माइक्रोसफ्टको सर्भरमा समस्या-विश्वभरका कम्प्युटर, बैंक, बीमा,पुँजी बजार देखि मिडिया तथा एयरलाइन्सको सेवा अवरुद्ध

४ श्रावण २०८१, शुक्रबार १४:३४

काठमाडौं । क्राउडस्ट्राइक एन्टिमालवेयर सफ्टवेयरमा आएको अपडेटका कारण एक्कासी विश्वभरका थुप्रै कम्प्युटदेखि विभिन्न सर्भरहरुमा समस्या देखिन थालेको छ । नेपाली सहित विभिन्न देशहरुमा आएको क्राउडस्ट्राइक फाल्कन अपडेटका कारण यो समस्या देखिएको साइबर सुरक्षाविज्ञ मिलन नेपालीले बताएका छन् ।

उनले आज र भोलि ब्लु स्क्रिन अफ डेथ (बीएसओडी) मा समस्या आउन सक्ने बिषयमा सामाजिक संजालमा सचेत समेत गराएका थिए ।

यो समस्याका कारण नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको सेवा नै अवरुद्ध हुन पुगेको छ । क्राउडस्ट्राइक अपडेट इन्स्टल गर्दा प्रयोगकर्ताले ब्लु स्क्रिन अफ डेथ (बीएसओडी) एररको समस्या सामना गर्नु परेको छ ।

यो समस्या आउँदा कम्प्युटर अन गरिसकेपछि नीलो स्क्रिन मात्र देखिन्छ । खासगरी लाइसेन्स प्राप्त विन्डोज १० र ११ सिस्टममा सञ्चालित कम्प्युटरहरूमा यस खाले समस्या बढी आएको टाइम्स नाउले उल्लेख गरेको छ ।

क्राउडस्ट्राइक सेन्सर भर्सन प्रयोग गर्ने विश्वभरका सबैजसो कर्पोरेट तथा इन्टरप्राइज ग्राहकले यसखाले समस्या भोग्नु परेको हो । यस्तो सिस्टम नेपालमा नेपाल टेलिकम, एनसेल तथा प्रायः सबैजसो बैङ्कहरूमा प्रयोग हुँदै आएको छ ।
नेपालसँगै भारत, अस्ट्रेलिया, युरोप लगायतका एशिया, युरोपका देशहरूमा यस्तो समस्या बढी देखिएको साइबर सुरक्षाविज्ञ मिलन नेपालीले बताएका छन् । क्राउडस्ट्राइक कम्पनीका अनुसार अहिले यो समस्या समाधान गर्ने काम भइरहेको छ ।

आईटी प्रणाली बन्द भएकाले बर्लिन एयरपोर्टमा चेक-इनमा समस्या छ । आईटी समस्याहरू स्पेनका सबै एयरपोर्टहरूमा सुरू भएको रिपोर्ट गरिएको छ ।

स्काई न्यूज च्यानल बेलायतमा बन्द भएको छ । अष्ट्रेलियामा दूरसञ्चार समूह टेलस्ट्राको सेवा अवरूद्ध भएको छ ।

अस्ट्रेलियाको सिड्नीमा विमान उडान प्रभावित भएको छ । युनाइटेड एयरलाइन्सले आफ्नो हवाई सेवा बन्द गरेको छ । लन्डन स्टक एक्सचेन्जमा पनि प्राविधिक समस्या देखिएको छ ।

अमेरिकाको अलास्कामा पनि आपतकालीन फोन सेवा प्रभावित भएको छ । अलास्का प्रहरीले फेसबुकमा पोष्ट गरेको छ कि यस फोन सेवासँग सम्बन्धित कल सेन्टरहरू राज्यभरि व्यापार बन्द छन् ।

सूचना प्रविधि प्रणालीमा खराबीका कारण सिड्नी विमानस्थल र युनाइटेड एयरलाइन्सका जहाजको उडान अवरुद्ध भएको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*