एयर डाइनेस्टी हेलिकप्टरको बीमा सलिकोमा, २१ करोडभन्दा बढी बीमा दावीका लागि कम्पनीले अघि बढायो प्रक्रिया
काठमाडौं । आज दिउँसो काठमाडौंको त्रिभुवन विमानस्थलबाट रसुवा जाँदै गरेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित पाँच जनाको निधन भएको छ ।
आज भएको सो हेलिकप्टर दुर्घटनाको बीमा दावी सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) मा परेको छ । सलिकोमा हेलिकप्टरको १८ करोड रुपैयाँ र यात्रुको नियमन अनुसारगरी कुल २१ करोडबढीको बीमा गरिएको पत्ता लागेको छ ।
सलिको इन्स्योरेन्स कम्पनीले दुर्घटना लगत्तै बीमा दावी प्रक्रिया सुरु गरेको छ । कम्पनीका अनुसार बीमा दावी छरितो बनाउन र कम्पनीको तर्फबाट दावी आउनु अघि नै फाइल खोजेर नेपाली पुनर्बीमा कम्पनी र विदेशी पुनर्बीमा कम्पनीहरुलाई जानकारी समेत गरिसकेको बताएको छ ।
कम्पनीका अनुसार विदेशी पुनर्बीमा कम्पनीका सर्भेयरहरु समेत चेकजाँचको लागि नेपालको लागि आउँन लागेका छन् । उनीहरुलाई हामीले घटना लगतै जानकारी दिसकेको कम्पनीले बताएको छ ।
सलिकोमा इन्स्योरेन्समा परेको दावीमा कम्पनीले ३० देखि ५० लाख रुपैयाँसँम्म व्यहोर्नुपर्न प्रारम्भिक अनुमान गरिएको छ । कम्पनीका अनुसार नेपाली पुनर्बीमा र विदेशी पुनर्बीमा कम्पनीले बाँकी दावी व्यहोर्नुपर्ने भएको छ ।