रिलायन्स स्पिनिङको आइपीओबारे पाँच प्रश्नमा बोर्डको जवाफ, प्रतिशेयर आम्दानीको गिरावटमा तीन कारण उल्लेख

४ श्रावण २०८१, शुक्रबार ११:२८

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले रिलायन्स स्पिनिङ मिल्सलाई आइपीओ निष्काशन गर्न दिएको बिषयमा सार्वजनिक लेखा समितिले सोधेको प्रश्नको जवाफ पठाएको छ।मंहगो मूल्यमा आइपीओ निष्काशनको अनुमति दिएको विषयमा समितिले सोधेका विभिन्न पाँच प्रश्नको लिखित जवाफ दिने क्रममा सर्तसहित अनुमति दिएको र वित्तीय विवरण झुटो भएको र बोर्ड अनुसन्धानमा फितलो देखिएको पाइएको हो ।

लेखा समतिले असार २५ गते सेबोनसँग पाँच प्रश्नको जवाफ बोर्डले उत्तर सहित पठाएको हो । समितिले एक साताको समय दिएकामा सेबोनले मंगलबार जवाफसहितको पत्र बुझाएको हो ।

लेखा समितिले बोर्डलाई सोधेको पाँच प्रश्न

१. उक्त कम्पनीको आधारमूल्य के आधारमा तय गरिएको हो ? बुक बिल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो ?
२. रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङमा आइपीओ ल्याउँदा अर्थात् गत आर्थिक वर्षमा आफ्नो वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेको थियो तर, अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ०८ पैसामा सीमित भएको छ । अर्थात यसअघि वित्तीय विवरण तयार गर्दा म्यानुपुलेसन भएको अनुमान गर्न किन नसकिने ?

३. सर्वसाधारण र संस्थागत लगानीकर्तालाई कम्पनीका तर्फबाट जारी गरिएको आह्वान पत्रमा वित्तीय विवरणको प्रक्षेपण आर्थिक वर्ष २०७९।८० मा प्रतिसेयर आम्दानी ५४.३४ रुपैयाँ, आर्थिक वर्ष २०८०।८१ मा ३२.९० रुपैयाँ, २०८१।८२ मा ३२.८९ र २०८२।८३ मा ५३.९३ रुपैयाँ रहेकोमा कम्पनीबाट प्रकाशित आर्थिक वर्ष २०८०।८१ को चैतसम्मको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी रुपैयाँ २.०८ मात्र देखाएको हुँदा प्रक्षेपित विवरण र वास्तविकतामा सामन्जस्यता नदेखिएको हुँदा सो सम्बन्धमा के भएको हो, सोको स्पष्ट जानकारी उपलब्ध गराइदिनुहुन।

४. उक्त कम्पनीमा बुक बिल्डिङका लागि बिड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकहरुसँग स्वार्थ बाँझिएको छ कि छैन ? बुक बिल्डिङमा कुन संस्थागत लगानीकर्ताले कति मूल्यमा कति कित्ता शेयरका लागि आवेदन दिएका थिए, सोको समेत विस्तृत विवरण उपलब्ध गराइदिनुहुन।

५. कम्पनीले तीनवटा आर्थिक वर्षमा फरक–फरक प्रतिशेयर आम्दानी (हरेक आवमा घट्दै गएको) सार्वजनिक गरेको देखिएकोले सर्वसाधारण लगानीकर्ताको लगानी सुरक्षा सम्बन्धमा नेपाल धितोपत्र बोर्डको धारणा के हो ?

लेखा समितिको प्रश्नमा बोर्डको जवाफ
कम्पनीले यही असार २७ गतेबाट सर्वसाधारणलाई छुट्याइएको ११ लाख ५५ हजार ९६० कित्ता शेयरमध्येबाट १० प्रतिशतले हुन आउने विदेशमा रहेका श्रमिकलाई १ लाख १५ हजार ५९६ कित्ता शेयर जारी गर्दैछ। प्रतिकित्ता ८२०.८० रुपैयाँ तोकिएको लेखा समितिलाई पठाएको जवाफ पत्रमा उल्लेख गरिएको छ।

बुक बिल्डिङ विधिबाट जारी भएको आइपीओमा सर्वसाधारणले कम्तीमा ५० कित्ताका लागि खरिद आवेदन दिन पाउँछन्। यस हिसाबले यो कम्पनीको आइपीओ खरिद गर्न सर्वसाधारणले कम्तीमा ४१ हजार ४० रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ।

बोर्डले पछिल्लो समय उद्योग व्यवसायी र विद्युत् प्राधिकरणबीच भएको विवादमा डेडिकेटेड लाइनको बिजुलीबापत नेपाल विद्युत प्राधिकरणको बक्यौता रकमको दायित्वको हिसाब घटाएर मात्र नेटवर्थ गणना गर्ने सर्तमा स्वीकृति दिएको बोर्डले जनाएको छ। साथै पुनर्मूल्यांकन गर्दाको रकम घटाएर मात्र नेटवर्थ गणना गर्नुपर्ने सर्त र अघिल्ला तीन आर्थिक वर्षमा पुँजीकरण गरिएको ब्याज खर्च सम्बन्धी विवरण खुलाउनुपर्ने बिषयहरुको जवाफ समितिलाई पठाएको छ।

बोर्डले पत्रमा वित्तीय विवरण तयार गर्दा म्यानुपुलेसन गरेको प्रमाणित भए कारबाही हुने समेत खुलाएको सपष्ट पारेका छन् । ‘वित्तीय विवरण तयार गर्ने क्रममा कुनै म्यानुपुलेसन गरेको प्रमाणित भए प्रचलित नियम कानुनको अधिनमा रही आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने छ,’ सेबोनले भनेको छ।
गत माघमा संस्थागत लगानीकर्ताले अधिकतम् ९१२ रुपैयाँमा सेयर खरिद गरेकाले रिलायन्सले त्यसको १० प्रतिशत कम हुनेगरी प्रति कित्ता ८२०.८० रुपैयाँका दरले आइपीओ मूल्य तोकेको बिषय बोर्डले उल्लेख गरेको छ।

बोर्डका तत्कालीन कार्यबाहक अध्यक्ष नरेन्द्र कुमार रानाले असार १२ गते आइपीओ निष्कासनको स्वीकृति दिएका थिए। सेबोनबाट स्वीकृति पाएपछि रिलायन्सले असार २७ गते वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्ने तयारी थालेको थियो । तर लेखासमितिले यो बिषयमा प्रश्नको जवाफ एक साता दिन बोर्डलाई पठाएको पत्रको कारण कम्पनीले आइपीओ निष्काशनको प्रकृया स्थगित गरेको थियो ।

रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०७९/८० मा प्रति सेयर आम्दानी ५४.३४ रुपैयाँ, आर्थिक वर्ष २०८०/८१ मा ३२.९० रुपैयाँ, २०८१/८२ मा ३२.८९ र २०८२/८३ मा ५३.९३ रुपैयाँ हुने अनुमान गरेको थियो। तर, आर्थिक वर्ष २०८०÷८१ को चैत्रसम्मको वित्तीय विवरणमा प्रति सेयर आम्दानी रुपैयाँ २.०८ मात्र रहेको सार्वजनिक वित्तीय विवरणले देखाउने बिषय पनि बोर्डले समितिको प्रश्नमा जवाफ दिएको छ/

समितिले कम्पनीको प्रक्षेपित र वास्तविक विवरणबीच सामन्जस्यता नदेखिएकाले सेबोनसँग जवाफ मागेको थियो । सेबोनले प्रक्षेपित र वास्तविक वित्तीय विवरण सामन्जस्यता नदेखिनुका तीन मुख्य कारण उल्लेख गरेको छ।

बोर्डले ६ महिनासम्म निष्कासनबाट प्राप्त हुने पुँजीको उपयोग गर्न नपाएको र त्यसबाट आम्दानी नभएकाले प्रक्षेपण र वास्तविकतामा फरक परेको, मध्यपूर्व र युक्रेनमा द्वन्द्वका कारणले विश्वबजारमा निर्यात प्रभावित भएको, र ८÷१० घन्टासम्मको अघोषित लोडसेडिङका कारण उत्पादन क्षमता ६७ प्रतिशतमा सीमित भएकाले व्यवसायमा गिरावट आएको जनाएको छ ।
कम्पनीको खुद नाफा र प्रति सेयर नेटवर्थमा पनि वास्तविकता र प्रक्षेपणबीच ठूलो फरक छ।

२०८०÷८१ मा प्रति सेयर नेटवर्थ २१२.११ रुपैयाँ र खुद नाफा ६ अर्ब ८० करोड हुने प्रक्षेपण गरेको कम्पनीको गत वर्ष ९ महिनाको नाफा २ करोड ६३ लाख र प्रति सेयर नेटवर्थ १७९.४५ रुपैयाँमा सीमित भएको देखिन्छ ।

 

 

One thought on “रिलायन्स स्पिनिङको आइपीओबारे पाँच प्रश्नमा बोर्डको जवाफ, प्रतिशेयर आम्दानीको गिरावटमा तीन कारण उल्लेख

  1. Dp says:

    कम्पनीले नाफा कमाएर सर्वसाधारणलाई भ्रम छर्ने र पैसा जम्मा गर्ने कम्पनीको खेल हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*