ईभी गाडिका मालिकहरु मालामाल, एक वर्षमा झण्डै तीन गुणाले बढ्यो ब्यवसाय

निरन्तर खुम्चिदै इन्धन ब्यवसाय
दिपक विष्ट
७ श्रावण २०८१, सोमबार १७:३५

काठमाडौँ । एक वर्षको अवधिमा नेपाली अटो बजारमा साढे ११ हजार विद्युतीय सवारी (ईभी) भित्रिएका छन् । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको १२ महिनामा ११ हजार ६७३ वटा ईभी गाडि नेपाल आएका हुन् ।

नेपालमा आयात भएका ईभी गाडिको संख्या अघिल्लो आर्थिक वर्षको भन्दा २.८८ गुणा बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा नेपालमा ४ हजार ४६ वटा ईभी मात्र आयात भएका थिए । ईभीमय वातावरण बन्दै जाँदा आयातमा समेत निरन्तर वृद्धि भइरहेको छ । ईभीमा सार्वजनिक अथवा यात्रु बोक्ने ठुला विद्युतीय देखि स्कुटरका ब्रान्ड नेपाल भित्रिएका छन् ।

एक वर्षमा २९ अर्ब २७ करोड ४० लाख ५९ हजार रुपैयाँको ईभी गाडि आयात हुँदा राज्यले १२ अर्ब ९९ करोड ४ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन राजस्व अघिल्लो आर्थिक वर्षको तुलनामा ९ अर्ब ७१ करोड ९८ लाख ६४ हजार रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ईभी गाडि आयात गरी राज्यले ३ अर्ब २७ करोड ५ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

असारमा २३५ ईभी मात्र आयात

जेठ महिनामा ईभी आयात ह्वात्तै बढेपनि असारमा भने सुस्त देखिएको छ । जेठ १५ गते बजेट मार्फत ईभीमा लगाएको कर बढ्ने संकेतपछि जेठ महिनामा बजेट भोषणअघिनै ईभी आयात भएका थिए । भन्सार विभागका अनुसार जेठ महिनामा मात्र ७ अर्ब ८८ करोड ५ लाख ६१ हजार रुपैयाँ बराबरको २ हजार ९६५ वटा ईभी गाडि नेपाल आएका थिए ।

असार महिनामा भने ४८ करोड २३ लाख३६ हजार रुपैयाँको २३५ वटा ईभी गाडि आयात भएको हो । कर बढ्ने त्रासले ब्यवसायीहरुले जेठ महिनामा नै सयौ गाडि नेपाल ल्याइ सकेका छन् । जुन गाडि अहिल्य नै बिक्री भइसकेको छैन । करको मारबाट भाग्न ब्यवसायीहरुले जेठ महिनामा नै ईभी आयात गरेका हुन् ।

गत आर्थिक वर्षमा पुस महिनामा १ हजार ४२१ वटा, असोजमा १ हजार २३७ वटा, माघ महिनामा १ हजार ५२ वटा, मङ्सिरमा ८९९ वटा, कात्तिकमा ६५२ वटा, भदौमा ७८८ वटा र साउनमा ११० वटा र फागुन २७६ ईभी गाडी नेपाल आएका छन् । बैशाखमा भने महिनामा मात्र नेपालमा १ हजार ३५५ वटा ईभी गाडि भित्रिएका थिए ।

नेपाली अटो बजारमा ग्राहकहरुले ५० किलोवाटदेखि १०० किलोवाटका गाडि सबैभन्दा बढी रुचाईएको पाइएको छ । यसअवधिसम्ममा सो किलोवाटका ६ हजार ८८५ ईभी गाडि नेपाल आएका हुन् ।

नेपाली बजारमा चिनियाँ गाडिको दबदबाब भएको देखिन्छ । नेपाल आयात हुने ईभी गाडिमा चिनबाट करिब ७५ प्रतिशत रहेका छन् । नेपालमा विक्री हुने गाडी मध्ये, बीवाइडी, नेटा, एमजी, सेरेस, ओरा, चिनियाँ ब्रान्ड हुन् । त्यस्तै टाटा, हुन्डाइ, महिन्द्रा, कियालगायत भारतबाट आउने गरेका छन् । नेपालमा छिमेकी मुलुक चीन, भारत, कोरिया, जर्मन, अमेरिका र इन्डोनेसिया लगायतका मुलुकहरूबाट विद्युतीय गाडी आयात हुने गरेको छ । नेपालमा ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका ईभि आयात हुँदै आएका छन् ।

बन्द हुने अवस्थामा इन्धन गाडिको ब्यवसाय, मौद्रिक नीति कुर्दै ब्यवसायी

ईभीको ब्यवसायमा रफत्तार देखिएको भएपनि इन्धन गाडिको ब्यवसाय भने निरन्तर खुम्चिदै गएको छ । इन्धन गाडि ब्यवसायीहरु ब्यवसाय नै बन्द गरेर विदेशीने अवस्था सिर्जना भएको नाडाका अध्यक्ष करण चौधरीले बताए । उनले भने, ‘अटोमोबाइलको ब्यवसाय ईभी मात्रै होइन । ईभीको ब्यवसाय सन्तोषजनक भएपनि अन्य ब्यवसाय बन्द हुने अवस्था आइसकेको छ । कयौ ब्यवसायीहरु आफ्नो ब्यवसाय बन्द गरेर विदेशी समेत पलायन भइसकेका छन् ।’

मौद्रिक नीति मार्फत अटोमोबाइललाई कसेर राखेको नीतिलाई खुकुलो बनाउनु पर्ने चौधरीको माग रहेको छ । नयाँ सत्ता समीकरणपछि बनेको प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई नीतिगत सुधारको माग गर्दै अहिले नाडाको टिम सम्बन्धी ब्यक्तिहरुको दैलोमा पुग्ने गरेको छ ।

ब्यवसाय बन्द गरेर अटो ब्यवसायी विदेश पलायन भए

अध्यक्ष चौधरीले प्रधानमन्त्री तथा अर्थमन्त्रीसँगको भेटमा चालु पुजी कर्जा मार्ग दर्शन २०७९ लागु भएपछि लागु भएको मिति भन्दा अगाडी कर्जा लिएकाहरुलाई त्यो व्यवस्था लागु नहुने तर यो लागु भएको मिति पछी कर्जा लिएकाहरुलाई मात्रै चालुपुजी कर्जा मार्गदर्शन २०७९ लागु हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने बताका छन् । त्यसैगरी सो छलफलमा अध्यक्ष चौधरीले नेपालमा विद्युतिय सवारी साधनहरुको आयात बढदै गएको भएपनि सोही अनुरुप राजमार्ग तथा सहरहरुमा चार्जिङ्ग स्टेशनहरुको निर्माण हुन नसकेको भन्दै नेपालमा विद्युतिय सवारी साधनहरुका सम्बन्धमा सरकारले स्थायी प्रकृतीको नीति नियम ल्याउनु पर्ने जिकिर गरे । चौधरीले दुई पाँग्रे सवारी साधनहरुको सन्दर्भमा पनि पैठारीकर्ताले डिलरलाई विल गरेको दिनबाट सवारी कर लाग्दै आएकोमा डिलरले ग्राहकलाई विल गरेको दिनबाट मात्र कर लाग्ने व्यवस्थाका लागि आग्रह गर्दै आइरहेका छन् ।

इन्धन गाडिको ब्यवसाय भने बन्द हुने अवस्था सिर्जना भइसकेको नारायणी अटो बिजनेस प्रालिका प्रबन्ध निर्देशक तथा सीइओ अनुप कुमार बरालले बताए । उनले भने, ‘इन्धन गाडिको ब्यवसाय निरन्तर सुस्ताएको छ । एकदमै खराब अवस्था इन्धन गाडि ब्यवसायीहरुको रहेको छ । बजेट अघिजस्तो अवस्था थियो त्यो भन्दा अहिले झन खराब अवस्थामा ब्यवसाय रहेको छ । इन्धनको गाडिमा पनि दुई प्रतिशत कर बढेको छ । जसले ब्यवसाय माथि उठ्न सकेको छैन ।’

हाम्रो ब्यवसाय थप खराब बन्दै गएको छ

अब इन्धन ब्यवसायीहरु मौद्रिक नीतिको प्रतिक्षामा रहेको सीइओ बरालले बताए । ‘हाम्रो ब्यवसाय बन्द हुने अवस्थामा छ । अब हामीलाई राहत दिन सक्ने भनेको नै मौद्रिक नीति हो । त्यहिको प्रतिक्षामा बसेका छौं । मौद्रिक नीति मार्फत भ्यालु रेसियो बढायो भने इन्धन गाडि ब्यवसायीहरुको अवस्था पनि सुधार हुन्छ’ उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*