पुँजीबजारमा उथलपुथलः नियामक मन्द निद्रामा, सांसदको सुझावमा किन शेयर मूल्य प्रभावित ?
काठमाडौँ । पछिल्लो केहि दिन यता पुँजी बजारमा उथलपुथल भइरहेको छ । अर्थमन्त्री विष्णु पौडेलको आगमनपछि बजारमा आएको रफ्त्तारले शेयर बजारका लगानीकर्ता मख्ख छन् । परिसूचक र कारोबार रकमले समेत निरन्तर उचाई कायम गर्दै आइरहेको छ । यसै साता कारोबार रकमले नयाँ रेकर्ड समेत बनाएको । यो उत्साह बाहिरबाट हेर्दा असाध्यै राम्रो, ऐतिहासिक र नेपाली पुँजि बजारमा आएको एतिहासिक परिवर्तन हो ।
बजारिया हल्लाले पछिल्लो केहि दिन यता शेयर बजारलाई धक्का दिइरहेको छ । अप्रत्याशित उतारचढावका कारण शेयरको दोस्रो बजारमा लगानीकर्ता स्थिर हुन सकेका छैनन् । नेपालमा शेयरबजारको प्रकृति हेर्दा बजार कति बेला के हुन्छ कुनै भर हुँदैन । स–साना कुराले नेपाली शेयर बजारलाई प्रभावित गर्ने गरेको छ । शेयरबजारलाई वैज्ञानिक रूपमा बुझ्नेहरू भन्दा नबुझ्नेहरूको बाहुल्य बढी देखिन्छ । कुनै कम्पनीको वासलात, नाफानोक्सान, प्रतिशेयर आम्दानी, वितरणयोग्य नाफा र कम्पनीको भावि योजना प्राविधिक र वैज्ञानिक पक्षको अध्ययन गरेर लगानी गर्नेहरू बढी घाटामा गएका छन् । मार्केटमा कम्पनीको नेटवर्थ हेरेर लगानी गर्ने हो तर नेपाली शेयर बजार जो कम्पनीको वित्तीय अवस्था नाजुक छ त्यहि कम्पनीले सकारात्मक सर्किट हानेको देखिन्छ ।
नेपालको शेयरबजार अवैज्ञानिक रूपमा मूल्यमा उथलपुथल भइरहेको छ । यस्तो प्रकृतिको घटबढले लगानीकर्ताको अर्बौं रुपैयाँ शेयरमा डुब्ने सम्भावना उतिकै प्रबल हुन्छ । वित्तीय सूचक नै धरापमा रहेका कम्पनीका भरिएको हावा एकदिन झुट्ने निश्चित नै छ ।
सांसदले सुझाव दिदा किन आउनुपर्ने गिरावट ?
नेपालको शेयरबजारमा हल्लैहल्लाको भरमा मूल्य बढ्ने र घट्ने गरेको छ । पुँजी बजारमा देखिएको अस्वभाविक वृद्धिलाई लिएर पछिल्लो समय सांसदहरुले आवाज उठाउँदै आइरहेका छन् । स–साना लगानीकर्ताको लगानी जोखिममा नपरोस् भनेर सांसदहरुले दिएको सुझाव शेयर बजारमा लागि विष सावित भइरहेको छ ।
पूर्वअर्थमन्त्री प्रकाशसरण महत र स्वतन्त्र सांसद अमरेस सिहंले संसदमा दिएको अभिब्यक्तिले यहि साताको मंगलबार शेयर बजारमा पहिरो गयो । सांसदले बोलेको कै भरमा शेयर बजारमा भारी गिरावट आउँदा शेयर बजारको लगानी कति जोखिम हुन्छ भन्ने कुरा प्रष्ट हुन्छ । तेहि माथि सांसदहरुले शेयर बजारमा चलखेल हुनु हुँदैन, सन्तुलित रुपमा चल्नु पर्छ, बलिया कम्पनीको मूल्य बढ्नु पर्छ, साना लगानीकर्तालाई माफियाले चलाउँनु हुँदैन भन्ने सुझाव दिदा नीति नै प्रभावित भएको जस्तो उतार–चडाब आउनु पर्ने केहि थिएन् ।
सांसदहरुले सुझाव दिँदा बलिया कम्पनी रोज्न तिर लगानीकर्ता अग्रसर हुनुपर्ने थियो । जसको वित्तीय अवस्था राम्रो, लाभांश क्षमता बलियो र भावि योजना उत्कृष्ट रहेको कम्पनी लगानीकर्ताले छनोट गर्नु पर्छ । अहिलेको पुँजी बजारको वृद्धिलाई हेरेर विगत झुल्नु हुँदैन । कुनै समय बजार ३२ सय बिन्दुमा पुगेको थियो । सो बेला ठुला लगानीकर्ता कसरी एक्जिट भएका थिए त्यो कुरा नवप्रवेशी लगानीकर्ताले बुझ्नु पर्छ । नाफा हुन्छ भन्दैमा अरुको लह–लहैमा लागेर लगानी गर्दा आफ्नो लगानी बालुवा पानी जस्तै हुने पक्की नै हो ।
जुन समयमा बजार ३२ सय बिन्दुमा पुगेको थियो त्यो बेला २८ सय २९ सय परिसूचक हुँदा शेयर खरिद गर्ने लगानीकर्ता अझै रिकभर हुन सकेका छैनन् । त्यो बेला केहि ब्यक्तिले बजारलाई अझै बढ्छ किन्नौ भन्दै साना लगानीकर्ता डुबाएर आफु एक्जिट भएका थिए । त्यो अवस्थालाई ध्यानमा राखेर शेयर लगानीकर्ताले लगानी गर्दा निकै सुरक्षा अपनाउनु पर्छ । उतिबेला ३२०० को बिन्दुमा पुगेका बेला फसेका लगानीकर्ताहरु देशमा टिक्न नसकेर धेरै मानिसहरु विदेश पुगेका छन् । यस पटक पनि त्यस्तो अवस्था आउन नदिन अबका हरेक दिनको खरिदमा विशेष ध्यान दिनुपर्नेछ ।
अहिले शेयर बजारमा नकारात्मक वित्तीय अवस्था भएका कम्पनीहरुको शेयर मूल्यमा आइरहेको उचाईमा सांसदहरुले उठाएको प्रश्नलाई लगानीकर्ताले स्वागत गर्ने सक्नुपर्छ । नाफा, इपिएस, नेटवर्थलगायतका वित्तीय सूचक नै ऋणात्मक रहेका कम्पनीहरुको शेयर मूल्य बेलुन झै फुकेका छन् । जसमा माफियाले खेलेको हुन सक्छ ।
नियामक मन्द निद्रामा
शेयर बजारको अभिभावक नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हुन् । तर, अहिले दुबै निकाय मन्द निद्रामा छन् । नेपाल धितोपत्र बोर्ड ९ महिनादेखि अध्यक्ष बिहिन अवस्थामा रहेको छ । राजनीतिक लुछातानीमा परेको बोर्डको अध्यक्ष पदले गर्दा बजारले अभिभावक पाउन सकेको छैन ।
नेपालको शेयरबजारलाई व्यवस्थित र भरपर्दो बनाउन विभिन्न नियम कानून बनेको छ । अनुगमनकारी निकायको रूपमा धितोपत्र बोर्डसमेत रहेको छ । तर, पनि कानुनको एकातर्फ उचित कार्यान्वयनको अभाव छ भने अर्कोतर्फ धितोपत्र बोर्डको अनुगमन पर्याप्त देखिँदैन । वास्तवमा बजारमा अहिले मनपरी छ । केहि माफियाहरुको समूहले कम्पनीको शेयर मूल्य यति पुग्छ भनेर ठोकुवा गरी रहेका छन् । अझ कारोबार समयमा नै अनलाइन क्लब हाउस लगायत समाजिक सञ्जालमा केहि ब्यक्तिले यो कम्पनीको शेयर मूल्य यति पुग्छ त्यो कम्पनी यति पुग्छ भनेर भनि रहेको हुन्छन् । यसरी मनपरी बोल्नेको मुखको पट्टी लगाउनुको साटो नियामक निकाय नेपाल धितोपत्र बोर्डको हात नै डोरीले बाधिएको छ ।
आज मात्र संसदिय समितिमा केहि सांसदहरुले शेयर बजारमा बारे छलफल गरी रहेका थिए । जुन बेला शेयर कारोबार चलि रहेको थियो । कारोबार समयमा शेयर बजार बारे तथानाम बोलि रहेका सांसदहरुलाई बोर्डले ध्यानाकर्षण जनाउन सक्नु पर्छ । जसमा बोर्ड चुक्दै आइरहेको छ ।
यता, नेप्से त कारोबार समयमा नै मध्य राति जसरी निधाइ रहेको हुन्छ । शेयर किनबेच गर्ने नपाएको र ब्रोकरमा समस्या देखिएको भन्दै लगानीकर्ताका उजुरीका चाङ गइसकेपनि नेप्से कुनै कदम चाल्दैन । लगानीकर्तालाई शेयर किन्न बेच्नबाट बन्चीत गराउने ब्रोकरलाई कारबाही गर्नुको साटो सहि तरिकाले काम गर्ने निर्देशन दिन्छ । कारोबार गर्नेबाट बन्चित लगानीकर्ताको हितमा नेप्सेले आफ्नो कदम अगाडि बढाउन सकेको छैन ।
पूँजी विनाको व्यवसायको कल्पना अधुरो
शेयर बजार अर्थतन्त्रको ऐना हो । यो शब्द बेला बेला अर्थमन्त्री, प्रधानमन्त्री तथा नियामक निकायले भन्दै आइरहेका छन् । यसमा दुई मत पनि छैन । शेयर बजारमा सुधार आउँदा राज्यलाई समेत अर्बौ राजस्व संकलन हुन्छ । बजारले सकारात्मक यात्रा समेत तय गर्नु पर्छ । लगानीकर्ताले लगानी गरेपछि फाइदा आउनु पर्छ । तर, माफियाका चलखेलले नवप्रवेशी लगानीकर्ताको लगानी डुब्नु हुँदैन । अहिलेको अवस्था त्यस्तै भइरहेको छ । अहिले वित्तीय अवस्था नाजुक रहेका कम्पनीको शेयर एकाएक उछाल आइरहेको छ । एक महिना अघि २।३ सयमा घुमि रहेका केहि कम्पनीको शेयरमा आएको छलाङ स्वभाविक मान्न सकिदैन । त्यहि माथि नाफा, नेटवर्थ, इपिएस लगायतका वित्तीय सूचक नै ऋणात्मक रहेको कम्पनीको ।
हाल नेपालको शेयरबजार केही सीमित व्यक्तिले चलाएको जस्तो देखिन्छ । अवैध चलखेल अर्थात् कर्नरिङ, इन्साइडर ट्रेडिङ आदिको कारण नै शेयरबजार स्थिर हुन नसकी उथलपुथल भइरहेको देखिन्छ । शेयरबजार अर्थतन्त्र चलायमान बनाउने एक मेरूदण्ड पनि भएको हुँदा यसतर्फ सम्बद्ध निकायको बेलैमा ध्यान जानु जरुरी देखिन्छ ।
देशको अर्थ व्यवस्थामा पूँजीबजार वा शेयरबजारको भूमिकालाई हेर्दा औद्योगिक र आर्थिक विकास हुने, रोजगारी सृजना गर्ने, बजारमा तरलता र पूँजीको उपलब्धतामा सघाउने, सर्वसाधारण र कम्पनीहरूलाई लगानीप्रति आकर्षित गर्ने, पूँजी पलायन रोकिने, सरकारको वित्तीय नीतिलाई सहयोग हुने, लगानीको गुणस्तरमा वृद्धि हुने, दीर्घकालीन लगानी प्रवर्द्धन हुने हुँदा यो अर्थतन्त्रको मेरूदण्ड हो । पूँजी संकलन र लगानीको मुख्य स्रोत नै शेयरबजार भएको हुँदा यसलाई निरुत्साहित गर्नु हुँदैन । माफियाको चलखेललाई रोक्न नियामक सर्तक हुनुपर्छ ।
नवप्रवेशी लगानीकर्ताहरूले बजार बढेको देखेर हौसिएर थप लगानी गर्नुभन्दा पनि आफूले गरेको लगानीको सुनिश्चिततातर्फ ध्यान दिनुपर्दछ। किनकी शेयरमा कमाउने भन्दा गुमाउनेको संख्या जहिले पनि अधिक हुन्छ। बढी नाफा कमाउने आशामा शेयरमा लगानी गर्नुभन्दा पनि यसको विविधिकरणमा ध्यान दिनु उपयुक्त हुन्छ। शेयर बजारमा आधारभुत अवस्था राम्रा भएका र लाभांश दिने कम्पनीमा मात्र लगानी गरौं, लहै लहैमा नलागौं, नत्र पछुताउनु बाहेकको अन्य विकल्प हुने छैन ।