वर्ष दिनमा निसान गाडी बेच्ने पायोनियर मोटो कर्पको चार अर्ब नाफा गायब, गाडि बिक्री हुन सकस
काठमाडौँ । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पको व्यापार निरन्तर घट्दो क्रममा रहेको छ । निसानका गाडि ग्राहकहरुको रोजाईमा नपर्दा व्यापार खुम्चिदै गएको हो ।
एक वर्षको अवधिमा कम्पनीको ४ अर्बको व्यापार गायब भएको छ । इक्रा नेपालका अनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा कम्पनीले ३ अर्ब ९४ करोड ४० लाख रुपैयाँ कम आम्दानी गरेको देखिएको हो ।
पायोनियर मोटो कर्पले सन् २०२३ मा १ अर्ब ७७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । जुन सन् २०२२ को तुलनामा ६९ प्रतिशतले कम हो । कम्पनीले सन् २०२२ मा १ ५ अर्ब ७१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
यता, सन् २०२१ मा कम्पनीले ३ अर्ब ८१ करोड ५० लाख रुपैयाँ, सन् २०२० मा २ अर्ब ५९ करोड ९० लाख रुपैयाँ र सन् २०१९ मा ३ अर्ब २३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । समग्रमा हेर्दा कम्पनीका गाडि नेपाल भित्रिएको बेला भन्दा अहिले सबैभन्दा कम व्यापार भएको देखिएको छ । गत आर्थिक वर्षको ११ महिनामा पनि कम्पनीले १ अर्ब ४४ करोड २० लाख रुपैयाँ मात्र व्यापार गरेको छ ।
पायोनियर मोटोकर्पले जापान, थाइल्याण्ड तथा भारतमा निर्मित निसानका उत्पादनहरु आयात गरी रहेको छ ।