लघु बीमक संघले भेटे अर्थमन्त्री, स्थानीय तहमार्फत अनिवार्य लघु जीवन बीमा ब्यवस्थादेखि कर छुटको माग

१० श्रावण २०८१, बिहीबार १४:२०

काठमाडौँ । नेपाल लघु बीमक संघले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई ६ बुँदे सुझाव पेश गरेको छ । अध्यक्ष चिरायु भण्डारीसहितको संघको टोलिले अर्थमन्त्री पौडेलसँग भेट गरी लघुबीमालाई सफल बनाउने सुझाव पेश गरेको हो ।

संघले परिवारको आर्थिक जिम्मेवारि वहन गर्दै ज्याला मजदुरी गर्दै आय आर्जन गर्ने न्यून आय भएका सिमान्तकृत वर्ग, विपन्न वर्गलाई स्थानीय निकाय मार्फत अनिवार्य रुपमा लघु जीवन बीमाको ब्यवस्था भए उचित हुने सुझाव दिएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरि संचालित लघु वित्त वित्तिय संस्था मार्फत प्रदान गरिने सहुलियत पूर्ण कर्जाको सुरक्षणका लागि लघु बीमा कम्पनी मार्फत ऋणीको लघु जीवन बीमा तथा सम्पत्तिको सुरक्षणका लागि लघु निर्जीवन बीमा कम्पनी मार्फत बीमाको ब्यवस्था गर्नुपर्ने माग समेत अर्थमन्त्रीसँग राखेको अध्यक्ष भण्डारीले बताए ।

साथै, लघु जीवन तथा निर्जीवन बीमाको लागि स्थाीनय निकाय मार्फत अनुदानको व्यवस्था गरिनु पर्ने, दैविय प्रकोप (बाढि, पहिरो, भुकम्प आदी) बाट निम्न आय भएका विपन्न वर्गहरु बस्ती एवं निजी वासस्थानको क्षति हुने गरेकाले ५० लाख रुपैयाँ भन्दा कम मूल्यको घरहरुको स्थानीय निकाय मार्फत अनिवार्य लघु बीमाको ब्यवस्था गरि जोखिम ब्यवस्थापनलाई सहजीकरण गर्नु पर्ने संघको माग छ ।

त्यस्तैगरी, संघले अर्थमन्त्री पौडेललाई निम्न आय भएका विपन्न वर्गको सम्पत्ति सुरक्षणका लागि गरिने लघु निर्जीवन बीमामा मूल्य अभिवृद्धि कर छुटाउनु पर्ने र लघु बीमा कम्पनीहरु देशका दुरदराजमा आफ्ना कार्यालय सञ्चालन गरि विपन्न वर्गहरुमा सेवा पुप्याउनु पर्ने हुनाले स्थानीय निकायबाट लिइने करको छुट ब्यवस्था हुनु पर्ने माग राखेको छ ।

संघको सुझावपछि अर्थमन्त्री पौडेलले लघु जीवन बीमा कम्पनीमा रहेका समस्या समाधान गर्ने आफु तयार रहेको बताएका छन् । पौडेलले लघुबीमा देखिएको समस्या र समस्या समाधानका विषयमा छलफल गरेर सकारात्मक निष्कर्ष दिने तर्क राखेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*