कर्मचारी विवादका कारण नेरुडे मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालयमा तालाबन्दी, आन्दोलनले उग्ररुप लिँदै

९ श्रावण २०८१, बुधबार ११:२०

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारीमाथि कम्पनीले चरणबद्ध र नियोजित तवरले अन्याय गर्दै आएको छ । आन्दोलित कर्मचारीलाई साउन ८ गते वार्ताको लागि केन्द्रीय कार्यालयमा बोलाएर वार्ता विना नै रित्तो हात फर्काउने षड्यन्त्र उच्च व्यवस्थापकहरूले गरेका हुन् ।

कम्पनीले आन्दोलित कर्मचारीको माग सम्बोधनमा कुनै ईच्छा प्रकट नगरेको र उल्टै लगातार धोका दिँदै आएपश्चात् कर्मचारीले आज बिहान कम्पनीको केन्द्रीय कार्यालय बनेपामा पनि ताल्चा लगाइदिएका छन् । कर्मचारीले आफ्नो माग सम्बोधन नभएसम्म कुनै पनि काम कारबाही अगाडि बढ्न नदिने कम्पनीका सीईओ बस्याल सहितका व्यवस्थापकलाई चेतावनी समेत दिएका छन् ।

कम्पनीको व्यवस्थापक समूहले कर्मचारीको माग सम्बोधन गर्छौं भन्दै वार्ताका लागि बोलाएर पनि वार्तामा बस्न नमानेको केन्द्रीय कार्यालयमा आन्दोलनरत एक कर्मचारीले बीमापोष्टलाई बताए । उनले भने, ‘हाम्रो आन्दोलनको मागहरू पूरा गर्छौं भन्दै वार्ताको लागि बोलाइएको छ । तर, यति समय बितिसक्दा पनि अहिले आएर वार्तामा नबसेर रित्तो हात फर्काउने तयारी सीईओ भोजराज बस्यालसहितको व्यवस्थापकले गरेको छ।’

संगठनका अध्यक्ष रोशन बुढाथोकीले कर्मचारीको मागलाई बेवास्ता गरेको भन्दै अबको आन्दोलनको अग्रपंक्तीमा कर्मचारी संगठन रहेको बताएका छन् । केन्द्र व्यवस्थापक पदमा कार्यरत कर्मचारीहरूले साउन ६ गते केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र पठाएका थिए । केन्द्रीय कार्यालयले उक्त पत्रको सुनुवाई नगरेपछि साउन ७ गतेदेखि देशभरका कार्यालयहरू बन्द गरिदिएका हुन् ।

साबिक मिर्मिरे लघुवित्तका कर्मचारीहरूले आज पनि बिहानदेखि नै आन्दोलन जारी राखेका छन् । उनीहरूले देशका विभिन्न स्थानमा रहेका शाखा कार्यालयहरूमा ताला लगाउँदै आन्दोलनलाई निरन्तरता दिएका छन् ।

कर्मचारीले मर्जरमा भएको सहमति लागू गर्नुको सट्टा अनावश्यक रूपमा केन्द्र व्यवस्थापक पद किन सिर्जना गरेको भन्दै सीईओ बस्यालसहितका व्यवस्थापकप्रति आक्रोश व्यक्त गरेका छन् ।

आन्दोलित कर्मचारीले केन्द्र व्यवस्थापक पद खारेज गरी कनिष्ठ सहायकमा बढुवा गर्नुपर्ने मागसहित देशभरका शाखामा तालाबन्दी गरेका छन् । हाल अधिकांश क्षेत्रका बचतकर्ताहरू भने कर्मचारी र व्यवस्थापकबीचको द्वन्दले मारमा परेका छन् ।

 

यो पनि पढ्नुहोस् :

मर्जरपछि नेरुडे मिर्मिरे लघुवित्तमा लफडा, साविक मिर्मिरेका कर्मचारीको पद घटाइयो, के भन्छन् सीईओ ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*