जहाज दुर्घटनाका दोषीलाई कारवाही गर्न संसदीय समितिको निर्देशन
काठमाडौं । संसदीय समितिले नेपालको हवाई दुर्घटनाको स्वतन्त्र छानबीन गरी दोषीलाई कारवाही गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले १५ दिनभित्र विज्ञहरुबाट छानबीन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको लागि सिफारिस गर्न निर्देशन दिएको हो ।
संसदीय समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, राज्यमन्त्री अरुण कुमार चौधरी, मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायतसँग छलफल गरेको थियो । समितिले नेपालको हवाई उडान सुरक्षासम्बन्धी छुट्टै नीति बनाउनुपर्ने ठहर गरेको छ । उक्त नीति तर्जुमा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।
बैठकले हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित नेपाल सरकार र मन्त्रालयद्वारा गठित छानबीन समिति एवं कार्यदलमार्फत पेश भएका अध्ययन, प्रतिवेदन के–कुन अवस्थामा रहेका छन् सोको जानकारीसहितको विवरण समितिलाई यथाशीघ्र उपलब्ध गराउन सरकारलाई सचेत गराएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र संघीय संसदमा पेश गर्न, गराउन पनि सरकारलाई निर्देशन दिएको छ ।
समितिले पछिल्लो समयमा निरन्तर घटिरहेका प्रत्येक हवाई दुर्घटना छानबीन गर्न समिति बन्ने गरे तापनि हवाई सुरक्षामा सुधार आउनुको सट्टा झनै कमजोर बन्दै गएको ठहर गरेको छ ।