एकैपटक २१ जना सचिवको सरुवा, अर्थमा राम प्रसाद घिमिरे

१५ श्रावण २०८१, मंगलवार ११:०९

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले एकैपटक २१ जना सचिवको सरुवा गरेको छ । बैठकले अर्थ, सञ्चार, उर्जा, संघीय मामिला, अख्तियार लगायतका अति महत्वपूर्ण मन्त्रालय र आयोगहरुमा सचिव परिवर्तन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेस–एमालेको संयुक्त सरकार बनेको दुई सातापछि सचिवहरु परिवर्तन गरिएको हो । मन्त्रिपरिषद्को निर्णय  अनुसार अर्थ सचिवमा रामप्रसाद घिमिरेलाई सरुवा गरिएको छ । उनी अर्थमा राजस्व सचिवको रुपमा कार्यरत थिए ।

राजस्व सचिवमा भने वाणिज्य मन्त्रालयबाट दिनेशकुमार घिमिरेलाई ल्याइएको छ । अर्थ सचिव मधु मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । सञ्चार सचिवमा उपराष्ट्रपति कार्यालयमा रहेकी राधिका अर्याललाई ल्याइएको छ । उनी पहिलो महिला सञ्चार सचिव बनेकी छन् ।

शक्तिशाली मन्त्रालयको रुपमा रहेको गृह मन्त्रालयमा एकनारायण अर्याललाई यथावत राखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द निरौलालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । संघीय मन्त्रालयमा भरतमणि सुवेदीलाई लगिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । उनी पूर्व अर्थ सचिव हुन् । भूमिका गोकर्णमणि दुवाडीलाई तथ्यांक कार्यालयमा सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रामेश्वर दंगाललाई रक्षा सचिवमा पठाइएको छ भने रक्षाका किरण शर्मालाई प्राकृतिका स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देललाई उर्जा मन्त्रालयमा सरुवा गरिएको छ भने उर्जा आयोगका केशवकुमार शर्मा बिडारीलाई भौतिक मन्त्रालयको सचिव बनाइएको छ । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई जल तथा उर्जा आयोगमा सरुवा गरिएको छ । नेपाल ट्रष्टमा रहेकी प्रमिलादेवी बज्राचार्यलाई खानेपानी मन्त्रालयको सचिवमा सरुवा गरिएको छ भने सतर्कता केन्द्रमा रहेका रामआधार साहलाई नेपाल ट्रष्टमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री कार्यालयमा रहेका नारायणप्रसाद दुवाडीलाई राष्ट्रपति कार्यालय पठाइएको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ । मधुसुधन बुर्लाकोटीलाई वाणिज्य सचिवमा सरुवा गरिएको छ । उनी प्राकृतिका स्रोत तथा वित्त आयोगमा थिए ।

लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । लोकसेवामा राष्ट्रपति कार्यालयबाट डिल्लीराम शर्मालाई पठाइएको छ भने श्रम तथा रोजगार मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई अख्तियारको सचिवमा पठाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*