भदौ १५ गतेदेखि मुख्यसचिव पद रिक्त हुँदै, सचिवहरुको दौडधूप, को बन्दैछ नयाँ मुख्यसचिव ?

१४ श्रावण २०८१, सोमबार १०:३७

काठमाडौं । नेपालको इतिहासमा पहिलो पटक महिला मुख्य सचिव बनेकी लिलादेवी गड्तौलाले लामो समय काम गर्न पाउँदिनन् । ५८ वर्षे उमेर अवधीका कारण आगामी भदौ १४ गतेदेखि अनिवार्य अवकासमा जाँदैछिन् ।

सो आधारमा आगामी भदौ १५ गतेबाट मुख्य सचिव पद रिक्त हुनेछ । नयाँ मुख्य सचिव को बन्ने भनेर दौडधूप सुरु भएको छ । भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएपछि मुख्यसचिव वैकुण्ठ अर्याल निलम्बनमा परेपछि रिक्त पदमा सरकारले नयाँ मुख्य सचिवको रुपमा गड्तौलालाई नियुक्त गरेको हो । उनको पदावधी भदौं १४ गतेदेखि सकिने भएपछि नयाँ मुख्य सचिवका लागि सचिवहरुको दौडधूप सुरु भएको हो ।

नेपाल सरकारको मुख्य सचिव नियुक्ती सम्बन्धी मापदण्ड अनुसार बरिष्ठका आधारमा गर्ने भन्ने प्रचलन रहेको छ । ‘राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव पदमा बढुवा गर्दा बहालवाला सचिवमध्येबाट सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्नेछ ।’ निजामती सेवा ऐन २०४८ को दफा १८ उपदफा २ को ‘क’ मा उल्लेख छ ।

तोयानारायण ज्ञवालीको सचिवको कार्यकाल आगामी भदौ २२ गते पूरा हुनेछ । यदि मुख्य सचिव भएनन् भने सोही दिन उनको विदाई हुनेछ । २०२५ साल फागुन २६ गते जन्मिएका ज्ञवाली यदि मुख्यसचिव नियुक्त भइहालेमा २०८३ साल फागुन २६ गतेसम्म मुख्यसचिव बन्न सक्नेछन् । यद्यपि कांग्रेसी पृष्ठभूमिका ज्ञवाली बरिष्ठ भएर पनि मुख्य सचिव हुन अलिगाह्रै रहेको राजनीतिक बृत्तमा चर्चा छ ।

दोस्रो वरिष्ठ सचिव रामकृष्ण सुबेदी हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेका सुवेदी आगामी कात्तिक ५ गते उनको सचिवको पाँच वर्षे कार्यकाल पूरा हुन्छ । २०२५ पुस १५ गते जन्मिएका सुवेदी मुख्यसचिव नियुक्त भएमा २०८३ पुस १५ गते अर्थात २ वर्ष जति मुख्य सचिव हुन पाउँछन् । पछिल्लो समय पूर्व सञ्चार मन्त्री रेखा शर्मासँग मिलेर घुस सेटिङमा नेपाल दुर सञ्चार प्राधिकरणमा भ्रष्ट पृष्ठभूमिका दामोदर भण्डारीलाई नियुक्त गराउन भूमिका खेलेकोले उनको मुख्य सचिव हुने सम्भावना छैन ।

बरिष्ठताको सूचिमा तेस्रो नम्बरमा रहेका दिनेश भट्टराई मुख्यसचिवका प्रवल दाबेदार मान्न सकिन्छ । हालसम्मको जानकारी अनुसार भट्टराई मुख्य सचिव बन्ने लगभग पक्का जस्तै भएको छ । यद्यपि यस बीचमा केही माफियाले आफ्ना एजेन्टलाई मुख्य सचिव बनाउने योजना असफल भएमा मात्रै भट्टराई मुख्य सचिव बन्नेछन् । केही माफियाहरुले आफू अनुकूलको मुख्य सचिव बनाउन कम्मर कसेर लागेकोले माफियाकै कारण बिग्रेको अवस्थामा बाहेक भट्टराई मुख्य सचिव हुने लगभग निश्चित जस्तै छ । पूर्वी नेपालको तेह्रथुममै जन्मिएर बिराटनगर झरेका भट्टराईसँग प्रम ओलीको ट्युनिङ समेत मिल्ने भएकोले पनि मुख्य सचिवको सम्भावना बढि रहेको हो ।

हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा रहेका भट्टराई आगामी माघ १० गते सचिवको ५ वर्षे कार्यकाल पूरा हुँदैछ । भट्टराईको जन्ममिति २०२७ पुस ११ गते हो । सो आधारमा उनले मुख्यसचिवको ३ वर्षे पूरै कार्यकाल पूरा गर्नेछन् । यदि सचिवबाटै अनिवार्य अवकाशमा जानुपर्ने अवस्था आएमा उनी ५४ वर्षकै उमेरमा अनिवार्य अवकाशमा जानेछन् ।

सचिव भट्टराई यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए । सहसचिवबाट सचिवमा बढुवा भइसकेपछि उनको पदस्थापन कोशी प्रदेशको प्रमुख सचिवमा भएको थियो ।

बरिष्ठ सचिवहरुको सूचिमा चौथोमा एकनारायण अर्याल छन् । २०२४ मंसिर १० मा जन्मिएका अर्याल हाल गृहमन्त्रालयमा सचिव छन् । विषयवस्तुहरुको ज्ञान पर्याप्त भएका अर्याल पनि मुख्यसचिवका दाबेदार हुन् । अर्याल पनि एमाले निकटका सचिवभित्र पर्दछन् । अर्यालको ५ वर्षे सचिवको कार्यकाल भने आगामी फागुन १८ गते सकिन्छ । अर्याल अन्य सचिवहरुको तुलनामा कडा स्वभाव र तिक्ष्ण बुद्धिका भएकोले ओलीले बैकल्पिक उम्मेदवारको रुपमा राखिराखेको बताइन्छ ।

मुख्य सचिव बन्ने खेलमा अर्का सचिव कृष्णहरि पुस्कर पनि सक्रिय भएर लागेका छन् । बरिष्ठतामा उनी निकै तल भएपनि प्रधानमन्त्री ओलीलाई खुशी बनाएर मुख्य सचिव बन्ने दौडमा सहभागी छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*