आइपीओ जारी गर्ने तयारीमा रहेको भूगर्भ सिमेन्टले ११ महिना गर्‍यो एक अर्ब ४३ करोडको व्यापार

१० श्रावण २०८१, बिहीबार ११:४६

काठमाडौँ । आइपीओ निष्कासन गर्ने तयारीमा रहेको भूगर्भ सिमेन्टले ११ महिनामा नै करिब साढे १ अर्बको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार सिमेन्टको बिक्री बढ्दा सन् २०२३।०२४ को ११ महिनामा कम्पनीले १ अर्ब ४३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२२।०२३ मा १ अर्ब २६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । यता, सन्२०२१।०२२ मा कम्पनीले १ अर्ब ४७ करोड ९० लाख रुपैयाँ र सन् २०२०।०२१ मा १ अर्ब ४२ करोड १० लाख रुपैयाँको सिमेन्ट बिक्री गरेको थियो । कम्पनीले पीपीसी र ओपीसी सिमेन्ट उत्पादन गर्ने गर्दछ । यस कम्पनीको उत्पादन क्षमता दैनिक ७ सय टन रहँदा क्लिंकर दैनिक ३ सय टन रहेको छ । कम्पनीको गएको जेठमा भएको विशेष साधारण सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव गरिएको थियो । जसमा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको हो ।

आइपीओ जारी गर्नेका लागि कम्पनीलाई केयर रेटिङ्स नेपालले एनपी बी इसुअर रेटिङ दिएको छ । १ अर्ब ४७ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी बी र ७७ करोड ८३ लाखको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पुनः पुष्टि पाएको छ।

विस २०८० असार ७ गते पब्लिक कम्पनीको रूपमा स्थापना भएको भूगर्भ सिमेन्टले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–०६ मा सिमेन्ट कारखाना सञ्चालन गरेको छ । त्यस्तै, ग्लोबल टेन्डरमार्फत अधिग्रहण गरी अर्घाखाँची जिल्लाको नरपानीरखाचीकोटमा चुनढुङ्गा खानी रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*