राज्यलाई सर्वाधिक कर तिर्ने सूर्य नेपालले एक वर्षमा गर्‍यो २९ अर्बको व्यापार

२५ श्रावण २०८१, शुक्रबार १२:४३

काठमाडौँ । बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिको चुरोट कारोबार ७.३१ प्रतिशत बढेको छ । सूर्य नेपालले सन् २०२३ मा २८ अर्ब ९९ करोड करोड रुपैयाँको चुरोट व्यापार गरेको हो । सन् २०२२ मा उद्योगले २७ अर्ब १ करोड ४० लाख रुपैयाँको चुरोट व्यापार गरेको थियो ।

सन् २०२१ मा २४ अर्ब ४९ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा २४ अर्ब ४७ करोड, सन् २०१९ मा २५ अर्ब १३ करोड ७० लाख र २०१८ मा २४ अर्ब २२ करोड रुपैयाँको व्यापार गरेको थियो । नेपालको बजारमा ‘राज’ गरेको सूर्य नेपालको चुरोट व्यापार बढ्दै गएको छ।

सूर्य नेपालले ५ अर्ब ७५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ। चुरोटको करमा वृद्धि भए पनि नयाँ ब्रान्ड ल्याएका कारण उद्योगको व्यापार बढेको हो। चुरोटका साथै सूर्य नेपालले सलाइ र अगरबत्ती पनि उत्पादन गर्दै आएको छ।

पछिल्लो समय सरकारले अन्तःशुल्क र स्वास्थ्य जोखिम करका कारण चुरोट उद्योग झनै करको बोझमा परेको छ। चुरोटमा लाग्ने कर तेब्बर बढेको छ। यस्तै खैनी, गुटखालगायत अवैधरूपमा नेपाल भित्रिएका चुरोटले नेपाली उद्योगलाई समस्यामा पार्दै आएको छ। सूर्य नेपालले सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ्स, शिखर फिल्टर किङ्स, शिखर आइस, नौलो, खुकरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी ब्रान्डका चुरोट उत्पादन गरिरहेको छ।

सूर्यको देशभरि १ सयभन्दा बढी थोक विक्रेता छन्। जनकपुर चुरोट कारखाना अवसानपछि चुरोट बजारमा सूर्य नेपालको एकछत्र राज छ। सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने उद्योगमा पर्दै आएको छ। सरकारले उद्योगलाई वर्षेनि सम्मान गर्दै आएको छ। सन् १९८६ मा स्थापना भएको सूर्य नेपालमा आइटिसी इन्डिया लिमिटेडको ५९ प्रतिशत सेयर छ। ३९ प्रतिशत नेपाली व्यक्तिगत लगानीकर्ताको स्वामित्व छ। यस्तै २ प्रतिशत ब्रिटिस अमेरिका टोबाको लिमिटेडको स्वामित्व छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*