उपासना पौडेल सिईओ बनेको १० महिनामै हिमालयन रि इन्स्योरेन्सको रेटिङ बढ्यो
काठमाडौँ । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको रेटिङ अपग्रेड भएको छ । रेटिङ प्रदायक कम्पनी इक्राले कम्पनिलाई इस्युअर रेटिङ ए प्रदान गरेको हो । यसअघि इस्युअर रेटिङ ए माइनस रेटिङ कम्पनिले पाएको थियो ।
हाल कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा उपासना पौडेल कार्यरत रहेकी छिन् । पौडेलेले कार्यभार सम्हालेको करिब १० महिनामा कम्पनीले रेटिङ अपग्रेड गर्न सफल भएको छ । छोटो समयमा कम्पनीले बृद्धि गरेको व्यवसाय, प्रवाह भएको सेवाको गुणस्तरीयता आदिका कारण कम्पनीको रेटिङ ए बाट ए माइनस पुग्न सफल भएको देखिएको छ ।
प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा उपासना पौडेलको आगमनपछि कम्पनीका अधिकाश सूचकले उकालो यात्रा तय गरेको छ । उनले २०८० साल असोज १४ गते उनले सीइओ जिम्मेवारी समालेकी थिन् । सीइओ पौडेलले नेतृत्व गरेदेखि हिमालयन रि इन्स्योरेन्स कम्पनी निकै बलियो स्थापित हुँदै आइरहेको छ ।
कम्पनीको आम्दानी नयाँ फड्को मारेको छ । गत आर्थिक बर्ष २०८०/०८१ को चैत महिनासम्ममा कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नौ महिनामा कम्पनीले आर्जन गरेको नाफा अघिल्लो आर्थिक वर्ष २०७९।०८० को तुलनामा ४३.३७ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७९।०८० मा कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको इक्रा नेपालले जनाएको छ ।
साथै, आर्थिक वर्ष २०७८।०७९ मा कम्पनीले २९ करोड २१ लाख रुपैयाँ र आर्थिक वर्ष २०७७।०७८ का ९४ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको ९ महिनामा कम्पनीले ४६ प्रतिशत दाबी भुक्तानी गरेको इक्रा नेपालको प्रतिवेदनमा उल्लेख गरेको छ ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा रहेका छन् । हिमालयन रि–इन्स्योरेन्स नेपालमा खुलेको दोस्रो पुनर्बीमा हो भने पूर्णरुपमा निजी क्षेत्रको लगानी रहेको पहिलो पुनर्बीमा कम्पनी हो । कम्पनीले नेपाल तथा विदेशमा रहेका लाइफ र ननलाइफ इन्स्योरेन्स कम्पनीहरूलाई पुनर्बीमा सेवा उपलब्ध गराइरहेको छ ।
उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिने इक्राले जनाएको छ । यस्ता उपकरणहरुमा न्यून क्रेडिट जोखिम रहेको हुन्छ । उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र भएको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको इक्रा नेपालले भनेको छ ।