बाँसबारीस्थित चौधरी ग्रुपले कब्जा गरेको एक अर्ब मूल्यका १० रोपनी जग्गा सरकारको नाममा फिर्ता
काठमाडौँ । चौधरी ग्रुपले हडपेको तत्काली बाँसबारी छालाजुक्ता कारखानाको एक अर्ब रुपैयाँको १० रोपनी जग्गा नेपाल सरकारको नाममा कायम भएको छ । सिजी चाँदबाग रेसिडेण्सी प्रालिको नाममा रहेको जग्गालाई नेपाल सरकारको नाममा ल्याएको मालपोत कार्यालय डिल्लीबजारले जनाएको हो ।
मालपोत ऐनको दफा २०३४ को दफा २४ मा भएको व्यवस्थाअनुसार जग्गालाई नेपाल सरकारको नाममा स्वःत कायम गरिएको जनाइएको छ । तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेड हुँदै अहिले चौधरीको स्वामित्व रहेको सिजी चाँदबाग रेसिडेण्सीमा पुगेको हो । गत चैत १३ गते पुर्जा बनेको थियो ।
उक्त प्रकरणमा गत फागुन १८ गते सीआईबीले सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर, सञ्चालक अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो । जग्गाका विषयमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीसँग बिहीबार सिआईबीले बयान लिएको थियो ।