गाउँगाउँबाट कृषि एम्बुलेन्सले पोखरामा ल्याउँछ तरकारी
काठमाडौं । स्थानीय उत्पादनलाई उपभोग गर्न पोखरा महानगरपालिकाले पोखराका विभिन्न स्थानमा किसान बजार सञ्चालनमा ल्याएको छ । महानगरद्वारा गाउँघरमा उत्पादन भएका कृषि उपज बिक्रीका लागि बजारसम्म ल्याउन कृषि एम्बुलेन्सको प्रयोग गरिएको हो ।
कृषि एम्बुलेन्सले गाउँगाउँ पुगेर ल्याएको तरकारी बिक्रीका लागि महानगरले वडा नम्बर ७ को रत्नचोकमा सोमबारदेखि किसान बजार सञ्चालनमा ल्याइएको छ । कृषि एम्बुलेन्सले महानगरका ग्रामीण बस्तीमा उत्पादिन तरकारी निःशुल्क रूपमा बजारमा बिक्री वितरण गर्न सहयोग पुगेको छ । महानगरले गत वर्षदेखि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो ।
हाल पोखराका सात ठाउँमा सातामा एक दिन किसान बजार सञ्चानल हुने गरेको छ । तर माग बढ्दै गएपछि केही वडामा सातामा दुई दिन बजार सञ्चालन हुने गरेको छ । ग्रामीण भेगका साना किसानले उत्पादन गरेको कृषि उपज संकलन गर्न महानगरका २१ स्थानमा संकलन केन्द्र समेत स्थापना गरिएको छ । कृषि एम्बुलेन्सले ती संकलन केन्द्रमा पुगेर कृषि उपज बिक्रीका लागि बजारसम्म ल्याउने गरेको छ ।
किसान बजार र कृषि एम्बुलेन्सको सञ्चालनसँगै उपभोक्ताले घर नजिकैबाट विषादीरहित ताजा तरकारी उपभोग गर्न पाउँदा उपभोक्ता खुसी भएका छन् । कृषि एम्बुलेन्सको सञ्चालनले उत्पादन क्षेत्रदेखि बजारसम्म सुरक्षित ढुवानी, बजारीकरण र बिचौलियापनको अन्त्य, किसानलाई बजारसम्म तरकारी पुर्याउनुपर्ने झन्झटको अन्त्य, स्थानीय उत्पादनलाई प्रोत्साहन पुग्नुका साथै आम उपभोक्ताको घरघरमा ताजा र विषादीरहित तरकारीको उपलब्धतामा सहयोग पुगेको छ ।