मौद्रिक नीतिमा लचकताः ब्याजदर घटाउने, कर्जा प्रवाह बढाउने

११ श्रावण २०८१, शुक्रबार १४:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ब्याजदर थप घटाउने गरी मौद्रिक नीति ल्याएको छ।

बैंकको नीतिगत दरहरुलाई घटाएर बैंकहरुलाई ब्याजदर घटाउन थप प्रोत्साहन गरेको छ।नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत कायम गरेको छ । यस्तै नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गरिएको छ।ब्याजदर कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३ प्रतिशतको निक्षेप संकलन  दरलाई भने यथावत राखिएको छ ।

बैंकले नीतिगत दरहरु घटाउदा यसले बैंकहरुलाई पनि ब्याजदर घटाउन थप प्रोत्साहन गर्ने छ। पछिल्लो समय बैंकहरुको ब्याजदर निरन्तर घट्दो क्रममा छ।अर्कोतर्फ केन्द्रीय बैंकले कर्जा विस्तारको लक्ष्यलाई बढाउदै बैंकहरुको कर्जा लगानीमा थप लचकता अपनाएको छ। राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्यलाई बढाएर १२.५ प्रतिशत पुर्याएको छ। गत वर्ष यस्तो लक्ष्य ११.५ प्रतिशत थियो।

राष्ट्र बैंकले कर्जा विस्तारको लागि बैंकहरुको कर्जा लगानी गर्नसक्ने क्षमता बढाउनेगरी नीति ल्याएको छ। बैंकहरुको पूँजीकोष बढाउने र बैंकहरुलाई कर्जा लगानी गर्न सहज हुने नीति ल्याएको छ।

अहिले बैंकहरुसँग ६र७ अर्ब लगानी गर्ने पैसा भएपनि त्यो सबै कर्जा पूँजीकोषको कारणले पनि लगानी गर्न नसक्ने अवस्था रहेकोले बैंकहरुको पूँजीकोष सहज हुनेगरी मौद्रिक नीति ल्याएको गभर्नर महाप्रसाद अधिकारीले बताए।

राष्ट्र बैंकले पूँजीकोष बढाउन असल कर्जाको प्रोभिजनिङ घटाउने, विद्यमान रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमालाई २ करोडबाट बढाएर अधिकतम रु २ करोड ५० लाख कायम गर्ने, पूँजीकोष बढाउन नयाँ उपकरण प्रयोगमा ल्याउने लगायतको घोषणा गरेको छ।

अर्कोतर्फ राष्ट्र बैंकले कर्जा लगानी बढाउन यसअघि कडाइ गरिएका अधिकाँश नीतिहरुमा लचक बनेको छ। केन्द्रीय बैंकले चालु पूँजी कर्जा, शेयर धितो कर्जा, घरजग्गा कर्जा लगायतमा समेत लचिलो व्यवस्था गरेको छ।

चालुपुँजी कर्जा मार्गदर्शनमा उल्लेखित भेरियन्स एनालाइसिस गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्थालाई २०८२ साउन १ गतेबाट लागु हुने गरी समयावधि थप गरिने केन्द्रीय बैंकले जनाएको छ। चालु पूँजी कर्जामा कडाई गर्दा कर्जा लगानी बढ्न नसकेको व्यवसायीहरुले बताउदै आएका थिए। यसै कारण केन्द्रीय बैंकले त्यसमा केहि लचकता अपनाएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*