मैलुङ खोला जलविद्युत कम्पनी र सानिमा लाइफको लकइन अवधि साउन महिनामा सकिने
काठमाडौँ । दुई कम्पनी लकइन अवधि साउनमा सकिने भएको छ । मैलुङ खोला जलविद्युत कम्पनी र साबिक सानिमा लाइफ इन्स्योरेन्सको लकइन अवधिमा साउनमा सकिन लागेको हो ।
मैलुङ खोला जलविद्युत कम्पनी
कम्पनीको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड भएको शेयरको लक इन अवधि साउन २६ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
कम्पनीले २०७४ साल जेठ १७ देखि ३१ गतेसम्म स्थानीय बासिन्दाका लागि र २०७८ साल साउन १४ देखि १९ गतेसम्म सर्वसाधारणमा (कर्मचारीहरू समेत) मा आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २०७८ साल साउन २६ गते शेयर बाँडफाँड गरेको थियो । उक्त मितिबाट तीन वर्षसम्म संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था छ ।
कम्पनीको २५ लाख ७७ हजार कित्ता संस्थापक शेयर, तीन लाख ६८ हजार १४४ कित्ता स्थानीयको शेयर र १४ हजार ७२६ कित्ता कर्मचारीको शेयर लक इनमा रहेको छ ।
सानिमा लाइफ इन्स्योरेन्स
कम्पनीको १ करोड ४३ लाख कित्ता शेयरको ‘लक इन’ अवधि साउन २९ गतेपछि सकिने भएको छ ।
सानिमा रिलायन्स लाइफमा नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ४ करोड १८ लाख ४० हजार कित्ता शेयर रहेको छ । सोमध्ये साबिक सानिमा लाइफका संस्थापक तर्फको १ करोड ४० लाख र कर्मचारीहरूको ३ लाख कित्ता शेयर ‘लक इन’ रहेको छ ।
साबिक सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड आपसमा मर्ज भई सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड को नामबाट २०७९ चैत्र ९ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् ।