१२ करोडको सीमा हटाउने चर्चाले उचालिएको शेयर बजार, साँच्चै हटाउनै लागेको हो त ?

८ श्रावण २०८१, मंगलवार १८:१४

काठमाडौँ । नयाँ सरकार बनेदेखि उचालिएको शेयर बजार हिजो केही सुस्त भएपनि आज फेरि उचालिएको छ । ‘पर्ख र हेर’ को अवस्थामा रहेका शेयर लगानीकर्तामा मंगलबार उत्साहको माहोल सिर्जना हुनुको पछाडि नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा १२ करोडबाट पूर्ण रुपमा खुकुलो बनाउने विषय मुख्य रुपमा जिम्मेवार रह्यो । लगानीकर्तामा आएको रौनकको कारण हो मौद्रिक नीति खुकुलो आउने संकेतकै कारण हो । तर, के साँच्चै मौद्रिक नीति खुकुलो हुन लागेको हो त ?

गत शुक्रबार सार्वजनिक गर्न तमतयार पारिएको मौद्रिक नीति छाँया अर्थमन्त्री अर्थात् प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाकार डा. युवराज खतिवडाको इन्ट्रिले रोकियो । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई बिफ्रिङ गरी सकेका थिए । अर्थमन्त्रालयबाट सकारात्मक संकेत पाइसकेका गर्भनरलाई शुक्रबार नै प्रधानमन्त्रीको आर्थिक सल्लाकार नियुक्त भएका खतिवडाले मौद्रिक नीतिमा हेरबिचार गर्नुपर्ने तर्क राख्दै तत्काललाई रोक्न निर्देशन दिए । अहिले खतिवडाले मौद्रिक नीतिमा हेरबिचार गरी रहेका छन् ।

मौद्रिक नीति हेरिरहेका खतिवडाले सोमबार कान्तिपुर टेलिभिजनको फायरसाइड कार्यक्रममा बोल्दै मौद्रिक नीति खुकुलो आउने संकेत गरेका छन् । उनले सो कार्यक्रममा राष्ट्र बैंकले शेयर बजारमा लिएका नीति कडा भएको र सो आवश्यक नभएको बताएका छन् । ‘राष्ट्र बैंकले चालुपुँजी कर्जा, आयात ब्यवस्थापन र कर्जाको जोखिम ब्यवस्थापन गर्ने कडा नीति ल्यायो जुुन आवश्यक छैन’ उनले भने, ‘राष्ट्र बैंकले बैंक वित्त संस्थाले कता लगानी गर्नुपर्छ भनोर अर्का नियमनकारी क्षेत्रको दायरामा गएर शेयर बजार शेयर बजारको बारेमा धेरै चासो राख्नु जरुरी छैन ।’ यसको अर्थ शेयर बजार सम्बन्धी केन्द्रीय बैंकले लगाएको रोक अब हट्ने स्पष्ट संकेत उक्त अन्तर्वातामा सुन्न सकिन्छ ।

बैंकहरुको भएको पुँजीकरण बढाउने होइन र भएको पुँजीको सदुपयोग गर्ने तिर राष्ट्र बैंक लाग्नु पर्ने उनले बताएका छन् । मौद्रिक नीति कठोर नै रहेको भन्दै अब खुकुलो आउनुपर्ने खतिवडाले बताए । साथै उनले केन्द्रीय बैंकले बढि नै औजार प्रयोग गरेको समेत स्पष्ट उल्लेख गरेका छन् । यसको अर्थ अब धेरै कुराहरु खुकुलो हुनेछ ।
यद्यापी, मौद्रिक नीति मार्फत के के सुधार नीतिगत सुधार हुन्छ त्यो आइसकेपछि थाहा हुने छ । कुनै समय अर्थमन्त्री हुँदा शेयर बजार अनुउत्पादन क्षेत्र भन्ने खतिवडाले मौद्रिक नीति हेरफेर गर्ने भनेपनि शेयर लगानीकर्ता कसिलो नीति आउँछ कि भन्ने डरमा रहेका थिए । तर, सोहि टेलिभिजन कार्यक्रममा उनले दिएको अभिब्यक्तिले शेयर बजारका लगानीकर्तामा उत्साह आएको छ ।

प्राप्त सूचना अनुसार १२ करोडको सीमा हटाउने चर्चा मंगलबार दिनभरि नै चलेको छ । सोही कारण ह्वात्तै उचालिएको शेयर सो सीमा हटाउने वित्तिकै अझै माथि पुग्ने भन्दै बजारमा चर्चा सुरु भएको छ । पूर्व गभर्नर तथा पूर्व अर्थमन्त्री समेत डा. खतिवडाको अन्तर्वातामा अन्तरनिहित १२ करोडको सीमा हटाउन महाप्रसाद अधिकारी तयार छन् वा छैनन् त्यो अहिले नै भन्न सकिने अवस्था भने छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*