ट्रष्ट माइक्रो इन्स्योरेन्सद्वारा कार्यालय नै सञ्चालन नगरी काउन्टरबाट बीमा पोलिसी जारी, बीमितहरुले दावी गर्ने ठाउँ पाएनन्

६ श्रावण २०८१, आईतवार १५:३४

काठमाडौं । बीमा प्राधिकरणसँगको सेटिङमा लाइसेन्स पाएको ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले कार्यालय नै स्थापना नगरी, वेभसाइट र टेलिफोन समेत नराखी बीमा पोलिसी जारी गरिरहेको तथ्य फेला परेको छ । विभिन्न स्थानमा दुर्घटनामा परेका बीमितहरुले ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको वेभसाईट सञ्चालन नभएको, टेलिफोन नम्वर समेत सार्वजनिक नगरी बीमा पोलिसी जारी गरिरहेको फेला नपरेको भन्दै गुनासो गरेका छन् । बीमापोष्टले समेत खोजविनको क्रममा सम्पर्क कार्यालय सहजै फेला पार्न सकेन् । काठामडौंस्थित कमलपोखरीमा सम्पर्क कार्यालय रहेको पत्ता लाग्यो । तर, न उक्त कार्यालयको फोन नम्वर भेटियो न नक्सा नै ।

आइतबार अपरान्ह १४ः५० बजे बीमापोष्टमा जोरपाटीका प्रकाश श्रेष्ठ सहितका बीमितहरुले टेलिफोन गरी ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको कार्यालय खोज्दा नभेटिएको र मोटरसाइकल दुर्घटनामा हात चोट लागेर घाइते भएकोले उपचार खर्च पाउने उपायको खोजी गर्न सहयोग मागे । बिर्तामोडबाट बीमा गरेका उनले काठमाडौंको जोरपाटीमा बाइकबाट लडेर बीमा दावी गर्न नपाएको भन्दै टेलिफोन गरेका थिए । तत्कालै गुगलमा खोज्दा ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको वेभसाईट भेटिएन । बीमा प्राधिकरणको वेभसाइटमा पुगेर खोज्दा अन्य बीमा कम्पनीहरुको कार्यालय फोन नम्वर भएपनि ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको सूचिमा खाली राखिएको पाइयो । हाल औचापरिक रुपमा बीमा प्राधिकरणले नै ट्रष्ट माइक्रो इन्स्योरेन्ससँग संस्थागत सम्पर्क (व्यक्तिगत बाहेक) राख्न सक्ने अवस्था नरहेको स्पष्ट देखिन आएको छ ।

नागरिकलाई बीमा पोलिसी मात्रै बिक्री गरेर बीमा दावी भुक्तानी नदिने नियत राखेर कम्पनी सञ्चालनमा आएको होइन भन्ने प्रश्न चिन्ह उठेको छ । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी सञ्चालन आएको पाँच महिनासम्म पनि सार्वजनिक रुपमा कार्यालय सञ्चालन नगर्नु र त्यति हुँदा कुनै कारवाही नहुनुले बीमा प्राधिकरणको नियतमाथि समेत प्रश्न चिन्ह उठेको छ ।

बुटवलको रुपन्देहीमा केन्द्रीय कार्यालय हुनुपर्ने ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीलाई बीमा प्राधिकरणले तोकेको वेभसाईट, सूचना अधिकारी हुनुपर्ने, परिपालना अधिकृत हुनुपर्ने नियम समेत पालना भएको पाइएको छैन । जसका कारण बीमितहरुले बीमा दावी गर्ने ठाउँ भेट्टाएका छैनन् । सिईओ सधैं काठमाडौंमा अबैध र गोप्य कार्यालय सञ्चालन गरेर बसिरहेका छन् ।

लघुबीमा कम्पनी स्थापना गर्दा नै कम्पनीको कार्यालय, वेभसाईट, टेलिफोन जडान लगायतका इत्यादि कुरा अडिट गर्नुपर्ने व्यवस्था छ । तर, बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालसँगको सेटिङमा लाइसेन्स पाएका लघुबीमा कम्पनीहरुले केन्द्रीय कार्यालय, काठमाडौं सम्पर्क कार्यालय समेत स्थापना नगरी, सञ्चालनमा नल्याई गैर कानुनी रुपमा बीमा पोलिसी जारी गर्दा बीमितहरु अन्योलमा परेका छन् ।

सो सम्बन्धमा जिज्ञाशा राख्न ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीका सिईओ उज्वल ढुंगानाले जहाँ बीमा गरेको सोही ठाउँमा सम्पर्क गर्नुपर्ने बताए । उनले कार्यालयको वेभसाईट सञ्चालनमा रहेको बताए । साथै देशैभरिमा २६ वटा शाखा कार्यालयमा सम्पर्क गर्न सकिने बताए । ति शाखा कार्यालयहरु कहाँ कहाँ छन् भन्ने जनताले कसरी थाहा पाउने सो बारे केही बताएनन् ।

 

One thought on “ट्रष्ट माइक्रो इन्स्योरेन्सद्वारा कार्यालय नै सञ्चालन नगरी काउन्टरबाट बीमा पोलिसी जारी, बीमितहरुले दावी गर्ने ठाउँ पाएनन्

  1. अनावश्यक रुपमा पैसा र पहुचको भरमा दिईएको लासन्स को नतिजा।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*