प्रतिकित्ता १०० रुपैयाँमा नेपाल लाइफ क्यापिटलको अवितरित हकप्रद लिलामीमा
काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले हकप्रद शेयर लिलामीमा राखेको छ । यस कम्पनीले अवितरित ४ लाख ३८९ कित्ता हकप्रद शेयर लिलामीमा राखेको हो ।
कम्पनीले गत असार २५ गतेसम्म चुक्ता पूँजी २९ करोड ९९ लाख तीन हजार ६०० रुपैयाँको १ः०.५ अनुपात अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद बिक्री खुला गरेकोमा जम्मा १० लाख ९९ हजार १२९ कित्ता शेयर मात्रै बिक्री भएको हो । यसरी कम्पनीले अवितरित ४ लाख ३८९ कित्ता हकप्रद हाल कायम संस्थापक शेयरधनीलाई लिलाम मार्फत बिक्री गर्न लागेको हो ।
उक्त शेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ । शेयर खरीदका लागि बोलकबोल गर्दा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ । इच्छुक शेयरधनीले यस कम्पनीको ग्लोबल आइएमई बैंकको कमलादी शाखामा रहेको बैंक खाता वा आइसिएफसि फाइनान्सको नक्साल शाखामा रकम बुझाई कम्पनीको कारोबार कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
बोलपत्र भोलि साउन ८ गते मंगलबार देखि साउन २२ गते मंगलबार कार्यालय समयभित्र पेश गरिसक्नु पर्नेछ ।