राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ३९ करोड रुपैयाँ माथि, ईपीएस कति?

२१ श्रावण २०८१, सोमबार ११:५३

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वष ३ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ५.४८ प्रतिशतले कम हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब ५९ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी १३.३९ प्रतिशतले घटेर १० अर्ब २३ करोड ४० लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ११ अर्ब ८१ करोड ६२ लाख रुपैयाँ थियो । अघिल्लो वर्ष २ अर्ब ६० करोड ८६ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज घटेर गत वर्ष ७ करोड ४९ लाख रुपैयाँ ऋणात्मक भएको छ । यससँगै बैंकको सञ्चालन नाफा ४.९४ प्रतिशतले बढेर ५ अर्ब २० करोड ७४ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष ४ अर्ब ९६ करोड २२ लाख रुपैयाँमात्रै थियो ।

गत वर्ष बैंकको खुद सञ्चालन आम्दानी ११.१८ प्रतिशतले बढेर ११ अर्ब ८५ करोड १४ लाख रुपैयाँ पगुेको छ जुन अघिल्लो वर्ष १० अर्ब ६५ करोड ९७ लाख रुपैयाँ थियो । गत वर्ष बैंकको वितरणयोग्य नाफा ३६.६१ प्रतिशतले घटेर ५८ करोड २१ लाख रुपैयाँमा सिमित भएको छ जुन अघिल्लो वर्ष ९१ करोड ८४ लाख रुपैयाँ थियो ।

गत वर्ष बैंकको ईपीएस २४ रुपैयाँ २२ पैसाबाट घटेर २१ रुपैयाँ ७३ पैसामा झरेको छ भने खराब कर्जा ३.७७ प्रतिशतबाट घटेर ३.६५ प्रतिशत कायम भएको छ । यस अवधिमा बैंकको आधारदर ६.७१ प्रतिशत रहेको छ ।

चुक्ता पूँजी १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ रहेको यस बैंकको रिटेन्ड अर्निङमा ५८ करोड २१ लाख रुपैयाँ रहेको छ । गत वर्ष रिजर्भको आकार ७.६० प्रतिशतले बढेर ३६ अर्ब ७८ करोड १९ लाख रुपैयाँ पुगेको छ । बैंकले गत वर्ष ग्राहकमा प्रवाह गर्ने कर्जा ९.५० प्रतिशतले बढाएर २ खर्ब ४८ अर्ब ९१ करोड १५ लाख रुपैया पुर्याएको छ भने निक्षेप संकलन ३३.४३ प्रतिशतले बढाएर ४ खर्ब २९ अर्ब १८ करोड ७७ लाख रुपैयाँ पुर्याएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*