दाबी भुक्तानीलाई थप प्रभावकारी बनाउन प्राधिकरण प्रतिबद्ध छ: अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मङ्गलबार विराटनगरमा संचारकर्मीहरूसँग बीमासम्बन्धी समसामयिक विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सम्बन्धी समाचार प्रकाशन एवम् प्रसारणमा बीमाको विकास, प्रवर्द्धन र बीमितको हितलाई प्राथमिकता दिन आग्रह गरे । अध्यक्ष सिलवालले बीमा दाबी भुक्तानीसम्बन्धी गुनासाहरूलाई सम्बोधन गर्दै दाबी भुक्तानीलाई थप प्रभावकारी बनाउन प्राधिकरण प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा विभिन्न संचारमाध्यममा कार्यरत संचारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख विनोद कुमार पोखरेलले गरेका थिए ।