कोरोना बीमा दावी भुक्तानीमा सकारात्मक अर्थमन्त्री पौडेल, साढे ९ अर्ब भुक्तानी कहिले होला ?

५ श्रावण २०८१, शनिबार ११:२२

काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले कोरोना बीमाको बाकी दावी भुक्तानीमा आफू सकारात्मक रहेको बताएका छन्।

पत्रकारसँगको भेटवार्ता कार्यक्रममा मन्त्री पौडेलले कोरोना बीमितले आफ्नो दावी वापतको रकमको बिषयमा आफू सकारात्मक रहेको बताएका हुन् ।
कोरोना बीमाका कारण आम सर्वसाधरणमा बीमाप्रतिको धारणा नै नकारात्मक हुनेगरी आलोचना भएको भन्दै उपयुक्त निष्कर्षमा पुग्ने मन्त्री पौडेलले बताएका हुन् ।

उनले कोरोना बीमाको बाकी दायित्व कस्ले कसरी ब्यहोर्ने भन्ने बारे नेपाल बीमा प्राधिकरणसंग घनिभुत छ्लफल भैरहेको जानकारी पनि दिए । “कोरोना बीमाको भुक्तानी कसरी गर्ने भन्नेबारे बीमा प्राधिकरणले विभिन्न विकल्प दिएको छ, हामी उपयुुक्त विकल्प के हुन सक्छ भनेर छलफल गरिरहेका छौँ ।”, मन्त्री पौडेलले भने ।

नेपाल बीमा प्राधिकरणका अनुसार कोरोना बीमातर्फ हालसम्म ६४ हजार ८६८ जना बीमितको ६ अर्ब १० करोड १५ लाख रुपैयाँ भुक्तानी भएको छ । बाँकि १ लाख १९१ जना बीमितहरु करिब ९ अर्ब ७२ करोड रुपैयाँ भुक्तानीको पर्खाइमा छन् ।

कोरोना बीमालेख अन्तर्गत १७ लाख ५८ हजार ३४३ जनाले बीमा गराएका थिए । १ लाख ६५ हजार ५९ जनाले बीमितले दावी भुक्तानीको माग गरेका थिए । उक्त भुक्तानी माग अनुसार नेपाल सरकार, नेपाल बीमा प्राधिकरण, नेपाल पुनर्बीमा कम्पनी र अन्य निर्जीवन कम्पनीहरुले जम्मा १५ अर्ब ८२ करोड २१ लाख रुपैयाँ दिनुपर्ने थियो ।

उक्त रकममध्ये ३ अर्ब ५० करोड रुपैयाँ प्राधिकरण, पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरुको दायित्वमा थियो । बाँकी १२ अर्ब ३२ करोड बराबर रकम नेपाल सरकार अर्थात् अर्थ मन्त्रालयले दिनुपर्ने रकम हो । तर सरकारले हालसम्ममा १ अर्ब रुपैयाँ मात्र भुक्तानी गरेको छ ।

अहिले कोरोना बीमा वापतको १० अर्ब भन्दा बढी रकम भुक्तानी गर्न बाकी छ । उता, महालेखा परिक्षकको प्रतिवेदनमा भने कोरोना बीमाको रकम सरकारले भुक्तानी दिन नमिल्ने भन्दै उल्लेख गरिएको छ ।महालेखाले यसअघि सरकारले दिएको डेढ अर्ब भुक्तानीलाई बेरुजु भनिसकेको छ । यस बिषयमा अर्थमन्त्री पौडेलको धारणा भने सकारात्मक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*