एक वर्षमा जीवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति गरे व्यवसाय ? (सूचीसहित)
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूले सातैवटा प्रदेशमा गरी कुल १ करोड ३८ लाख ८१ हजार ४९२ बीमालेख बिक्री गरेका छन् । यसबाट १५ खर्ब ६५ अर्ब ५० करोड १२ लाख ५४ हजार रुपैयाँ आर्जन गरेका हुन् ।
गत वर्ष जीवन बीमकले बाग्मती प्रदेशमा सर्वाधिक ६९ अर्ब ६१ करोड २१ लाख ८२ हजार रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गरेका छन् । यस प्रदेशमा कम्पनीहरूले ९८ लाख ३४ हजार ९९२ बीमालेख बिक्री गरेका हुन् । देशकै राजधानी अवस्थित प्रदेश र व्यापारिक केन्द्र भएकाले पनि बागमती प्रदेशमा सर्वाधिक बीमा व्यवसाय गर्न सफल भएका छन् ।
यस्तै दोस्रोमा लुम्बिनी प्रदेशबाट २४ अर्ब ३९ करोड ६३ लाख ७७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यस प्रदेशमा कम्पनीहरूले ९ लाख ९६ हजार ३७५ बीमालेख बिक्री गरेका हुन् ।
तेस्रोमा जीवन बीमकले कोशी प्रदेशबाट १९ अर्ब ५ करोड ८५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । गत वर्ष कम्पनीहरूले उक्त प्रदेशमा ११ लाख ८३ हजार ५९४ बीमा पोलिसी बिक्री गरेका हुन् ।
त्यसैगरी गण्डकी प्रदेशबाट १५ अर्ब ८० करोड ९२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन भएको छ । यस प्रदेशमा जीवन बीमा कम्पनीहरूले गत वर्ष ५ लाख ३३ हजार ८५१ वटा बीमा पोलिसी बिक्री गरेका छन् ।
गत वर्ष मधेश प्रदेशमा जीवन बीमकले १४ अर्ब १ करोड २८ लाख ६९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार यस प्रदेशमा कम्पनीहरूले ५ लाख ९५ हजार २७३ बीमा पोलिसी बिक्री गरेका हुन् ।
त्यस्तै गत वर्ष सुदूरपश्चिम प्रदेशमा ९ अर्ब ३५ करोड ७८ लाख ९३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । जीवन बीमकले यस प्रदेशमा जम्मा ५ लाख २५ हजार ५८१ बीमा पोलिसी जारी गरेका हुन् ।
गत वर्ष सबैभन्दा कम बीमाशुल्क आर्जन कर्णाली प्रदेशमा भएको देखिन्छ । यस प्रदेशमा जीवन बीमा कम्पनीहरूले जम्मा २ लाख ११ हजार ८२६ वटा बीमा पोलिसी बिक्री गरेर ४ अर्ब २६ करोड २६ लाख ३९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । भौगोलिक विकटता, बीमा प्रतिको चेतनामा कमी तथा विकास पूर्वाधार समेत राम्रोसँग नपुगेकाले उक्त प्रदेशबाट न्यून बीमाशुल्क आर्जन भएको देखिन्छ ।