….. अनि दाहिने पखेटा भुइमा जोतिदै कन्टेनरमा ठोक्किएर सौर्य एयरलाइन्सको जहाज दुई टुक्रा भयो, आगोको मुस्लोसँगै बिलाए यात्रु

९ श्रावण २०८१, बुधबार १४:५६

काठमाडौं । आज विहान ११ः१३ बजे काठमाडौंस्थित विमानस्थलमा उडान भर्ने क्रममा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । बीमापोष्टले केही भिडियो विश्लेषणको क्रममा जहाजको दाहिने इन्जिन फेल भएको र उचाई कम भएकोले पाइलटले म्यानेज गर्न नसकिएको हुनसक्ने तथ्य देखिएको छ ।

एक महिनादेखि सौर्य एयरलाइन्सको सिआरजे जहाज पोखरा लागेर सि चेक गर्ने तयारी भइरहेको थियो । काठमाडौंमा बुद्ध एयरको मात्रै ह्याङ्गर भएकोले अन्य जहाजलाई सिचेकका लागि राजधानी बाहिर लैजानुपर्ने बाध्यता छ । सौर्य एयरलाइन्सको काठमाडौं पोखरा रुटमा उडान गर्दैन । जहाजको इन्जिन तथा अन्य सम्पूर्ण (सि) चेकका लागि पोखरा लैजान नागरिक उड्डयन प्राधिकरणमा अनुमति मागेको थियो ।

हिजो मात्रै अनुमति दिएकोले आज विहानै उडान गर्ने तयारी भयो । सो अनुसार जहाज रित्तै जानुको साटो कर्मचारी तथा उनीहरुका परिवारलाई लैजान दिने अनुमति सौर्य एयरलाइन्सको व्यवस्थापनले दियो । सो अनुसार कम्पनीमा कार्यरत कर्मचारी तथा उनीहरुको परिवार समेतका लागि भनेर विमानस्थल र क्यानसँग अनुमति लिएरै आज विहान पोखराका लागि उडान भरिएको थियो ।

सामान्यजस्तै त्रिभुवन विमानस्थलको ०२ तर्फको धानवमार्गहुँदै धावनमार्गको २० तर्फबाट अघि बढेर टेक अफ लिइएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलको तीन हजार मिटर लामो धावनमार्गमा सिआरजे ७ का लागि जम्मा १६०० मिटर टेकअफका लागि पर्याप्त हुन्छ । सो अनुसार नियमित धावनमार्ग नै प्रयोग गरेर टेकअफ गरेको थियो । विहान ११ः११ बजे धावनमार्गमा छिरेको जहाज ११ः१३ बजे धावनमार्गभन्दा करिब २०० मिटर माथि आकाशमा पुगेपछि दाहिने पखेटातर्फ सन्तुलन गुमाएको थियो ।

धावनमार्गमाथि हुँदै बौद्धतर्फको आकाश ताकेर जानुपर्ने जहाज अब विस्तारै पावर, उचाई र सन्तुलन गुमाउँदै काँडाघारीतर्फ गइरहेको थियो । विहान ११ः१३ बजे जहाज बुद्धएयरको ह्याङ्गर अगाडिको पुरानो १६–३४ धावनमार्गलाई क्रस गरेर हेलिप्याड हुँदै अघि बढेको थियो । करिब २०० मिटरबाट तल झर्दै गरेको जहाज सिधैं जमिनमा बजारिएको नभई सुरुमा दाहिने पखेटा जमिनमा घिस्रिदै काँडाघारीतर्फ अघि बढेको थियो । तर, हेलिप्याडको छेउमा रहेको फलामको कन्टेनरसँग ठोक्किन पुगेपछि जहाजमा आगो लाग्न पुग्यो भने दुई टुक्रा भएर भाँच्चिन पुग्यो । स्थानीय प्रत्यक्षदर्शीहरुका अनुसार जहाजबाट इन्धन लिक भएकेकोले होला तल कन्टेनरमा पुग्ने वित्तिकै भिषण आगोको मुस्लो निस्कियो । ११ः१३ बजेदेखि आगो लाग्न थालेको जहाजका बाँकी अवशेषलाई विमानस्थलमै रहेको दमकल टोलीले विहान ११ः४० बजे बल्ल नियन्त्रणमा लिन सफल भएका थिए । त्यतिबेला सम्म १८ जनाको ज्यान गइसकेको थियो भने जहाजका केही टुक्रा बाहेक सबै खरानी भइसकेको थिए ।

 

जमिनमा पखेटा धसारिएको कारण जहाजको गति धेरै कम भएपछि आगो लागीका कारण धेरै यात्रुको निधन भएको प्रारम्भिक विश्लेषण गरिएको छ ।

धावनमार्गबाट टेकअफ गरिसकेपछि बायाँतर्फ मोडिनुपर्ने जहाज दाहिनेतर्फ मोडिएकोले जहाज टेकअफ लगत्तै दाहिने इन्जिन फेल भएको अनुमान गरिएको छ । हवाई विज्ञहरुका अनुसार जहाजमा दाहिने इन्जिन फेल भएको हुनसक्ने सम्भावना धेरै छ । तर, एउटा इन्जिन फेल हुँदैमा सामान्यतया जहाज दुर्घटनामा पर्दैछनन् । पाइलटहरुलाई कैयौं पटक एउटा मात्रै इन्जिनको भरमा उडान र अवतरण सम्बन्धी तालिम दिइएको हुन्छ । जहाजले निर्धातिर दुरी अर्थात छोटो दुरीमा नै टेकअफ गरेकोले जमिनमा हुँदासम्म जहाजमा कुनै समस्या थिएन भन्ने तथ्यले देखाउँछ । तर, आकाशमा त्यति छोटो समयमा कसरी समस्या उत्पन्न भयो भन्ने थप तथ्यहरु खोज्न बाँकी छ ।

प्राविधिक रुपमा परिक्षण गर्न लगिएको जहाजमा उडाउनु अघि नै इन्जिनमा भने समस्या थिएन । सामान्यतया प्राविधिक उडानको लागि पाँच जना मात्रै यात्रु राख्नुपर्नेमा १७ जना यात्रु किन राखियो अर्को प्रश्न उठेको छ । स्रोतका अनुसार सि चेक आफैमा समास्या नभई सामान्य अवस्थामा उडान गर्दागर्दै नियमित र तालिका अनुसारको चेकअप मात्रै भएकोले सोही कारण दुर्घटना भएको भने होइन । प्राविधिक समस्या हो वा मानवीय त्रुटी यसको विस्तृत विवरण भने अध्ययन प्रतिवेदनमा आउने छ ।

 

बायाँतर्फ माथिको कुनाबाट हेर्नुहोला ।

 

निधन भएका यात्रु तथा चालक दलका सदस्यहरुको नामावली

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*