नेशनल लाइफ र सूर्याेदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । नेशनल लाइफ र सूर्याेदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज साउन २३ गते अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले भोलि बुक क्लोज गर्दैछन् । यसका आधारमा आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर प्रदान गर्ने, नगद र बोनस शेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित गर्नेछ । यसका लागि भदौ ७ गते शुक्रबार काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा विहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको छ ।
सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक एवम् लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै आव २०८०।८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । आव २०७९।८० मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ ।
सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ सहित कायम चुक्ता पूँजीको १४.००५१४३ प्रतिशत बोनश शेयर बितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका लागि साउन ३२ गते ललितपुरस्थित लुभु पार्टी प्यालेसमा दिउँसो साढे १२ बजेदेखि सभा बस्नेछ ।
सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै आव ०८०।८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
सभाले मर्जरका लागि उपयुक्त वित्तीय संस्था पहिचान गरी मर्जर सहमतिमा हस्ताक्षर गर्ने र सोका लागि तथा आवश्यक कुनै विषयमा थप संशोधन र परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।