फर्कियो बजारमा रौनकः नेप्से १०८ अकंले बढ्दा कारोबार खुम्चियो, अबको यात्रा कता ?
काठमाडौँ । शेयर बजारमा उछाल देखिएको छ । मंगलबार भारि गिरावट देखिएको पुँजी बजार आज करिब शतक अकंले छलाङ हानेको हो । बजारमा आइरहेको रौनकलाई कतिपयले अस्वभाविक वृद्धि भइरहेको हुँदा माफियाहरुको चलखेल भइरहेको बताएका छन् । तर, केहि लगानीकर्ता बजारमा सन्तुलित सुधार आइरहेको तर्क राखी रहेका हुन् ।
बलियो कम्पनीको शेयरमा आएको उछाललाई सन्तुलिन मान्न सकिन्छ । तर, वित्तीय अवस्था, नेटवर्थ र इपिएस नै ऋणात्मक रहेको कम्पनीको शेयर मूल्यमा देखिएको उचाई माफियाहरुको चलखेल भएको बुझ्न सकिन्छ । बजार आफ्नै लयमा अगाडि बढ्नु पर्दछ । कसैको इसारामा नाच्दा सोझा लगानीकर्ताको खरानी जोखिम पर्ने त्रास हुन्छ ।
अर्थतन्त्र लयमा आइरहेको छ । बैंकको ब्याजदर समेत निरन्तर ओरालो यात्रा तिर गइरहेको छ । नियामक निकायले समेत विस्तारै शेयर बजार सम्बन्धी लचिलो नीति ल्याई रहेको छ । जसका कारण बजार उकालो यात्रामा तय गर्ने पक्का छ । तर, माफियाको चलखेलले बजार अघि बढ्नु हुँदैन।
यसदिन कारोबार रकम खुम्चिएको छ । हिजो हालसम्मकै उच्च कारोबार भएको मार्केटमा आज भने करिब ६ अर्ब कम कारोबार भएको छ । यसबाट साना लगानीकर्ता केहि सचेत भएको रुपमा बुझ्न सकिन्छ । बजार सीमित ब्यक्तिको इसारमा भन्दा कम्पनीको योजना, वित्तीय अवस्था लगायतका विषयमा चल्नु पर्छ । पूर्वअर्थमन्त्री प्रकाश सरण महत र स्वतन्त्र सांसद अमरेस सिहंले दिएको अभिब्यक्तिले हिजो बजार ओरालो लागेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०८.३५ अकंले बढेर २७५९.६७ बिन्दुमा कायम भएको छ । बुधबार २३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन १३ वटै उपसूचकमा हरियाली देखिएको छ । आज बैंकिङ समूहको २.३२ प्रतिशत, विकास बैंक समूहको ४.५१ प्रतिशत, फाइनानस समूहको ७.६३ प्रतिशत, होटल तथा पर्यटन समूहको ५.१३ प्रतिशत, हाइड्रोपावर समूहको ५.७२ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ३.८९ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज १३ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यसदिन २३९ कम्पनीको शेयर मूल्य बढेको छ भनखे ३ कम्पनीको घटेको छ ।