ऋण मिनाहाको माग गर्दै फेरी चरणवद्ध आन्दोलन गर्ने लघुवित्त पीडितहरुको घोषणा

१४ श्रावण २०८१, सोमबार १६:५२

काठमाडौँ । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिले ३१ महिनादेखि संघर्षमा रहँदा पनि सरकारले समस्या समाधानको कुनै पहल नगरेको बताएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिका पदाधिकारीहरुले पीडितको मागप्रति सरकार गम्भीर बन्न नसकेको बताएका हुन् ।

वित्तीय शोषणका कारण एक हजार पाँच सयभन्दा धेरैले आत्महत्या गर्न बाध्य हुनुपरेको र लाखौं घरबारविहीन बनेको अवस्थामा समेत सरकार गम्भीर नबनेको भन्दै उनीहरुले आँधीबेहरी सिर्जना गर्नेगरी आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले अर्थतन्त्रभित्र रहेका विकृति र विसंगतिको अन्त्य, जनपक्षीय मौद्रिक नीति कायम गर्नुपर्ने, वित्तीय संस्थाहरुले लगाएको अन्यायपूर्ण ऋण मिनाहा गर्नुपर्ने, नीतिविपरीत काम गर्ने वित्तीय संस्थाहरु खारेज हुनुपर्ने, पीडितहरुको कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने, वित्तीय शोषणबाट पीडितहरुलाई मुआब्जाको व्यवस्था गर्नुपर्ने र गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने माग राखेका छन् ।

साथै, उनीहरुले संघर्षको कार्यक्रमसमेत घोषणा गरेका छन् । संघर्ष समितिको केन्द्रीय समिति बैठकले साउन १५ देखि ३० गतेसम्म सबै सम्बन्धित निकायहरुमा भेटघाट गर्ने, भदौ १ गतेदेखि देशभर वृहत दवाबमुलक कार्यक्रमहरु गर्ने, असोज १५ गतेसम्ममा देशभर जिल्ला भेलाहरु सम्पन्न गर्ने, कात्तिकदेखि लघुवित्त संस्थाहरुका कर्मचारीहरुलाई गाउँ प्रवेशमा रोक लगाउनेलगायतका संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, प्रथम राष्ट्रिय भेला आयोजक समितिका संयोजक रमेश तामाङले सरोकारवाला निकायसँग पटक–पटक वार्ता र छलफल हुँदा पनि पीडितको माग सम्बोधन नभएकाले अब सडक संघर्ष थाल्न बाध्य बनेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*