टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्ध चौथो मुद्दा दायर
काठमाडौँ । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध अर्को मुद्दा दायर भएको छ । पौडेलविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोलेको अभियोगमा विभागले पौडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १६ मा नेपालमा बसोवास गर्ने कुनै पनि नेपाली नागरिक वा नेपालमा दर्ता भएको कुनै कम्पनी, संगठित संस्था वा फर्मले विदेशस्थित बैंकमा खाता खोल्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
जिल्ला तनहुँ, शुक्लागण्डकी नगरपालिका वडा नं। ३ स्थायी ठेगाना भई हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं। ३१ शान्तिनगर बस्ने ४४ वर्षीय पौडेलको सिंगापुरको बैंक खातामा ५८ हजार अमेरिकी डलर भेटिएको थियो ।
विभागले ५८ हजार अमेरिकी डलरको हिसाबले हुन आउने ७७ लाख ४५ हजार ९ सय रूपैयाँ बिगो कायम गरी त्यसको तेब्बर रकम जरिवाना गर्नुपर्ने मागदाबी अदालतमा गरेको छ । पौडेल दोषी ठहर भएमा उनीबाट दुई करोड ३२ लाख ३७ हजार रूपैयाँ जरिवाना असुल गर्नुपर्नेछ ।
अख्तियारले उनका विरूद्ध विशेष अदालतमा तीन वटा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।