आँखुखोला जलविद्युतले साउन २७ गतेदेखि हकप्रद निष्काशन गर्ने

९ श्रावण २०८१, बुधबार ०७:२१

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेदेखि १५० प्रतिशत अर्थात १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता शेयरका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले  १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यी हकप्रद शेयर खरीदका लागि भदौ १६ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले साउन १ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार ३१ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् । हकप्रद शेयर निष्काशन पश्चात यस कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ कायम हुनेछ ।

कम्पनको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।

हकप्रद शेयर निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*