८५ प्रतिशतले बढ्यो पुँजीगत लाभकर, एक वर्षमा राज्यले प्राप्त गर्यो ५ अर्ब ५० करोड रुपैयाँ
काठमाडौँ । एक वर्षमा शेयर बजारबाट राज्यले साढे ५ अर्ब रुपैयाँ पुँजीगत लाभकर उठाएको छ । सिडिएसका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा शेयर बजारबाट सरकारले ५ अर्ब ५० करोड ७७ लाख २६१ रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८५.४० प्रतिशतले बढी होे । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा शेयर बजारबाट राज्यले २ अर्ब ९७ करोड ५ लाख ८९ हजार ३७ रुपैयाँ प्राप्त गरेको थियो ।
शेयर बजारबाट राज्यले पाउने पुँजीगत लाभकरमा उल्लेख्ख रुपमा वृद्धि भएको छ । शेयर बजारमा निरन्तर आइरहेको उतार चढाबबीच राज्यलाई प्राप्त राजस्वमा भने सुधार देखिएको हो ।शेयर बजारमा कारोबार रकम बढ्दा राज्यले बढी पुँजीगत लाभकर पाउने गर्छ । एक वर्षको अवधिमा सेयर बजार परिसूचक ९६ अंकले बढेको छ । जसले गर्दा सरकारलाई प्राप्त आम्दानी समेत बढेको छ ।
नेपालमा धितोपत्रको कारोबारबाट प्राप्त हुने पुँजीगत लाभमा कर लाग्ने प्रचलन २०५८ साल साउन १ गतेदेखि सुरु भएको हो । आयकर ऐन २०५८ को दफा ८९ (क) अनुसार सूचीकृत कम्पनीहरूको धितोपत्र कारोबारमा सरकारले २०५८ साउन १ गतेअघि खरिद गर्ने खरिदकर्ताले उक्त मितिको अन्तिम मूल्यलाई खरिद मूल्य मानेर आफ्नो लगानी विक्रीबाट प्राप्त लाभमा अग्रिम पुँजीगत लाभकर कट्टा गर्ने व्यवस्था गरेको थियो ।
कुन महिनामा कति ?
गत आर्थिक वर्षमा सरकारले सबैभन्दा बढी पुँजीगत लाभकर माघ महिनामा संकनल गरेको छ । माघ महिनामा शेयर बजार उच्च अकंले बढ्दा कारोबार रकम समेत वृद्धि भएको थियो । जसले गर्दा राज्यलाई प्राप्त हुने आम्दानीमा समेत सुधार देखिएको देखिन्छ ।
माघमा शेयर बजारबाट ९७ करोड २० लाख ३ हजार रुपैयाँ पुँजीगत लाभकर सरकारले उठाएको छ । राज्यलाई माघमा दीर्घकालीन लगानीकर्ताले १६ करोड ३१ लाख ५७ हजार ७०८ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ७४ करोड १३ लाख ८७ हजार ५२९ रुपैयाँ, संस्थागत लगानीकर्ताले ६ करोड ७४ लाख ५८ हजार ५३५ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।
यस्तै पुस महिनामा ७४ करोड ३९ लाख १३ हजार, जेठ महिनामा ७० करोड ४२ लाख ५२ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । यता, फागुनमा ४४ करोड ९ लाख २२ हजार, साउनका ४० करोड ८ लाख ९१ हजार, वैशाखमा ३६ करोड २७ लाख ४२ हजार, मङ्सिर महिनामा ३० करोड ५३ लाख २४ हजार, असोजमा २१ करोड ९५ लाख ७९ हजार, भदौमा १४ करोड ६९ हजार र कात्तिक महिनामा ८ करोड ४१ लाख ५४ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको छ ।
पछिल्लो एक महिना अर्थात असार महिनामा मात्र शेयर बजारबाट राज्यले ६५ करोड रुपैयाँ आम्दानी गरेको छ । सिडिएसका अनुसार शेयर बजारबाट राज्यले असार महिनामा ६५ करोड ४ लाख ६ हजार ८१९ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । असारमा मात्र दीर्घकालीन लगानीकर्ताले १७ करोड ९ लाख ४४ हजार ९२८ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ३३ करोड १३ लाख २५ हजार ९६७ रुपैयाँ, संस्थागत लगानीकर्ताले १४ करोड ८१ लाख ३५ हजार ८६९ रुपैयाँ पुँजीगत लाभकर तिरेका सिडिएसको तथ्याङमा भनेको छ ।
शेयर बजारबाट एक वर्ष वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले राज्यलाई ७.५ प्रतिशत र एक वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको शेयरमा आएको नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।
लगानीकर्ता भने सरकारका नीति बाधक नभएको भए पुँजीगत लाभकर निकै ठुलो परिणम प्राप्त हुने बताउँछन् । मौद्रिक नीतिको कसिलो नीति, राजनीतिक अस्थिरता र धितोपत्र बोर्डले लगानीमैत्री नीति ल्याउन नसक्दा बजारले अपेक्षा अनुसार गति लिन नसकेको हुँदा पुँजीगत लाभकर पनि सोच अनुसार उठन नसकेको लगानीकर्ता सुबास श्रेष्ठले बताए । ‘अघिल्लो वर्षको भन्दा त सुधार हुनु स्वाभाविक नै हो किन भने शेयर बजारप्रति आम लगानीकर्ताको चासो बढेको छ । शेयर बजारको ज्ञान सबै तिर पुगेको छ । सोहि कारण पनि पुँजीगत लाभकर बढेको हो’ श्रेष्ठले भने, ‘तर सरकारका केहि नीति र राजनीति अस्थिरता नहुने हो भने राज्यले प्राप्त गर्ने पुँजीगत लाभकर यो भन्दा दोब्बर बढी हुने थियो ।’
विस्तारै राष्ट्र बैंकले समिक्षा मार्फत मौद्रिक नीति खुकुलो बनाउँदै लगेको हुँदा शेयर बजार वृद्धि भइ राज्यलाई प्राप्त हुने राजस्व समेत वृद्धि भएको अर्का लगानीकर्ता शिशिर खनालले बताए । उनले भने, ‘गत वर्ष राष्ट्र बैंकले समीक्षा मार्फत मौद्रिक नीति खुकुलो बनाउँदै लगेको थियो । जसले गर्दा शेयर बजार विस्तारै लयमा आइरहेको थियो । नियामकको समेत सकारात्मक आश्वासनले शेयर बजार बढ्दा पुँजीगत लाभकर समेत बढेको हो ।’
अर्थतन्त्र सुधार तिर फर्किनु र बैंकको ब्याज निरन्तर ओरालो लाग्दा समेत शेयर बजार लयमा आइरहदा पुँजीगत लाभकरमा सुधार आएको खनालको भनाइ रहेको छ । ‘अघिल्लो आर्थिक वर्षमा अर्थतन्त्र नाजुक अवस्थामा रहेको थियो । देश श्रीलकां बन्न लागि सक्यो भन्ने हल्ला समेत उत्तिकै आइरहेको थियो । ब्याजदर समेत बढी रहेको थियो । देशनै मन्दिको अवस्थामा थियो’ खनालले भने, ‘गत आर्थिक वर्ष हेर्दा ब्याजदर निरन्तर घट्दो थियो । अर्थतन्त्रले समेत लय समालि रहेको थियो । जसले गर्दा लगानीकर्ता मनोबल समेत उच्च बनाउँदै लगि रहेको थियो । शेयर बजार समेत बढ्यो । बजार बढेपछि पुँजीगत लाभकरमा समेत सुधार देखियो ।’