मर्जरपछि नेरुडे मिर्मिरे लघुवित्तमा लफडा, साविक मिर्मिरेका कर्मचारीको पद घटाइयो, के भन्छन् सीईओ ?

राजन कठायत
७ श्रावण २०८१, सोमबार १२:४१

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरू देशव्यापी रूपमा नै आन्दोलित बनेका छन् । मर्जर पश्चात संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले साविक मिर्मिरे लघुवित्तका कर्मचारीहरुको सहमति विपरीत कर्मचारीहरुको पद घटाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारीले कम्पनीको मधेशप्रदेश सहित सातै प्रदेशका अधिकांश शाखा कार्यालयमा अनिश्चितकालको लागि बन्द भन्दै विभिन्न लेखसहितका ब्यानेर टाँसेर ताल्चा लगाइदिएका छन् । नेपाल राष्ट्र बैंकले ल्याएको सहुलियत मर्जर नीतिको अधीनमा रही मर्ज गरिएका संस्थाहरुले बल र शक्तिको आडमा कमजोर संस्थाका कर्मचारीमाथी मनपरि पर्ने गर्ने गरेको घटनाहरू बाहिर आइरहेका छन् ।

फागुन ३० गतेदेखि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार गरेको चार महिना नबित्दै साविक मिर्मिरे लघुवित्तका कर्मचारीमाथी अन्याय गरेका छन् । दुबै कम्पनीको समान पहुँच हुनेगरी १ः१ शेयर स्वाप रेसियोमा मर्ज भएको थियो । तर, हालको व्यवस्थापकहरुले तत्कालीन समयमा भएका सहमतिलाई ठीक उल्टो तरीकाले लागु गरेका छन् ।

गत फागुन ३० गतेदेखि एकीकृत कारोबार शुभारम्भ

तत्कालीन मर्जर समितिले साविकको मिर्मिरे लघुवित्तमा रहेको कनिष्ठ सहायक (ख) पदमा कार्यरत कर्मचारीहरुलाई कनिष्ठ सहायकमा बढुवा गर्ने सहमति गरेको थियो । तर, मर्जरपश्चात एकीकृत कारोबार सञ्चालन गरेको ४ महिना नबित्दै सीईओ भोजराज बस्यालले नयाँ केन्द्र व्यवस्थापक पद सिर्जना गरी साविक मिर्मिरे लघुवित्तका कर्मचारीहरुलाई सो पदमा सम्मेलित गराइदिए पश्चात् उनीहरु आन्दोलनमा उत्रिएका हुन् । मर्जर पश्चात सिर्जना गरिएको केन्द्र व्यवस्थापक पदमा कार्यालय सहयोगी भन्दा पनि तल्लो दर्जाको क्षेत्राधिकार राखिएको भन्दै अहिले आन्दोलन गरेको कर्मचारीहरुले बताएका छन् ।

 

आन्दोलित कर्मचारीले शाखा कार्यालयमा ताला लगाएर पेन डाउन गर्दै

संस्थाका उच्च व्यवस्थापकहरुले मर्जरमा भएको सहमति विपरीत अनावश्यक रूपमा नयाँ पद सिर्जना गरी आफूमाथि अन्याय गरेको कर्मचारीहरुले गुनासो पोखेका छन् । ‘मर्जरपश्चात हामी साविक मिर्मिरे लघुवित्तका कर्मचारीहरुलाई कनिष्ठ सहायक (ख) बाट कनिष्ठ सहायकमा बढुवा गर्ने सहमति भएको थियो । तर, हामीमाथि जालसाजी तरीकाले सहमति विपरीत नयाँ पद सिर्जना गरेर चरणबद्ध तरीकाले अन्याय गरेको छ ।’ नाम नखुलाउने शर्तमा उनले भने, ‘हाम्रो माग समयमा पूरा नगरेको खण्डमा सीईओ भोजराज बस्यालसहितका नाममात्रका उच्च व्यवस्थापक विरुद्ध अझ सशक्त रूपले आन्दोलन गरेर अगाडी बढ्ने छौं।’

आन्दोलित कर्मचारीहरुले केन्द्र व्यवस्थापक पद खारेज गरी कनिष्ठ सहायकमा बढुवा गर्नुपर्ने मागसहित देशभरिका शाखामा तालाबन्दी गरेका छन् । हाल अधिकांश क्षेत्रका बचतकर्ताहरु मारमा परेका छन् ।

यस सन्दर्भमा नेरुडे मिर्मिरे लघुवित्तका कार्यकारी प्रमुख भोजराज बस्यालले कुनै पनि कर्मचारीमाथि अन्याय नभएको र नगरेको बताए । उनले बीमापोष्टसँग भने, ‘हामीले फागुन ३० गतेदेखि एकीकृत कारोबार सञ्चालन गरेका हौं । साविक मिर्मिरे लघुवित्तमा कनिष्ठ सहायक (ख) र कनिष्ठ सहायक पद रहेको थियो । सोही सन्दर्भमा एउटै संस्थामा दुई वटा यस्ता पद उचित नभएपछि नयाँ कार्यदल बनाएर हामीले उहाँहरु फिल्डमा रहने भएकाले केन्द्र व्यवस्थापक पद सिर्जना गरी उक्त पदमा सम्मिलित गरेका हौं।’

साथै, उनले भने, ‘सर्वप्रथम हामीले अनावश्यक रूपमा आन्दोलन गर्ने कर्मचारीहरुलाई सम्झाउछौं तर पनि मान्नुभएन भने आवश्यक कारबाही गर्छौ । उहाँहरुले भन्ने वित्तिक्कै एकदिनमै पद खारेज हुदैन्।’

2 thoughts on “मर्जरपछि नेरुडे मिर्मिरे लघुवित्तमा लफडा, साविक मिर्मिरेका कर्मचारीको पद घटाइयो, के भन्छन् सीईओ ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*