भारतिय बजारमा नेपाली सिमेन्टको दबदबा, किन छैनन् निर्यातको आँकडामा उद्योगिहरु सन्तुष्ट ?

दिपक विष्ट
८ श्रावण २०८१, मंगलवार १५:३७

काठमाडौँ । नेपालमा उत्पादन भएका सिमेन्टहरुले अन्र्तराष्ट्रिय बजारमा आफ्नो दबदबा बनाउँदै गएका छन् । देशभित्र सिमेन्टको मागमा आएको कमीको कारणले उत्पादन घटे पनि सिमेन्टमा निर्यात भने निरन्तर बढि रहेको हो । व्यापार घाटा निरन्तर चुलिदैं जाँदा छिमेकी राष्ट्र भारतमा सिमेन्ट निर्यातले भने राहत दिएको देखिन्छ ।

नेपालबाट निर्यात हुने बस्तुहरूमा सिमेन्टले ठुलो हिस्सा ओगटेको छ । नेपालबाट निर्यात हुने सिमेन्ट तथा क्लिङकर उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्ष २०८०।०८१ मा तीन अर्ब ८५ करोड २८ लाख २४ हजार रुपैयाँ बराबरको २८ लाख ३९ हजार टन सिमेन्ट तथा क्लिंकर (अर्धप्रशोधित सिमेन्ट) भारतीय बजारमा निर्यात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४.९४ गुणा अर्थात् तीन अर्ब रुपैयाँले धेरै हो । अघिल्लो आर्थिक वर्षमा ७७ करोड ९३ करोड २९ लाख रुपैयाँको १० लाख चार हजार टनमात्र सिमेन्ट र क्लिंकर निर्यात भएको थियो ।

सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने नीति ल्याएसँगै निर्यातको पहिलो सूचीमा पर्ने थालेको हो । हाल नेपालबाट घोराही, बालाजी, तानसेन, अर्घाखाँची सिमेन्ट, सिजी सिमेन्ट भारततर्फ निर्यात हुँदै आएका छन् । यी उद्योगहरूले हाल भारतीय बजारमा सिमेन्ट निर्यात गर्दै आएका छन् । मुलुकबाट हुने समग्र निर्यातमा सिमेन्ट र क्लिंकरको योगदान २.४६ प्रतिशत रहेको छ । सिमेन्टलाई चाहिने प्रमुख कच्चापदार्थ चुनढुङ्गा खानी नेपालमा प्रशस्त छन् । सोही कारण नेपालमा सिमेन्ट उद्योग फस्टाउन गएको अवस्था छ ।

नेपालमा विकास निर्माणका काम ठप्प भएकाले आन्तरिक खपत भने ओरालो लागि रहेको छ । निर्माण व्यवसायीले काम गरेको रकम नपाउने अवस्था र निजी क्षेत्रबाट नयाँ आयोजना आउने अवस्था नहुँदा आन्तरिक खपत घटेको छ । आन्तरिक बजारमा खपत घटेपछि व्यवसायी निर्यात तिर हाबी भएका हुन् । भारतीय बजारमा नेपाली सिमेन्टको माग बढाउन विज्ञापन समेत उद्योग व्यवसायीले गर्ने गरेका छन् । अहिले अर्घाखाँची, सर्वोत्तम र पाल्पा लगायतका सिमेन्टले भित्ते विज्ञापन गर्ने थालेका हुन् ।

कुन महिना कति निर्यात ?

चालु आवमा सबैभन्दा धेरै गत चैत महिनामा निर्यात भएको थियो । सो महिनामा कुल ५० करोड २८ लाख ६२ हजार बराबरको २ लाख १२ हजार ६०४ टन सिमेन्ट निर्यात भएको विभागले जनाएको छ ।

यस्तै, गत असोजमा पनि ४३ करोड ४५ लाख र फागुनमा ४१ करोड ८ लाख बराबरको सिमेन्ट तथा क्लिङकर निकासी भएको थियो । तर, जेठमा भने औसत भन्दा कम अर्थात् ३२ करोड १६ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको देखिन्छ भने गत बैशाखमा ३६ करोड ९ लाखको निकासी भएको थियो । यता असारमा १९ करोड ६५ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको छ ।

चालु आवको पहिलो महिना (साउन) मा २३ करोड ४९ लाख, भदौमा १८ करोड ३४ लाख, कात्तिकमा २७ करोड ७६ लाख, मंसिरमा ३६ करोड १५ लाख, पुसमा २७ करोड ९ लाख र माघमा २९ करोड ७५ लाख बराबरको सिमेन्ट निर्यात भएको थियो ।

निर्यातको आंकडामा ब्यवसायी छैन सन्तुष्ट

सिमेन्ट निर्यात बढेपनि अपेक्षा अनुसारको निर्यान नभएको सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले बताए । उनले भने, – ’पछिल्लो समय हाम्रो उद्योग खराब अवस्थामा रहेका छन् । व्यवसायीले बजार खोजी रहेको छ । तर, आवश्यक बजार भेट्न नै सकेको अवस्था छैन । खपत बढ्न सकेको छैन । उद्योग ३०/३५ प्रतिशतमा चलेको छ । हामीले ५ अर्बको अपेक्षा गरेका थियौ ।’

सरकारले दिएको अनुदान कुनै पनि उद्योगले नपाएको उनको गुनासो छ । ‘सरकारले गत वर्षदेखि सिमेन्ट निर्यात गर्नेलाई अनुदान दिने व्यवस्था गरे पाएनौ । सरकारले प्रोत्साहनका लागि कुनै कदम चालेको देखिएन ।’

आन्तरिक खपत र माग दुवै ओरालो लागि सिमेन्ट निर्यातका प्रमुख केन्द्र भारत भइरहेको थापाले बताए । ‘विकास निर्माणको काम हुन सकेको छैन । निर्माण व्यवसायीलाई पैसा समेत समयमा निकास हुन सकेको छैन । सोही कारण आन्तरिक माग वृद्धि हुन सकेका छैनौं’ थापाले भने ।

बिस्तारै भारतिय बजारमा नेपाली सिमेन्टप्रति आकर्षण बढी रहेको एक ब्यवसायीले बताए । नेपाली सिमेन्टको प्रचार प्रसार गर्ने सके सिमेन्टले भारतमा उत्कृष्ट बजार पाउने उनको तर्क छ । उनले भने, ‘नेपाली सिमेन्टको बजार भारतमा राम्रो बन्दै गएको अवस्था छ । सिमेन्ट भनेको ब्रान्डका आधारमा चल्ने हो, नेटवर्क र ब्रान्डिङ राम्रो नभई निर्यात बढ्दैन । अहिले हामी भारतमा हाम्रो ब्रान्डको प्रचार–प्रसार गराउने तथा नेटवर्क बनाउने काम गरिरहेका छौँ । अझै बढी प्रचार प्रसार गर्ने सके नेपालको बैदेशिक घाटा कम हुनुका साथै सिमेन्टले समेत बजार पाउछ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*