सिद्धार्थ बैंकको वित्तीय अवस्था दयनीय, नाफासहितका अधिकांश सूचकहरुमा गिरावट
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको खुद नाफामा सामान्य गिरावट आएको छ । बैंकले सोमबार प्रकाशित गरेको गत आर्थिक वर्षको अन्तिम वित्तीय विवरणले बैंकको मुनाफा घटेको देखाएको हो ।
समीक्षा अवधिमा बैंकले ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७८ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २.३३ प्रतिशत घटेर ७ अर्ब ९९ करोड ३५ लाख रुपैयाँमा सीमित बनेको छ । सोही अवधिमा बैकको खुद फि तथा कमिशन आम्दानी चाँही ३.४३ प्रतिशत बढेर १ अर्ब ३९ करोड १८ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी पनि ०.६१ प्रतिशतले घटेर ९ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ र सञ्चालन मुनाफा ६.१० प्रतिशत घटेर ४ अर्ब ३६ करोड ९१ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकको व्यवस्थापकीय पक्ष राम्रो नहुदाँ अधिकांश वित्तीय सूचकहरुमा गिरावट आएको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा २.०१ प्रतिशतबाट बढेर २.२२ प्रतिशत पुगेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब २३ करोड पुगेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ७ पैसा घटेर २१ रुपैयाँ ४० पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात १३.२२ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३६ करोड ६६ लाख रुपैयाँ रहेको छ।
१४ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १३ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ७.९० प्रतिशत बढेको छ भने कर्जा ६.१५ प्रतिशत बढेको छ।