सूर्याेदय वोमी लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म ४०५ गुणा बढी आवेदन

८ श्रावण २०८१, मंगलवार ०७:५९

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज साउन ४ गतेदेखि बिक्री खुला गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) मा आवेदन दिने आज साउन ८ गते अन्तिम दिन रहेको छ । कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रकम बराबरको ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ शेयर निष्काशन गरेको हो ।

साविक सूर्याेदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्याेदय वोमी लघुवित्तको कुल चुक्ता पूँजी ९१ करोड सात लाख ८२ हजार ५०८ रुपैयाँ ५० पैसामा संस्थापक शेयरधनीको स्वामित्व ७० दशमलव ३६ प्रतिशत र सर्वसाधारणको स्वामित्व २९ दशमलव ६४ प्रतिशत रहेकोे छ । राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति दिंदा दिएको निर्देशन अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले कम्पनीले सर्वसाधारणतर्फको हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ जारी गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले एफपीओ निष्काशन गरेको हो । यसमा खरीदकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्ता शेयरको माग सहित आवेदन दिन पाउनेछन् । कम्पनीले छिटोमा साउन ८ गते र पूर्ण आवेदन नपरेमा १८ गते निष्काशन बन्द गर्ने निर्णय गरेको थियो । तर पहिलो दिनमै मागभन्दा बढी आवेदन परेपछि साउन ८ गतेनै निष्काशन बन्द गर्ने भएको हो । यसमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ ।

हालसम्म कम्पनीको एफपीओमा ४०५ गुणा भन्दा बढी माग भएको छ । सिडिएसका अनुसार साउन ७ गते साँझ ५ः७ बजेसम्ममा १२ लाख ८८ हजार ८१८ जनाले एक करोड ८९ लाख ३१ हजार ९०० कित्ता कित्ताका लागि आवेदन परेको हो । जस मार्फत १ अर्ब ८९ करोड रुपैयाँ संकलन भएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयका साथै मेरो शेयर अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् ।

कम्पनीले एफपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी (आईएस) डबल बी इस्योर रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*