चुलिदो व्यापार घाटामा मलम लगाउँदै सिमेन्ट उद्योगः १२ कम्पनीले गरे साढे ५२ अर्बको व्यापार, कुनको कति ?
काठमाडौँ । मुलुकको चुलिदो व्यापार घाटामा मलम लगाउँदै आइरहेका सिमेन्ट उद्योगहरुको कारोबार विस्तारै लयमा आइरहेको छ । आर्थिक मन्दि, कोभिड १९ र निर्माण ब्यवसायीहरुले वक्यौता नपाएको चपेटामा परेका सिमेन्ट उद्योगहरुको व्यापार सुधार तिर लम्कि रहेको हो ।
नेपाली सिमेन्ट उद्योग फस्टाउँदै जाँदा ब्यवसायीहरुमा समेत उत्साह छाएको छ । उत्पादनका हिसाबले निकै अगाडि रहेका नेपाली सिमेन्ट उद्योगहरू निर्यात गर्न सक्ने अवस्थासम्म पुगि सकेका छन् । हाल कयौं सिमेन्ट कम्पनीहरुले छिमेकी राष्ट्र भारतमा आफ्नो दबदबा कायम राखी सकेका छन् । हाल नेपालबाट घोराही, बालाजी, तानसेन, अर्घाखाँची सिमेन्ट, सिजी सिमेन्ट भारततर्फ निर्यात हुँदै आएका छन् । मुलुकबाट हुने समग्र निर्यातमा सिमेन्ट र क्लिंकरको योगदान २.४६ प्रतिशत रहेको छ । भारतीय बजारमा नेपाली सिमेन्टको माग बढाउन विज्ञापन समेत उद्योग व्यवसायीले गर्ने गरेका छन् । अहिले अर्घाखाँची, सर्वोत्तम र पाल्पा लगायतका सिमेन्टले भित्ते विज्ञापन गर्ने थालेका हुन् ।
सिमेन्टलाई चाहिने प्रमुख कच्चापदार्थ चुनढुङ्गा खानी नेपालमा प्रशस्त छन् । सोही कारण नेपालमा सिमेन्ट उद्योग फस्टाउन गएको अवस्था छ । कुनै समय नेपालमा बन्ने ठूला परियोजनाहरूमा विदेशी सिमेन्ट नै प्रयोग गरिन्थ्यो । सर्वसाधारणले घर बनाउँदा स्वदेशी सिमेन्ट प्रयोग गरे पनि ठुल्ठूला आयोजनाहरूलाई नेपाली सिमेन्टप्रति भरोसा थिएन । आज सर्वसाधारणको घरदेखि विकास निर्माणका जुनसुकै कार्यमा स्वदेशी सिमेन्ट नै चल्छ । विमानस्थल होस् या जलविद्युत आयोजना, पुल होस् या बहुतले भवन– सबै स्तरका परियोजना नेपाली सिमेन्टकै भरमा अडिएका छन् ।
नेपालबाट निर्यात हुने सिमेन्ट तथा क्लिङकर उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्ष २०८०।०८१ मा तीन अर्ब ८५ करोड २८ लाख २४ हजार रुपैयाँ बराबरको २८ लाख ३९ हजार टन सिमेन्ट तथा क्लिंकर (अर्धप्रशोधित सिमेन्ट) भारतीय बजारमा निर्यात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४.९४ गुणा अर्थात् तीन अर्ब रुपैयाँले धेरै हो । अघिल्लो आर्थिक वर्षमा ७७ करोड ९३ करोड २९ लाख रुपैयाँको १० लाख चार हजार टनमात्र सिमेन्ट र क्लिंकर निर्यात भएको थियो । भारतमा हुने पूर्वाधार निर्माणमा नेपाली सिमेन्ट प्रयोग बढ्नुका साथै भारतीय उद्योगहरूले पनि नेपालबाट क्लिंकर आयात गरेर सिमेन्ट बनाउन थालेका छन् ।
नेपाली सिमेन्ट उद्योगले तीन–चार वर्षको कम समयमै यति ठूलो फड्को मार्नुको कारण निजी क्षेत्रको प्रवेश हो। अहिले अधिकांश ठूला व्यापारिक घराना सिमेन्ट उद्योगमा संलग्न छन्। चौधरी समूहले नवलपरासी र पाल्पामा सिमेन्ट उद्योग खोलेको छ। मुरारका अर्गनाइजेसन सुरूदेखि नै यसमा आबद्ध छँदैछ। विशाल ग्रुपले त्रिवेणी ग्रुपसँग मिलेर दाङमा उद्योग चलाएको छ। शंकर समूह र लोमस ग्रुप पनि सिमेन्टमा सक्रिय छन्। त्यस्तै, शंकर, अम्बे र गोल्छा अर्गनाइजेसनको लगानीमा सौर्य सिमेन्ट उत्पादन भइरहेको छ।
फस्टाइरहेका सिमेन्ट उद्योगको व्यापारमा सुधार भइरहेको देखिन्छ । आज हामीले इक्रा नेपाल प्रकाशित भएका १२ सिमेन्ट उद्योगको व्यापारको तुलनामा गरेका छन् । होङ्शी शिवम् सिमेन्ट, शिवम सिमेन्ट, अर्घाखाची सिमेन्ट, रिद्धसिद्धी सिमेन्ट, मारुती सिमेन्ट, भूगर्भ सिमेन्ट, पाल्पा सिमेन्ट, सम्राट सिमेन्ट, शुभश्री अग्नी सिमेन्ट, सप्तकोशि सिमेन्ट, नेपाल सालिमार सिमेन्ट र अग्नी सिमेन्टको व्यापारको बारे चर्चा गरेका छौं ।
एक वर्षको अर्थात् सन् २०२३ मा ११ सिमेन्ट उद्योगले ५२ अर्ब ६४ करोड १० लाख रुपैयाँको व्यापार गरेका छन् । जुन सन् २०२२ को तुलनामा १६.१६ प्रतिशतले कम हो । सन् २०२२ मा ११ सिमेन्ट उद्योगले ६२ अर्ब ७८ करोड ६० लाख रुपैयाँको व्यापार गरेका थिए ।
यसअवघिमा सबैभन्दा बढी व्यापार गर्ने सिमेन्टमा होङ्शी शिवम् सिमेन्ट रहेको छ । सन् २०२३ मा कम्पनीले १३ अर्ब ८१ करोेड १० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२१ सालमा सबैभन्दा बढी ब्यापार गरेको थियो । सो अवधिमा कम्पनीले १७ अर्ब ४५ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको हो । कम्पनीले सन् २०२२ मा १७ अर्ब ४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।
होङ्सी शिवम सिमेन्ट
पूर्वी नवलपरासीमा स्थापना भएका सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले व्यावसायिक उत्पादन २०७५ जेठदेखि थालेको गरेको हो । नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करीब ३६ अर्बको लगानीमा नवलपरासीको सर्दीमा स्थापना भएको हो । यस कम्पनीले हाल ओपीसी र पीपीसी सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको छ । कम्पनीले अल्पकालीन कर्जाका लागि २ अर्ब ३२ करोड र दीर्घकालीन कर्जाका लागि ६ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ ।
शिवम सिमेन्ट
शिवस सिमेन्टले सन् २०२३ मा ७ अर्ब ७५ करोड ३० लाख रुपैयाँको ब्यापार गरेको छ । कम्पनी सन् २०२१ मा ९ अर्ब ६१ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा ९ अर्ब २६ करोड रुपैयाँ व्यापार गरेको देखिन्छ ।
२०६० सालमा प्राइभेट कम्पनीको रूपमा हेटौँडामा स्थापना भएको शिवम् सिमेन्ट २०६७ पछि भने व्यावसायिक उत्पादनमा सक्रिय बनेको हो । उत्पादनको सुरुवातमा प्रतिदिन ७ सय टन सिमेन्ट र १२ सय टन क्लिङ्कर उत्पादन गरेको उद्योग २०७२ सालमा आएर पब्लिक कम्पनीमा परिणत भयो । शिवम् सिमेन्टमा ६ वटा कम्पनीहरु लक्की ग्रुप, सारदा ग्रुप, जेबी मारु ग्रुप, एचआर गोयल ग्रुप, देवेनरा ग्रुप र भिमसरिया ग्रुपको संयुक्त लगानी छ । सञ्चालक समितिका अध्यक्ष गौरव गोयल छन् भने उत्पादन प्रमुख नवल किशोर चौधरी हुन् । सिमेन्ट भारतीय गुणस्तर चिन्ह बीआईएस प्रमाणपत्र प्राप्त गरेको कम्पनी हो । साथै नेपालमै उत्कृष्ट सिमेन्टको प्रमाणपत्र (आईएसओ) पनि प्राप्त गरेको छ ।
अर्घाखाँची सिमेन्ट
आइपीओ निष्कासन गर्ने तयारीमा रहेको अर्घाखाँची सिमेन्टको व्यापार भने खस्किएको छ । सार्वसाधारणका लागि आइपीओ जारी गर्ने प्रक्रियामा रहेको कम्पनीको आम्दानी खुम्चिएको हो । सन् २०२३ मा कम्पनीको व्यापार २४.९४ प्रतिशतले घटेर ५ अर्ब ७७ करोड २० लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीले सन् २०२२ मा भने ७ अर्ब ५८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले जनाएको छ । सन् २०२२ कम्पनीको व्यापार सन् २०२१ को तुलनामा पनि १३ प्रतिशतले घटेको छ । कम्पनीले सन् २०२१ मा ८ अर्ब ७० करोड ४० लाख रुपैयाँको व्यापार रहेको हो । साथै, कम्पनीले सन् २०२० मा ७ अर्ब ३८ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ ।
सन् १९९८ मा स्थापना भएको डाइनेस्टी इन्डस्ट्रिज नेपाल प्रालिको नाम परिवर्तन भई २०११ जुनमा अर्घाखाँची सिमेन्ट प्रालि भएको थियो । २०२१ जुलाईमा पब्लिक कम्पनी बनेपछि यसको नाम अर्घाखाँची सिमेन्ट लिमिटेड भएको हो । अर्घाखाँचीको वार्षिक जडित क्षमता १० लाख टन हो । सिमेन्ट कारखाना रुपन्देहीमा छ । यसले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीमा सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, मुरारका ग्रुपको ३० प्रतिशत, केडिया ग्रुपको १७.५ प्रतिशत र भारती कम्पनी उमा सिमेन्ट इन्टरनेसनलको १७.५ प्रतिशत लगानी छ ।
कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ४ अर्ब ६३ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ७८ करोड ३० लाख र अल्पकालीन कर्जाका लागि १ अर्ब ८४ करोड ९० लाख रुपैयाँको रेटिङ गराएको हो ।
रिद्धि सिद्धि सिमेन्ट
कम्पनीले सन् २०२३ मा ५ अर्ब ४९ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडका अनुसार यसको उक्त आम्दानी सन् २०२२ को तुलनामा १५.२७ प्रतिशतले कम हो । सन् २०२२ मा यस सिमेन्ट कम्पनीले ६ अर्ब ४८ करोड र सन् २०२१ मा ६ अर्ब ३७ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
यो सिमेन्ट कम्पनी सन् २०१३ मा स्थापना भएको हो । यसका शंकर र अम्बे समूहको सयुक्त लगानी छ । क्लिङकर र ग्राइन्डिङ युनिट क्षमता दैनिक २ हजार ७६० टन रहेको छ । हाल सिमेन्ट उत्पादनका लागि निर्मित क्लिंकरको ७० प्रतिशतभन्दा बढी प्रयोग गरिरहेको कम्पनीले जनाएको
यस कम्पनीले १० अर्ब ७७ करोड रुपैयाँ कर्जाका लागि रेटिङ पुनः पुष्टि गराएको छ । कम्पनीले लङ ट्रम ८ अर्ब ४२ करोड ४४ लाख रुपैयाँका लागि ‘आइआरएन बीबीबी माइनस’ र सर्ट ट्रम २ अर्ब ३४ करोड रुपैयाँ कर्जाका लागि ‘आइआरएन ए३’ रेटिङ पुन पुष्टि गरेको हो ।
मारुती सिमेन्ट
कम्पनीको सन् २०२२ तुलनामा सन् २०२३ मा ७२ करोड ७० लाख रुपैयाँको व्यापार गायब भएको छ । कम्पनीले सन् २०२३ मा ४ अर्ब २४ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन सन् २०२२ को भन्दा १४.७४ प्रतिशतले कम हो । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडका अनुसार कम्पनीले २०२२ मा ४ अर्ब ९७ करोड रुपैयाँ व्यापार गरेको थियो ।
कम्पनीले सन् २०२१ मा ६ अर्ब ८६ करोड, सन् २०२० मा ५ अर्ब ६३ करोड र सन् २०१९ मा ७ अर्ब ५० करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । पछिल्ला वर्ष कम्पनीको मुनाफा निरन्तर ओरालो लागि रहेको छ । कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा २७७ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ३७७ रुपैयाँमा शेयर निष्कासन गर्न अनुमति माग गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १ करोड १६ लाख कित्ता बराबरको कुल ३ अर्ब २१ करोड ३२ लाख रुपैयाँको आइपिओ निष्कासनको गर्नेछ ।
यसको दीर्घकालीन ३ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ कर्जाका लागि ‘केयर एनपी ए माइनस’ प्राप्त गरेको छ । यता, सर्ट ट्रेम कर्जा १ अर्ब ८९ करोड ८१ लाखका लागि ‘केयर एनपी ए २ प्लस’ रेटिङ प्राप्त गरेको हो ।
पाल्पा सिमेन्ट
कम्पनी सन् २०२३ मा ४ अर्ब १२ करोड ९० लाख रुपैयाँको आम्दानी गरेको हो । सन् २०२३ मा कम्पनीले गरेको आम्दानी सन् २०२३ को तुलनामा ८.१४ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२२ मा भने ३ अर्ब ८१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२१ मा ४ अर्ब ४४ करोड रुपैयाँको आम्दानी गरेको छ ।
चालु आर्थिक वर्ष ६ महिनामा १ अर्ब ८० करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २००९ मा स्थापित पाल्पा सिमेन्ट उद्योग लिमिटेड ग्रीनफिल्ड सिमेन्ट उत्पादन गर्ने इकाई हो । जसले २०१९ अप्रिलदेखि क्लिंकर र जनवरी २०२० बाट सिमेन्टको व्यावसायिक उत्पादन सुरु गरेको थियो । कम्पनीको प्लान्ट नवलपरासी जिल्लाको सुनवल नगरपालिकामा अवस्थित छ । इन्डस्ट्रिजले तानसेन सिमेन्ट उत्पादन गर्छ । पाल्पा सिमेन्ट आरएमसी ग्रुपको हिस्सा रहेको छ । आरएमसीले विगत दुई दशकदेखि निर्माण सामग्रीको बजारीकरण गर्दै आएको छ ।
यसले ७ अर्ब २७ करोड ४० लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले लङ ट्रम ५ अर्ब ५८ करोड ८० लाख रुपैयाँ कर्जाका लागि ‘इक्राएनपी एलबीबी’ र सर्ट ट्रम १ अर्ब ६८ करोड कर्जाका लागि ‘इक्रा इनपी ए४’ रेटिङ पुनः पुष्टि गरेको छ ।
सम्राट सिमेन्ट
कम्पनीले सन् २०२३ मा ३ अर्ब ३७ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ३०.७६ प्रतिशतले कम हो । सन् २०२२ मा कम्पनीले ४ अर्ब ८७ करोड ५० लाख रुपैयाँको आम्दानी गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ । कम्पनीले सन् २०२१ मा भने ३ अर्ब ७० करोड ४० लाख रुपैयाँको व्यापार गरेको देखिएको छ ।
सम्राट सिमेन्ट कम्पनी प्राइभेट लिमिटेड नेपालको दाङ जिल्लामा क्लिंकर ग्राइन्डिङ प्लान्ट स्थापना गर्न सन् २०१३ मा स्थापना भएको हो। यो पूर्व–पश्चिम राजमार्गबाट करिब २ किलोमिटर टाढा दाङको लमहीमा अवस्थित छ । यसको मुख्यालय अमीर भवन, कमलादी, काठमाडौंमा अवस्थित छ। कम्पनीले दाङ र रोल्पाका आफ्नै खानीमा प्रिमियम गुणस्तरको चुनढुङ्गा प्रयोग गरी साधारण पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) र पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पीपीसी) उत्पादन गर्दै आएको छ ।
यस कम्पनीले १२ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ पुष्टि गराएको छ । दीर्घकालिन १० अर्ब १४ करोड ४७ लाख रुपैयाँका लागि ‘केयर एनपी बीबी माइनस’ र अल्पकालिन २ अर्ब ३५ करोड रुपैयाँका लागि ‘केयर एनपी ए४’ रेटिङ पुनः पुष्टि गराएको हो ।
सप्तकोसी सिमेन्ट
एचआर गोयल ग्रुपले सञ्चालन गरिरहेको सप्तकोसी सिमेन्ट प्रालिको व्यापारले नयाँ फड्को मारेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२३ मा २ अर्ब ३५ करोड रुपैयाँको व्यापार गरेको हो । कम्पनीले गरेको व्यापार २०२२ को तुलनामा ३१.२१ प्रतिशतले बढी हो । सन् २०२२ मा कम्पनीले १ अर्ब ७९ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।सन् २०२१ मा सिमेन्ट बिक्रीबाट कम्पनीले २ अर्ब १ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। २०२० मा १ अर्ब ६७ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।
१९९६ मा मोरङ कटहरीमा स्थापना भएको उद्योगको सिमेन्ट उत्पादन क्षमता दैनिक ६ सय टन छ। उद्योगमा दुइटा सिमेन्ट प्लान्ट छ। उद्योगले २०१८ देखि व्यावसायिकरूपमा दोस्रो प्लान्टबाट सिमेन्ट उत्पादन थालेको हो। उद्योगले सप्तकोसी र नेसनल ब्रान्डमा ओपिसी र पिसिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। उद्योगको अध्यक्षमा आशिष गोयल छन्।
यसले १ अर्ब १२ करोड रुपैयाँ कर्जाका लागि रेटिङ पुनः पुष्टि गराएको छ । जसमध्ये ११ करोड १० लाखका लागि ‘केयर एनपीबीबी, सर्ट ट्रम ६० करोड ८७ लाखका लागि ‘केयर एनपी ४ र लङ ट्रम र सर्ट ट्रम ४० करोड कर्जाका लागि ‘केयर एनपी बीबी र ए४’ रेटिङ पुनः पुष्टि गरेको छ ।
भूगर्भ सिमेन्ट
भूगर्भ सिमेन्टले सन् २०२३ मा १ अर्ब २६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । यता, सन् २०२२ मा कम्पनीले १ अर्ब ४७ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ४२ करोड १० लाख रुपैयाँको सिमेन्ट बिक्री गरेको थियो । कम्पनीले पीपीसी र ओपीसी सिमेन्ट उत्पादन गर्ने गर्दछ । यस कम्पनीको उत्पादन क्षमता दैनिक ७ सय टन रहँदा क्लिंकर दैनिक ३ सय टन रहेको छ । कम्पनीको गएको जेठमा भएको विशेष साधारण सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव गरिएको थियो । जसमा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको हो ।
आइपीओ जारी गर्नेका लागि कम्पनीलाई केयर रेटिङ्स नेपालले एनपी बी इसुअर रेटिङ दिएको छ । १ अर्ब ४७ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी बी र ७७ करोड ८३ लाखको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पुनः पुष्टि पाएको छ।
विस २०८० असार ७ गते पब्लिक कम्पनीको रूपमा स्थापना भएको भूगर्भ सिमेन्टले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–०६ मा सिमेन्ट कारखाना सञ्चालन गरेको छ । त्यस्तै, ग्लोबल टेन्डरमार्फत अधिग्रहण गरी अर्घाखाँची जिल्लाको नरपानीरखाचीकोटमा चुनढुङ्गा खानी रहेको छ ।
अग्नी सिमेन्ट
निजी लगानीमा स्थापना भएको अग्नी सिमेन्ट इन्डस्ट्रिज प्राइभेट लिमिटेडको कारोबार घटेको छ । उद्योगले विभिन्न ब्रान्ड पीपीसी र ओपीसी सिमेन्ट बिक्रीबाट सन् २०२३ मा ७० करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । उक्त व्यापार सन् २०२२ को तुलनामा ४१.८५ प्रतिशतले कम हो । कम्पनीले सन् २०२२ मा १ अर्ब २१ करोड १६ लाख रुपैयाँ व्यापार गरेको थियो । एक वर्षको अवधिमा ५० करोड ९० लाख रुपैयाँ नाफा गायब भएको हो ।
अग्निले अन्य सिमेन्ट उत्पादकहरुबाट क्लिंकर खरिद गर्ने र भारतबाट स्ल्याग र अन्य कच्चापदार्थ आयात गर्दै आएको छ । सन् २००७ मा स्थापना भएको अग्निले पीपीसी र ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । एक दशकको अवधिमा कम्पनीले अग्नि, ओरियन्ट र त्रिदेव ब्रान्डको पीपीसी र अल्फा ओपीसी ब्रान्डको सिमेन्ट उत्पादन भइरहेको छ । ३१ जिल्लामा उद्योगको सिमेन्ट बिक्री हुने गरेको छ । उद्योगको अध्यक्ष कृष्णप्रसाद पोखरेल छन् । उनी शुभश्री अग्नि सिमेन्टका सञ्चालक पनि हुन् । ताराप्रसाद पोखरेल उद्योगको प्रबन्ध सञ्चालक रहेका छ्न् ।
नेपाल शालिमार सिमेन्ट
कम्पनीले सन् २०२३ मा १ अर्ब ९ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा ४६ प्रतिशत कम हो । सन् २०२२ मा यस कम्पनीले २ अर्ब ६ करोड ३० लाख, सन् २०२१ मा २ अर्ब ४५ करोड, सन् २०२० मा २ अर्ब २४ करोड ८० लाख र सन् २०१९ मा २ अर्ब ८५ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।
सन् २००३ अगस्टमा स्थापना भएको यो कम्पनी सिमेन्टको उत्पादन र बिक्रीमा संलग्न छ । कम्पनीले साधारण पोर्टल्यान्ट सिमेन्ट (ओपीसी) र पोजोलाना पोर्टल्यान्ड उत्पादन गर्दछ । यसको फ्याक्ट्री बारा जिल्लाको सिमरामा अवस्थित छ ।
शालिमारले १ अर्ब ५२ करोड बैंक कर्जाका लागि रेटिङ पुनः पुष्टि गराएको छ । जसमध्ये, लङ ट्रम कर्जा ७४ करोडका लागि ‘इक्राएनपी एलबी र सर्ट ट्रम ७८ करोड कर्जाका लागि ‘इक्राएनपी ए४’ रेटिङ पुनः पुष्टि गराएको हो ।