गुणस्तरहीन खाद्य बिक्री गर्ने ३८ उद्योगविरुद्ध मुद्दा, पाँच वर्ष कैद हुने
१० श्रावण २०८१, बिहीबार १२:४५
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर नियमनका क्रममा यहाँका ३८ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा खाद्य ऐनविरुद्ध गुणस्तरहीन खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ३८ उद्योगविरुद्ध मुद्दा दायर गरेको हो ।
उक्त कार्यालयका प्रमुख ज्योति आचार्यका अनुसार ७७ उद्योगको अनुगमनपछि सङ्कलन गरिएको नमूना परीक्षणबाट ३८ उद्योगले गुणस्तरहीन वस्तु उत्पादन गरेका पाइएको हो । खाद्य ऐन २०२३ बमोजिम दूषित र न्यूनस्तर खाद्य पदार्थ उत्पादन, बिक्री वितरण गर्ने व्यवसायलाई पाँच वर्ष कैद वा रु ५० हजार जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।