संघर्षले बीमा व्यवसायमा जमेकी अभिकर्ता जानकी जोशीको सफलताको कथा

राजन कठायत
२३ श्रावण २०८१, बुधबार १६:२४

भनिन्छ, मानिसको जिन्दगीको यात्राको राजमार्ग कहिल्यै सरल हुँदैन । सहज पनि हुँदैन र अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) की बीमा अभिकर्ताको रुपमा काम गरिरहेकी एजेन्सी म्यानेजर जानकी जोशी (कापडी) ले सरल राजमार्गमा आफ्ना पाइलाहरू अगाडी बढाइरहेकी छिन् ।

सायद अब उनलाई फेरि ती अफ्ठ्यारा घुम्तीहरूमा ठोकिन पर्नेछैन । ती अप्ठ्यारा घुम्तीहरू पार गर्न उनलाई एलआइसी नेपालले ठूलो सहयोग गरेको छ । सानै उमेरदेखि नै बीमाप्रति सकारात्मक सोच बनाएकी जोेशी २०६४ सालदेखि निरन्तर रुपले बीमा व्यवसायमा तल्लिन रहेकी छिन् ।

प्रत्येक मानिसले सफलता प्राप्त गर्न निरन्तर संघर्ष गर्नुपर्छ भन्ने ज्वलन्त उदाहरण बनेकी छिन् कैलाली धनगढीकी जानकी जोशी (कापडी) । उनी कम्पनीको धनगढी शाखा कार्यालयमा एजेन्सी म्यानेजरको रूपमा आवद्ध रहेकी छिन् । सुदूरपश्चिमको डोटी जिल्लामा जन्मिएकी जोशीले सोही जिल्लाको डोटी बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेकी छिन् ।

विगत १७ वर्षदेखि निरन्तर बीमा व्यवसायमा सक्रिय रहेकी जोशी आफूलाई उदाहरणीय र व्यवसायिक बीमा अभिकर्ताको रूपमा आफ्नो अलग्गै परिचय बनाउन सफल भएकी छिन् ।

सुदूरपश्चिमको विभिन्न क्षेत्रमा रहेका विकट स्थानमा पुगेर बीमा पोलिसी बिक्री गर्दै आएको अनुभव सुनाउँछिन् जानकी । नेपालमा जन्मिए पनि बालापनको अधिकांश समय भारतमा बिताएकी जानकीले एलआइसीको बारेमा थुप्रै ज्ञान बटुलिसकेकी थिइन् । तत्पश्चात् उनी नेपालमा आएर आफू अभिकर्ता नभएको बखतमा आफ्नो श्रीमान र छोराहरूको अन्य अभिकर्ता मार्फत बीमा गराएकी थिइन् ।

बीमा क्षेत्रमा आवद्ध अधिकांश अभिकर्ताहरूले बीमालाई पार्टटाइम वा खेर गइरहेको समयको सदुपयोग गर्ने पेशाका रूपमा लिएका छन् । यसको ठीक विपरीत जानकी जोशीले बीमालाई प्रोफेशनल पेशा बनाउन होस्टेल सञ्चालिकाको पद त्यागेको अनुभव सुनाउछिन् ।

जोशी करीब १७ वर्षदेखि निरन्तर बीमा पेशामा आवद्ध भएर गाँउसमाजका बालबालिका तथा नागरिकको बीमा गराई जीवन रक्षावरण गर्न सफल भएकी साहसी महिला तथा बीमा व्यवसायी हुन् । ‘बीमाबारे अनविज्ञ रहेको सुदूरपश्चिमको समाजलाई घर–घरमा गएर बीमा जागरण गराउँन सहज थिएन तर बीमा क्षेत्रमा नै आफ्नो भविष्य देखेको कारण मैले कहिल्यै पनि हार मानिनँ । निरन्तरको प्रयास र मिहिनेत पश्चात् आज मैले आफूलाई सफल अभिकर्ताको रूपमा स्थापित गरेकी छु ।’ उनले भनिन् ।

शुरूमा डोटी जिल्लाको सिताराम माविको होस्टेल सम्हाल्दै आएकी उनी बीमा अभिकर्ता व्यवसायमा आवद्ध भएपछि सफलताको कथामा रूपान्तरण मात्रै भएनन्, अझै दह्रो आत्मविश्वास, मनग्य आम्दानी र सम्मान समेत प्राप्त गर्न सफल भएकी छिन् । परिवारबाट पूर्ण साथ सहयोग पाएकी जोशीले आफ्नो छोराहरुलाई बीमाको आम्दानीबाटै पाइलट र डाक्टर बनाउन सफल भएकी छिन् ।

सन २०१० देखि लगातार चेयरमेन क्लब बन्न सफल भएकी जानकी सन २०१३ देखि लगातार अभिकर्ताको ब्यावसयिक अन्तर्राष्ट्रिय संगठन एमडीआरटी बन्दै आएकी छिन् । विभिन्न विधामा विभुषित हुँदै सन् २०२१ मा सीओटी, गोल्ड मेडलिष्टका साथै बीमा सम्राटको उपाधी समेत हासिल गरेसकेकी छिन् ।

‘म बीमा गराउन बजार जाँदा नागरिकहरुले बीमा गर्नुभन्दा बैंकमा बचत गर्नु उचित हुने तर्क दिन्छन् । उहाँहरुलाई जीवन रक्षावरण हेतु बीमाको विकल्प नभएको कुरा राम्रोसँग बुझाएपछि मात्रै बीमा गर्न तयार हुनुहुन्छ । बैंकमा बचतमात्रै हुन्छ, तर बीमामा बचतका साथसाथै जीवन रक्षावरण पनि हुने कुरा खुलस्त पारेपछि मात्रै नागरिक बीमा गर्न तयार हुन्छन् ।’ उनले नागरिकहरुलाई बीमाको लागि प्रस्ताव गर्दा शर्तमा रहेका कुराहरुमा खुलाएर बीमा गराउने गरेको बताईन् । केही खराब आचरण र गलत नियत भएका अभिकर्ताका हर्कतले गर्दा व्यवसायिक अभिकर्ताहरुलाई केही अप्ठ्यारो पर्ने गरेको उनको धारणा छ ।

उनका अनुसार समाजमा ३ प्रकारका नागरिक हुन्छन् । पहिलो बीमा तथा आर्थिक हिसावमा पूर्ण ज्ञान भएका, दोस्रो अलिक ज्ञान भएका तर बीमालार्ई नकारात्मक रुपले हेर्ने र तेस्रोमा ज्ञानी तर अलिक बीमासम्बन्धी त्यती धेरै जानकारी नभएका । ‘मैले यस्तै प्रकारका मानिसहरुलाई बीमा गराउने गरेकी छु । जुन अभिकर्ताले यस्तो दोस्रो स्थानमा रहेका मानिसलाई समेत बुझाएर बीमा गराउन सक्छ, त्यो नै सफल अभिकर्ता हो ।’ उनीले भनिन् ।

बजारमा थुप्रैले अभिकर्ता लाईसेन्स लिएका हुन्छन् । तर, नागरिकले विश्वासिलो, परिचित र व्यवसायिक अभिकर्तासँग मात्र बीमा गराउने गरेको जोशीको बुझाई छ । ‘बीमा गराउन सर्वसाधारणलाई विश्वास दिलाउन ठूलो संघर्ष गर्नुपर्ने रहेछ । म सधै बीमितको हितलाई मध्य नजर गर्दै बीमा गराउँने गरेकी छु । छोराछोरीहरूका लागि आमा–बुबाको महत्त्व जति रहेको हुन्छ, त्यति नै महत्त्व सम्पत्तिको लागि बीमाको पनि हुन्छ ।’

बीमा क्षेत्रमा आवद्ध भएको यस अवधिमा तीन हजार पाँच सय जना मानिसको बीमा गरेकी उनले बीमितको घरमा नै गएर बीमा दाबी भुक्तानी दिने, उनीहरुलाई आवश्यक परेको अवस्थामा ऋण सुविधा दिने गरेको बताउँछिन् । उनले यस अवधिमा ६ वटा बीमा दाबी भुक्तानी समेत गरिसकेकी छिन् । नागरिकले बीमा दाबी भुक्तानीको समयमा भोग्नु परेका समस्याले गर्दा बीमा सम्बन्धी झन् नकारात्मक धारणा फैलिएको उनको बुझाइ छ । जोशीका अनुसार अभिकर्ता भनेको कम्पनी र बीमितबीचका पुल हुन् । सफल र व्यवसायिक अभिकर्ता हुन आफ्ना बीमितप्रति सधैँ इमान्दार र उदार रहनुपर्ने उनको धारणा छ ।

कम्पनीले आफ्नो हरेक काममा साथ, सहयोग दिएको र आफूले पनि स–साना गरी छरिएर रहेको पुँजीलाई बीमा मार्फत संकलन गरी देश निर्माणमा समेत टेवा पु¥याउन पाउँदा खुशी लाग्ने गरेको सुनाइन् । ‘नेपालमा अन्य थुप्रै बीमा कम्पनीहरू रहेका छन् र मलाई बिभिन्न कम्पनीबाट आफ्नो कम्पनीमा अभिकर्ता भएर आउन अफर समेत आउने गरेका छन् । तर म कुनै पनि कम्पनीमा गइनँ किनभने एलआइसी नेपालको व्यवस्थापकीय पक्ष एकदमै राम्रो रहेको छ । हाम्रो कम्पनीले दावी भुक्तानीलाई विशेष प्राथमिकता दिएर बीमितप्रति इमान्दार भई कारोबार गर्दै आएको छ ।’

मानिसको जीवनमा बीमाको धेरै नै महत्व हुन्छ । तर शिक्षा र चेतनाको अभावमा बीमा अझै गरीब र न्यून आय भएका जनताको पहुँचमा पुग्न सकेको छैन । ‘नेपालको मात्र नभई विश्व बीमा बजार नै बीमा अभिकर्ता विना अपूर्ण छ । देशको दूर–दराजमा बीमाको दायरा बढाउन जीवन बीमा कम्पनीले व्यवसायिक अभिकर्ता उत्पादन गर्न जरूरी छ । यस्ता कुरालाई नियमनकारी निकायले विशेष प्राथमिकतामा राख्नुपर्छ ।’ नियमनकारी निकाय बीमा प्राधिकरण, स्वयम् कम्पनी र अभिकर्ताहरूले बीमा सचेतनाको लागि मिलेर काम गर्नुपर्छ । बीमाले नागरिकको जीवन रक्षा, आर्थिक दायित्व र जोखिम वहन गर्नुपर्ने उनको बुझाइ छ । बीमा भन्ने चीज आवश्यकता परेको बखत गर्न नपाइने हुँदा आजै बीमा गरेर भविष्यमा आइपर्ने आपतबाट बच्नुपर्छ ।

उनको परिवारमा श्रीमान र २ छोराछोरी छन् । परिवारको पूर्ण साथ सहयोग पाएकी जोशीले गत आर्थिक वर्षको अवधिमा एलआइसी नेपालमा सर्वाधिक बीमा पोलिसी बिक्रीमा दोस्रो स्थान समेत हासिल गर्न सफल भएकी छिन् ।

सुदूरपश्चिमको डोटी र कैलाली जिल्लाका शहरी क्षेत्रमा जानकी जोशी (कापडी) ले चलाएको बीमा अभियानले बीमा गरेर जीवन रक्षावरण गर्न चाहने बीमितलाई त राहत मिलेकै छ । त्यसबाहेक कमजोर आर्थिक अवस्था भएका घरपरिवारका बस्तीमा पनि उनले चलाएको बीमा अभियानले बीमा सचेतना अभियान विस्तार भएको छ । आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र आफ्नो आम्दानी पनि बढाउने अभियानमा लागेकी जानकीले भविष्यमा अझै बीमाको दायरा वृद्धि गरेरै छाड्ने प्रतिवद्धता र आत्मविश्वास व्यक्त गरेकी छिन् ।

One thought on “संघर्षले बीमा व्यवसायमा जमेकी अभिकर्ता जानकी जोशीको सफलताको कथा

  1. Jagat Ram Tharu says:

    वाह ! आनन्द प्राप्त भयो । यो जोसिलो अनि ऊर्जाशिल News पढेर ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*