१४ माइक्रोफाइनान्सको वित्तीय रिपोर्टः नौ कम्पनीको मुनाफा वृद्धि हुँदा पाँचको घट्यो, कुनको कति ?
काठमाडौँ । हालसम्म नेप्सेमा सूचीकृत ४८ माइक्रोफाइनान्स मध्ये एक दर्जन कम्पनीले गत आर्थिक वर्ष २०८०।०८१ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार अधिकांश कम्पनीको नाफामा सुधार देखिएको हो ।
लघुवित्तको वित्तीय अवस्थालाई बेला–बेला सडक आन्दोलनले धक्का दिइरहेको छ । केहि अराजक समूहले लघुवित्त संस्था खारेजदेखि ऋण मिनाह गर्नुपर्ने भन्दै चलाएको आन्दोलनले लघुवित्त संस्थाहरुको खराब कर्जा वृद्धि भइरहेको देखिन्छ । लघुवित्त प्रति आम सर्वसाधारण फैलिएको नकारात्मक कुराले कम्पनीको वित्तीय अवस्था पछिल्लो समय खस्किदै गएको हो ।
विभिन्न बाधा अवरोधकाबीच माइक्रोफाइनान्सको नाफा भने सन्तोषजनक रहेको छ । आर्थिक मन्दि, सडक आन्दोलनलगायतका अवरोधकाबीच कम्पनीहरुको नाफामा आकर्षक वृद्धि भइरहेको छ । यसअवधिमा नौ कम्पनीको मुनाफा वृद्धि भएको छ भने पाँचको घटेको छ ।
हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका १४ लघुवित्त मध्ये सबैभन्दा बढी नाफा नेशनल लघुवित्त वित्तीय संस्थाको रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको नाफा ५७.८९ प्रतिशतले बढेर ३४ करोड ९ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा २१ करोड ५९ लाख ३१ हजार रुपैयाँ रहेको छ ।
यसअवधिमा सर्वोधिक नाफा बढाउने कम्पनीमा गुराँस लघुवित्त रहेको छ । कम्पनीको नाफा १४४९ प्रतिशतले बढेर २ करोड ५९ लाख ६३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा १६ लाख ७६ हजार रुपैयाँ रहेको थियो ।
गत वर्ष असारसम्ममा मेरो माइक्रोफाइनान्सको नाफा २६२ प्रतिशतले बढेर २१ करोड ९५ लाख रुपैयाँ, फस्र्ट माइक्रोफाइनान्सको १२ प्रतिशतले घटेर १७ करोड ४२ लाख रुपैयाँ, आरएसडिसि लघुवित्तको ३६ प्रतिशतले बढेर १४ करोड ६६ लाख रुपैयाँ, एनआइसी एशिया लघुवित्तको ३२ प्रतिशतले घटेर १२ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष नाफा ऋणात्मक रहेको लक्ष्मी लघुवित्तले लोभलाग्दो ग्रोथ गरेको छ । अघिल्लो वर्ष कम्पनी ६ करोड ५ लाख ८९ हजार रुपैयाँ नाफा ऋणात्मक रहेकोमा गत वर्ष असार मसान्तसम्ममा ५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको हो ।
साथै, युनिक लघुवित्तको २२ प्रतिशतले बढेर ४ करोड ७९ लाख रुपैयाँ, मिथिला लघुवित्तको ६०.८५ प्रतिशतले बढेर ४ करोड ७५ लाख रुपैयाँ, सपोर्ट लघुवित्तको ७५ प्रतिशतले बढेर २ करोड ३८ लाख रुपैयाँ, आत्मानिर्भर लघुवित्तको ७१ प्रतिशतले घटेर १ करोड ३९ लाख रुपैयाँ, हिमालयन लघुवित्तको २४ प्रतिशतले घटेर ७५ लाख ५० हजार रुपैयाँ र समाज लघुवित्तको ३२ प्रतिशतले घटेर ५१ लाख ३० हजार नाफा रहेको छ ।