पैसा जम्मा गरेकै भरमा मनग्य आम्दानी हुने आशले १२ हजार नेपालीको रकम गायब
काठमाडौँ । पछिल्लो समय छिटो धनी बन्ने आश आम सर्वसाधारणमा पलाउदै जाँदा विभिन्न गिरोहको ठगि धन्दाको सिकार बन्ने गरेका छन् । आवश्यक ज्ञान नभएकै कारणले गर्दा अनलाइन मार्फत लाखौ रकम एकछिनमै गायब हुने गरेको छ ।
अनलाइनमा पैसा जम्मा गरेकै भरमा मनग्य आम्दानी हुने आश दिलाएको ‘एमएफओसीइल’ नामको प्लेटफर्म हजारौ प्रयोगकर्ताको रकम ठगि गरी गायब भएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकको अनुमति नै नदिई ठगि गर्ने उद्देश्यले स्थापित प्लेटफर्मले हजारौ नेपालीको रकम चोरेर फरार भएको हो । जसमा प्रयोगकर्ताको लोभपनले गर्दा ठगि गिरोहले रकम गायब बनाइ दिएको छ ।
नेपाली बजारमा करिब तीन महिना अघि मात्र ‘एमएफओसीइल’ संचालनमा आएको थियो । जसले १२ हजार नेपालीको रकम ठगि गरेको पाइएको छ । उक्त प्लेटफर्ममा कुनै व्यक्तिको रेफरल लिङ्कबाट वेबसाइटमा जाने र त्यसपछि रकम जम्मा गर्न लगाइने गरिथ्यो । तर, अहिले त्यो जम्मा गरेको पैसा निकाल्नै मिल्दैन । अहिले प्लेटफर्म नै बन्द अवस्थामा रहेको छ ।
हजारौ नेपाली सदस्य रहेको एमएफओसीएललले आफूलाई ‘एम फोकस लिमिटेड’ नामबाट चिनाएको थियो । लिङ्कको यूआरएल भने नामसँग मिल्ने किसिमको राखिएको थिएन ।
पहिले मेसेज पठाउन सकिन्थ्यो भने अहिले कसैले मेसेज पठाउन नसकिने बनाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गरेको आरोपमा एक महिला पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. १८ बस्ने ४५ वर्षीया बिना महर्जन रहेकी छन् । उक्त ठगी गिरोहको एजेन्ट भएको आरोपमा महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महर्जनले विभिन्न व्यक्तिहरूलाई प्रति खरिद ०.२३% नाफा हुने बताई रकम जम्मा गर्न लगाएको उजुरीकर्ताको दाबी छ ।