जहाज नियन्त्रण बाहिर गएपछि कन्ट्रोल गर्न सकिनः क्याप्टेन मनिष शाक्य

१० श्रावण २०८१, बिहीबार १४:४०

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको छ ।

बिहीबार बिहान केएमसीकी मेडिकल डाइरेक्टर डा. मिना थापासँग क्याप्टेन शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको बताएका थिए ।

‘करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ । तल खस्न थाल्यो,’ शाक्यको भनाइ उद्धृत गर्दै डा. थापाले भनिन्, ‘त्यसपछि जहाज मेरो नियन्त्रणमा भएन ।’

‘एकैपल्ट थिचिएको जस्तो अनुभव भयो । सानो प्वालबाट आफैं बाहिर निस्किएँ । त्यसबाट नस्किन लाग्दा कसैले मलाई तानेको याद छ,’ उनले घटनाबारे आफ्नो सम्झना सुनाएका थिए ।

अस्पतालका अनुसार क्याप्टेन शाक्यको शरीरका विभिन्न भागमा चोटपटक लागेका हुनाले हाडजोर्नी विशेषज्ञ, न्यूरोसर्जन, नाक, कान घाँटी लगायत विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच गरिरहेका छन् ।

आज दिउँसो विज्ञप्ति निकालेरै दुर्घटनामा घाइते भई उपचाररत क्याप्टेन शाक्यको अवस्थाबारे काठमाडौं मेडिकल कलेजले जानकारी गराएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट जहाज उडाएर ५०(१०० फिटमाथि पुर्‍याएपछि आफूले नियन्त्रण गर्न नसकेको क्याप्टेन शाक्‍यको भनाइ छ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा उडेको जहाज केहीबेरमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो। जहाज दुर्घटनामा परेर १७ जना नेपाली र एक जना विदेशीको निधन भएको थियो भने क्याप्टेन शाक्य घाइते भएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*