेको हो । पछिल्लो समय कारोबार रकम र नेप्से परिसूचकले निरन्तर उचाई कायम गरी रहेको छ । कारोबार हालसम्मकै उच्च बन्न पुगेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलि र अर्थमन्त्री विष्णु पौडेलको आगमनसँगै बजार सुधार तिर लम्कि रहेको छ । प्रधानमन्त्री तहबाटै शेयर बजार अर्थतन्त्रको ऐना रहेको र सरकार यसको सुधारका लागि प्रतिवद्द रहेको अभिब्यक्तिपछि बजारका लगानीकर्ता थप हौसिदै गएका हुन् ।
अर्थतन्त्र समेत निरन्तर सकारात्मक बन्दै गएको, नियामक समेत केही नीति खुकुलो बनाउँदै गरेको र शेयर बजारको शत्रु भनिने बैंकको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको बेला बजारले नयाँ उचाई कायम राख्ने लगानीकर्ताको विश्वास रहेको छ । शेयर बजारमा लगानीकर्ताको मनोबलले सबैभन्दा ठुलो भुमिका खेलेको हुन्छ । सबैबाट सकारात्मक सन्देश पाइरहेका शेयर लगानीकर्ताहरुको मनोबल समेत दरिलो बन्दै गएको छ ।
नवप्रवेशी लगानीकर्ताहरुले भने माफियाहरुको चलखेलबाट बच्नु पर्ने केहि जानकारहरु बताउँछन् । बजार बढेको बेला कमजोर सूचक भएका कम्पनीका माफियाले चलखेल गरी शेयर मूल्य बढाउने भएकाले साना लगानीकर्ता सचेत समेत हुनु पर्छ । पुरानो विगतलाई शेयर लगानीकर्ताले बिर्र्सिनु हुँदैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९४.५३ अकंले बढेर २८६०.९१ बिन्दुमा कायम भएको छ । आज ३३० कम्पनीको ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता शेयर किनबेच हुँदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आइतबार बैंकिङ समूहको ३.३५ प्रतिशत, विकास बैंक समूहको २.५८ प्रतिशत, फाइनान्स समहको ३.४८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९० प्रतिशत, हाइड्रोपावर समूहको ३.९३ प्रतिशत, इन्भेष्टमेन्ट समहको ४.१२ प्रतिशतसहित १३ वटै उपसूचक बढेका छन् ।
आज १८ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज २२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको मूल्य ओरालो लागेको छ । आज हिमालयन रिइन्स्योरेन्सको सर्वोधिक शेयर कारोबार भएको छ ।