असार महिनाको तुलनामा २० प्रतिशतले बढ्यो निर्जीवन बीमकको व्यवसाय, कुनको कति ? (सूचीसहित)
काठमाडौं । अघिल्लो आर्थिक वर्षको असार महिनाको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन बृद्धि भएको छ ।
कम्पनीहरुले गत आवको असार महिनामा चार अर्ब ८४ करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । असार मसान्तमा विभिन्न योजना समेत ल्याएर बीमितहरुलाई बीमालेख नबिकरण तथा प्रिमियम शुल्क बुझाउन कम्पनीले आग्रह गर्ने गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको असार महिनाको तुलनामा कम्पनीहरुको बीमा शुल्क आर्जन २० दशमलव ६३ ले वृद्धि भएको छ । कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको असार महिनामा ४ अर्ब एक करोड ३३ लाख रुपैयाँ बराबरको कुल बीमा शूल्क आर्जन गरेको छ ।
असार महिनामा पनि शिखर इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको असार महिनाको तुलनामा कम्पनीको बीमा शुल्क आर्जन ३.२९ प्रतिशतले बढेर ५७ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, बीमा शुल्क आर्जनको आधारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले असार महिनामा ५० करोड ८५ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २४.२२ प्रतिशतले वृद्धि भएको छ ।
असार महिनामा सगरमाथा लुम्बिनी इन्स्योरेन्स ४९ करोड ४४ लाख रुपैयाँ, हिमालयन एभरेष्टले ४८ करोड ७१ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियलले ४३ करोड ७३ लाख रुपैयाँ र दि ओरियन्टल इन्स्योरेन्सले ४० करोड ६२ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ ।