सुस्ताएका स्टील उद्योगले लय समाउँदैः १४ कम्पनीले गरे एक खर्बको व्यापार, कस्तो छ आम्दानीको आंकडा ?
काठमाडौँ । १४ वटा स्टील डण्डी उद्योगहरुले एक वर्षको अवधिमा एक खर्बमाथिको व्यापार गरेका छन् । कम्पनीहरुको रेटिङअनुसार १४ वटा स्टीलजन्य सामग्री उत्पादन गर्ने कम्पनीले सन् २०२३ मा एक खर्ब ८ अर्ब ४० लाख रुपैयाँका व्यापार गरेको हुन् । जुन सन् २०२२ को तुलनामा ११.३७ प्रतिशतले कम हो । यी कम्पनीहरुले सन् २०२२ मा एक खर्ब २१ अर्ब ८६ करोड २० लाख रुपैयाँको व्यापार गरेका थिए ।
स्टील कम्पनीहरुले विभिन्न ब्रान्डमा डण्डी, स्टीलका पाइप, तार, जस्तापाता लगायत सामग्री उत्पादन गर्दै आएका छन् । जसमा जगदम्बा स्टील, हुलास स्टील, लक्ष्मी स्टील, सर्वोत्तम स्टील, अशोक स्टील, गोदावरी स्टीट, मैनावती स्टील, पन्चकन्या स्टील, पशुपति आइरन तथा स्टील, विजयश्री स्टील, नारायणी स्टील, हामा स्टील, मालिका स्टील र श्रीकृष्ण स्टील छन् ।
पूर्वाधार निर्माणको काम अघि बढ्न नक्सदा माग घट्दो क्रममा रहेपनि स्टील डण्डी उद्योगहरुले सन्तोषजनक व्यापार गरेका छन् । पछिल्लो समय निर्माण व्यवसायीहरूले समयमै बक्यौता रकम प्राप्त नहुँदा विकास निर्माणमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष असर स्टिल डण्डीमा परि रहेको छ । २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण र पूर्वाधार निर्माणकाका लागि स्टिल डण्डीले बजार राम्रै पाएको थियो । यही बेलामा डण्डीको मूल्य प्रतिकेजी १० देखि १६ रुपैयाँले बढेको थियो । तर, यसबिचमा देशमा आएको आर्थिक मन्दि, कोभिड १९ र सरकारले ब्यवसायीहरुलाई समयमै बक्यौता रकम नदिँदा स्टिल डण्डी व्यवसायीमा मार परेको हो ।
विभिन्न चुनौतिको सामना गर्दै स्टील उद्योगले सन्तोषजनक व्यापार गरेका हुन् । १४ वटा कम्पनीमध्ये जगदम्बा स्टीलले सबैभन्दा बढी व्यापार गर्न सफल भएको छ । कम्पनीले सन् २०२३ मा ४० अर्ब १७ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । जुन १३ वटा कम्पनीले गरेको कुल व्यापारमध्ये ३७.१९ प्रतिशत हो । जगदम्बाले सन् २०२२ अझ ४९ अर्ब ७३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
लोड सेडिङको मारमा व्यवसायी
मुलुकमा लोड सेडिङको अन्त्य भएपनि उद्योग ब्यवसायमा भने लोड सेटिङ कायमै रहेको पाइएको छ । जसले गर्दा स्टील कम्पनीको नाफामा संकुचन देखिन थालेको छ । लोड सेटिङको समस्याका कारण स्टीलको ब्यवसाय निरन्तर ओरालो लागि रहेको ब्यवसायीहरुको गुनासो रहदै आइरहेको छ ।
हजारौ ब्यक्तिलाई रोजगारी दिएको तथा राज्यलाई अर्बौ राजस्व दिने स्टील उद्योगहरुलाई सरकारले समेत प्राथमिकता दिने नगरेको ब्यवसायीहरुको आरोप रहदै आइरहेको छ । लोडसेडिङका कारण स्टिल डण्डीको व्यवसायीमा सङ्कुचन आएको प्रिमियर स्टिलका प्रोजेक्ट म्यानेजर प्रज्वल महतले बताए । उनले भने, ‘स्टिल डण्डीका अहिले पनि ६ घण्टा मात्र विद्युत् आउँछ । ६ घण्टामा पनि भोल्टेज पुग्दैन । स्टिलको व्यवसाय विस्तारमा लोडसेडिङले असर गरी रहेको छ ।’
सरकारी बजेट निकासा समयमा नहुँदा स्टिल डण्डीको व्यवसायमा अपेक्षा अनुरूप सुधार हुन नसकेको उनले बताए । ‘सरकार समयमै बजेट निकास गरेको छैन । यसले गर्दा स्टिलको व्यवसाय सुधार हुन सकेको छैन’ महतले भने ।
पछिल्लो समय ऊर्जा क्षेत्रमा भइरहेको विकासले भने स्टिल व्यवसायीलाई थोरै भए पनि आस दिलाएको बजरङ्ग स्टिलका जनरेल म्यानेजर रमण प्रसाद अचार्यले बताए । उनले भने, ‘ऊर्जा क्षेत्रमा विकास भयो, पूर्वाधार क्षेत्रको विकास हुँदै गयो भने माग त बढ्छ नै । त्यसैले पनि नयाँ मिलहरू थपिने चरणमा छन् । सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आइरहेको छ । यसले स्टिलको व्यवसायमा समेत सुधार आउने आस रहेको छ’ ।
पहिले भन्दा व्यवसाय केही खुम्चिए पनि भविष्यमा स्टिलको व्यवसायले राम्रै बजार पाउने विजय स्टिलका प्रोजेक्ट सेल्स म्यानेजर मदन ढकालले बताए । उनले भने, ‘व्यवसाय नभएको होइन । विविध कारणले पहिलेको भन्दा स्टिलको माग केही घटेको छ । तर, ऊर्जा क्षेत्रमा आएको फड्को र विकास निर्माणले बिस्तारै लयमा आउनले उसको भविष्य सुनौलो रहेको प्रस्ट रहेको छ’ ।
बढ्दै स्टिलको मूल्य, उर्जा विकासले आशवादी ब्यवसायी
स्टीलको मूल्य भनेको कच्चा पदार्थमा निर्भर हुने गर्दछ । नेपाल कच्चा पदार्थमा भारतमा निर्भर रहेको छ । भन्सार दर र बैङ्कको ब्याजदरले स्टिलको व्यवसाय निर्धारण गर्ने छ । डलरको मूल्यमा हुने उतारचढावले कच्चा पदार्थले पनि ठुलो प्रभाव पारिरहेको हुन्छ ।
स्टील डण्डीको मूल्य बढाउने तयारी ग्रिल तथा स्टिल व्यवसाय महासङ्घको रहेको छ । उद्योगीहरुले भने कच्चा पदार्थको आयातका कारण त्यसरी मूल्य बढेको बताउँदै आएका छन् । उद्योगीहरुले यसो भनिरहँदा उपभोक्ताकर्मीहरु भने बजारमा सिन्डिकेट गरेर अस्वाभाविक रुपमा मूल्य बढेको आरोप लगाइरहेका छन् । अहिले नेपालमा भारत लगायत देशबाट फलामको ब्लेड आयात गरेर प्रशोधन गरेर बिक्री गर्दै आएका छन् । उपभोक्ताहरूले मूल्य, गुणस्तर र पहुँचलाई हेरेर उत्पादन छान्ने गरेका छन् उत्पादन छनौटका ४ वटा आधार (फोर पीज) भन्ने गरेका छन् । ठाउँ (प्लेस) उत्पादन (प्रडक्ट) र मूल्य (प्राइस)लाई हेर्छन् । एक तलाको घर सरकारी मापदण्डमा बनाउँदा ५ टन डण्डी लाग्ने गरेको छ ।
ग्रिलजन्य फलाम र निर्माण सामाग्रीको अनियन्त्रित रुपमा भएको उच्च मूल्य बृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्था आएको ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले बताए । उनले भने, ‘अन्तराष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा बृद्धि नभएको अवस्थामा पनि नेपाली बजारमा केही सीमित उद्योगी र सरकारमा रहेका मानिसहरुको आपसी मिलेमतोमा ग्रिलजन्य फलामको मूल्य बढाइएको छ देशभर सञ्चालित ११ हजार भन्दा बढी ग्रिल उद्योग त्यसमा कार्यरत करिब १ लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख व्यक्तिको रोजगारी गुम्ने अवस्था आएकोले अस्वभाविक मूल्य बृद्धिको अनुगमन गरी उचित कारबाही हुनुपर्छ ।’
अनियन्त्रित र अस्वभाविक ग्रिल जन्य फलामको मूल्य अत्याधिकरुपमा बढेको कारण व्यवसाय नै धारासायी हुने स्थितिमा मात्र पुगेको छैन आम उपभोक्ताहरु समेत मारमा परेको श्रेष्ठले बताए ।
कुनको आम्दानी कति ?
जगदम्बा स्टील
कम्पनीले सन् २०२३ मा ४० अर्ब १७ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । सन् २०२२ मा ४९ अर्ब ७३ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । तथ्यांक अनुसार यसले सन् २०२१ मा २९ अर्ब ५५ करोड ७० लाख र सन् २०२० मा २१ अर्ब ९ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
यस कम्पनीले ३५ अर्ब १४ करोड २७ लाख रुपैयाँ कर्जाका लागि पुनः रेटिङ गराएको छ । कम्पनीले १२ अर्ब ५८ करोड दीर्धकालीन कर्जाका लागि ‘आइआरएन बीबीबी’ र अल्पकालीनका कर्जा २७ अर्ब ६ करोड रुपैयाँका लागि ‘आइआरएन ए३ प्लास’ रेटिङ पुनः पुष्टि गराएको हो ।
हुलास स्टील्स
कम्पनीले सन् २०२३ मा १२ अर्ब ४४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले गरेको व्यापार सन् २०२२ को तुलनामा भने २०.४७ प्रतिशतले कम हो । कम्पनीले सन् २०२२ मा १५ अर्ब ६५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो । त्यस्तै, कम्पनीले सन् २०२१ मा ११ अर्ब ४७ करोड ६० लाख रुपैयाँ, सन् २०२० मा ६ अर्ब १४ करोड ५० लाख रुपैयाँ र सन् २०१९ मा ८ अर्ब ५४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।
सन् २००६ मै पब्लिक कम्पनीमा रुपान्तरण भएको हुलास स्टिलले चार्न्ले डेभलपमेन्ट कम्पनीको ५० प्रतिशत र गोल्छा परिवारको बाँकी ५० प्रतिशत हिस्सा छ । जयश्री गोल्छाको २१ प्रतिशत, हिमान्सु गोल्छा, हितेश गोल्छा र हुलास मेटल क्राफ्टको समान ६/६ प्रतिशत सेयर स्वामित्व छ भने बाँकी अन्यसँग छ। हुलास स्टिलले विभिन्न प्रकारका जस्तापाता उत्पादन गर्छ। कम्पनीसँग वार्षिक ४ लाख ८१ हजार टन उत्पादन क्षमता छ।
लक्ष्मी स्टील्स
आइपीओ निष्कासन गर्ने तयारीमा रहेको लक्ष्मी स्टील्स लिमिटेडको व्यापारमा उल्लेख्य सुधार भएको छ । कम्पनीले सन् २०२३ मा मात्र ९ अर्ब ४४ करोड ४० लाख रुपैयाँ व्यापार गरेको हो । कम्पनीले गरेको व्यापार सन् २०२२ को तुलनामा साढे १० प्रतिशतले बढी हो । कम्पनीले सन् २०२२ मा २०२२ मा ८ अर्ब ५४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले सन् २०२१ मा ६ अर्ब ८ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको इक्रा नेपालले जनाएको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ६ अर्ब १७ करोड ९० लाख व्यापार गरेको हो । लक्ष्मी स्टील्समा सौरभ समूहको लगानी छ । यसको एउटा प्लान्ट सुनुवाल, नवलपरासीमा छ । कम्पनीले ३ अर्ब ३८ करोड ९० लाख रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ । जसमा लङ ट्रम १८ करोड ९० लाखका लाउ ‘आइएनबीबीबी माइनस’ र सट्र ट्रम ३ अर्ब २० करोडका लागि ‘आइआरएन ए३’ रेटिङ प्राप्त गरेको छ ।
सर्वोत्तम स्टील्स
आइपीओ निष्कासन गर्ने तयारीमा रहेको सौरभ ग्रुपद्धारा प्रवद्र्धित सर्वोत्तम स्टील्स लिमिटेडले ९ महिनमा ५ अर्बको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले ९ अर्ब ९० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२३ मा ७ अर्ब ७५ करोड ३० लाख रुपैयाँको मात्र व्यापार गरेको थियो । जुन सन् २०२२ को तुलनामा १ अर्ब १८ करोड १० लाल रुपैयाँले कम हो । कम्पनीले सन् २०२२ मा ८ अर्ब ९३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०१७ मा स्थापना भएको सर्वोत्तम स्टिल २०२१ मा पब्लिक लिमिटेड कम्पनी बनेको हो। यस्तै टिएटी छडको क्षमता २ लाख ३५ हजार टन छ। उद्योगले आफ्नो मेल्टिङ प्लान्टबाट बिलेट बनाउँदै आएको छ। उद्योगको अध्यक्ष तथा प्रवन्ध निर्देशकमा विष्णु न्यौपाने छन्। उनको सर्वोत्त स्टिलमा २५ प्रतिशत हिस्सा छ। बाँकी ७५ प्रतिशत व्यक्तिगत लगानीकर्ताको छ। न्यौपाने र अग्रवाल परिवारले स्टिल उद्योग सञ्चालनमा ल्याएका हुन्। कम्पनीले ४ अर्ब ८७ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पुनः पुष्टि गराएको छ। कम्पनीले १ अर्ब ६४ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एल डबल बी माइनस र ३ अर्ब २५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पुनः पुष्टि पाएको छ।
हामा आइरन एन्ड स्टील
कम्पनीले सन् २०२३ मा कम्पनीले १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ व्यापार गरेको हो ।कम्पनीको नाफा सन् २०२२ को तुलनामा ५०.७२ प्रतिशत कम हो । सन् २०२२ मा यसले ३ अर्ब ८० करोड ७० लाख र सन् २०२१ मा २ अर्ब ७३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको गरेको थियो । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा ६९ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
यसले कुल ४ अर्ब ३५ करोड ३३ लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये, लङ ट्रम २ अर्ब २४ करोड ८३ लाखका लागि ‘आइआरएन बी माइनस’ रेटिङ प्राप्त गरेको छ । यता, सर्ट ट्रम ९० करोड ५० लाख बैंक कर्जाका लागि ‘आइआरएन ए४’ रेटिङ पुनः पुष्टि गरेको छ । त्यसैगरी, लङ र सर्ट ट्रम १ अर्ब २० करोड कर्जाका लागि ‘आइआरएन बी माइनस र ए४’ रेटिङ प्राप्त गरेको छ ।बालाकृष्ण श्रेष्ठको यस कम्पनीमा सेयर हिस्सा ९१.४६ प्रतिशत, अमिर श्रेष्ठको ६.२६ प्रतिशत र राजनकृष्ण श्रेष्ठको सेयर स्वामित्व हिस्सा २.२८ प्रतिशत छ ।
श्रीकृष्ण स्टील
कम्पनीले सन् २०२३ मा ८६ करोड ३० लाख रुपैयाँको आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ३४.८६ प्रतिशतले कम हो । कम्पनीले सन् २०२२ मा १ अर्ब ३२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपालले जनाएको छ ।
सोहि कम्पनीले सन् २०२१ मा १ अर्ब ६१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । पछिल्लो समय कम्पनीको व्यापार निरन्तर घटि रहेको देखिन्छ । यस कम्पनीले १ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ पुष्टि गराएको छ ।
गोदावरी स्टील
कम्पनीले सन् २०२३ मा ६ अर्ब ३० करोड १० लाख रुपैयाँको ब्यापार गरेकोछ । जुन गत वर्ष भन्दा १६.४४ प्रतिशतले बढी हो । सन् २०२२ मा कम्पनीले ५ अर्ब ४१ करोड १० लाख रुपैयाँको व्यापार गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ । कम्पनीले सन् २०२१ मा ३ अर्ब १ करोड २० लाख रुपैयाँको ब्यापार गरेको थियो । गोदावरी स्टीलको माग निर्माण क्षेत्रमा बढ्दो क्रममा रहेको छ ।
यस कम्पनीले ७६ करोडरुपैयाँ बैंक कर्जाका लागि रेटिङ पुष्टि गराएको छ । दीर्घकालिन ३ अर्ब २६ करोड ९६ लाख रुपैयाँका लागि ‘केयर एनपी बीबी माइनस’ र अल्पकालिन ४ अर्ब २८ करोड रुपैयाँका लागि ‘केयर एनपी ए४’ रेटिङ पुनः पुष्टि गराएको हो ।
विजयश्री स्टील
कम्पनीको ब्यापार सन् २०२३ मा ३ अर्ब ५६ करोड ४० लाख रुपैयाँमा सिमित भएको हो । यो सन् २०२२ को भन्दा २४.४५ प्रतिशतले कम हो । सन् २०२२ मा यस कम्पनीले ४ अर्ब ७१ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ ।
त्यस्तै, कम्पनीले सन् २०२१ मा ५ अर्ब ३४ करोड ९० लाख रुपैयाँको ब्यापार गरेको थियो । कम्पनीको ब्यापार निरन्तर खुम्चि रहेको छ । यस कम्पनीले १ अर्ब ९४ करोड ३७ लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ पुनः पुष्टि गराएको छ ।
पञ्चकन्या स्टिल
कम्पनीले सन् २०२३ मा ५ अर्ब ११ करोड रुपैयाँको कारोबार गरेको छ । जुन सन् २०२२ को तुलनामा २४.२८ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२२ मा ६ अर्ब ७४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२१ मा ५ अर्ब ५३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
पञ्चकन्या ग्रुपद्वारा सञ्चालित पञ्चकन्या स्टिलमा प्रेमबहादुर श्रेष्ठ अध्यक्ष र प्रबन्ध निर्देशक प्रदिपकुमारसहित ७ जना बोर्ड सदस्य छन् । कम्पनीको देशभर ९० वटा डिलर छन् । पञ्चकन्या स्टिलको ५०० एक्सडी र ५५० एक्सडी रिबारहरू भैरहवामा निर्माण हुन्छ ।
मैनावती स्टिल
कम्पनीले सन् २०२३ मा ६ अर्ब ३ करोड ५० लाखरुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ४ अर्ब २९ करोड ८० लाख रुपैयाँ र सन् २०२१ मा ४ अर्ब ६५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सुनसरीको दुहबीमा प्लान्ट रहेको कम्पनीसँग वार्षिक १ लाख १३ हजार ९ सय टन स्टिलका प्रडक्ट उत्पादन गर्न सक्ने क्षमता छ । कम्पनीका अध्यक्ष त्रिलोकचन्द अग्रवालको १७ प्रतिशत सेयर स्वामित्व छ । कम्पनीले ६ अर्ब ५२ करोड ५० लाख बैंकिङ कर्जाका लागि रेटिङ पुनः पुष्टि पाएको छ।
मुरारका ग्रुपको पशुपति आइरन एण्ड स्टिल
कम्पनीले सन् २०२३ मा ४ अर्ब ६८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो । जुन सन् २०२२ को तुलनामा ११.४९ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२२ मा ४ अर्ब २० करोड २० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२१ मा २ अर्ब १९ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ४१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले पछिल्लो ९ महिना मात्र २ अर्ब २ करोड ९० लाख रुपैयाँको व्यापार गरेको इक्रा नेपालले जनाएको छ ।
कम्पनीले सन् १९८३ देखि आइरन तथा स्टिल उत्पादन उत्पादन गरी बिक्री गर्दै आएको छ । पशुपति आइरन नेपाली बजारमा प्रख्यात ब्रान्ड हो । कम्पनीमा अशोक मुरारका, प्रदिप मुरारका, पशुपति मुरारका र महेश मुरारकाको बराबर हिस्सा अर्थात् २५‑२५ प्रतिशत सेयर रहेको छ ।
मलिका स्टील्स
कम्पनीले सन् २०२३ मा ९४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो । आर्थिक मन्दी तथा विकास निर्माण थप्प हुँदा समेत कम्पनीले सन्तोषजनक व्यापार गरेको देखिन्छ । कम्पनी सन् २०२१, २७ अप्रिलमा स्टिल निर्माणको लागि स्थापित भएको हो । कम्पनीको उत्पादन केन्द्र टिकापुर, कैलालीमा रहेको छ । कम्पनीले वार्षिक २६ हजार ८१२ मेट्रिक टन स्टिल उत्पादन गर्दै आइरहेको छ ।