समयमै दाबी भुक्तानी गर्न बीमा कम्पनीलाई अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई समयमै दाबी भुक्तानी दिन निर्देशन दिएका छन् ।
बीमा प्राधिकरणको आयोजनामा सोमबार विराटनगरमा आयोजना गरिएको कोशी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा कर्मचारी र बीमा सर्भेयरसँगको छलफल एवम् अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले समयमै दाबी भुक्तानी दिन निर्देशन दिएका हुन् । उनले बीमाप्रतिको विश्वास अभिवृद्धिका लागि दाबी भुक्तानी महत्वपूर्ण विषय भएकाले समयमै दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूले सुझबुझका साथ काम गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।
त्यस्तै नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले नागरिकलाई सरल एवम् सहजरूपमा बीमा सेवा उपलब्ध हुने गरी कार्य गर्न र कुनै समस्या परेमा प्राधिकरणको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरूमा जानकारी गराउन आग्रह गरे ।
कार्यक्रममा घातक रोग बीमा, एकल बीमाशुल्क, कर सुविधाको सीमा, बीमक तथा लघुबीमकबीच बीमादरमा देखिएको स्पष्टता, दाबी व्यवस्थापन, प्रदेश तथा शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन, बीमा अभिकर्ताको परीक्षा, बीमकका कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था, बीमा क्षेत्रमा देखिएका समस्या लगायतका बीमा सम्बन्धी समग्र विषयमा छलफल भएको थियो ।
कार्यक्रममा कोशी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश कार्यालय र शाखा कार्यालयका प्रमुृख तथा कर्मचारीहरू र बीमा अभिकर्ताहरूको सहभागिता रहेको थियो ।